८ वैशाख २०८१ शनिबार
समाज

बालिकामाथि यौन दुर्व्यवहार गरी भाग्दा युवकको मृत्यु

मकवानपुर– बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले लखेट्दा एक युवकले ज्यान गुमाएका छन्।

बालिकामाथि दुर्व्यबहार गरेको थाहा पाएर गाउँलेले हल्ला गरेपछि भाग्दा भिरबाट खोलाकिनारमा खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

पश्चिम मकवानपुरको राक्सीङ्ग गाउँपालिका ५ घर भई मनहरी गाउँपालिका ७ बस्ने २२ बर्षीय सविन प्रजाको मृत्यु भएको हो। माघ ८ गते घाइते भएका प्रजाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए।

उनका अनुसार मदिराको नसाको सुरमा प्रजाले घरमा अभिभावक नभएको मौका छोपी ११ बर्षिया बालिकामाथि दुर्व्यबहार गरिरहेको आरोप गाउँलेले लगाएका छन्। मृतक प्रजाका आफन्तले गाउँलेले लखेटेर भिरबाट लडाएको भनेर उजुरी प्रहरीमा दिएका छन् भने गाउँलेले चाहीँ दुर्व्यबहार गरेर भाग्दै गर्दा आफै लडेको उजुरी दिएका छन्।

यसैबिच, तीन नम्बर प्रदेशको राजधानी हेटौंडा नजिकैबाट प्रहरीले हतियारसहित एक बृद्धलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले बिशेष सुचनाको आधारमा मकवानपुरगढी गाउँपालिका २ का ६७ बर्षिय हस्तबहादुर स्याङ्तानलाई भरुवा बन्दुकसहित शनिबार साँझ नियन्त्रणमा लिएको हो।

उनको घर खानतलासी गर्दा भुई तलाको दलिनमा लुकाई राखेको एक नाले भरुवा बन्दुक, पछाडी भिर्ने कपडाको झोलामा १० ग्राम बारुद बरामद गरेको मकवानपुर प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक भट्टराईले बताए। उनका अनुसार स्याङ्तानको घरबाट १ इन्च लम्बाई गोलो आकार भएको फलामको टुक्रा ४ थान, फलामको स–सानो गोलो बल ७५ थान, सेतो ढुङ्गाको टुक्राहरु ६ थान, फलामको स–सानो टुक्रा ६ थान, कपडाको टुक्राहरु ३ थान र सलाई १ थान पनि बरामद गरेको छ।

बाँदर लखेट्न बन्दुक र अन्य सामग्री राखेको बताएका स्याङ्तानलाई प्रहरी हिरासतमा राखी आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ। मकवानपुरगढी गाउँपालिका प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकासँगै जोडिएको क्षेत्र हो।

प्रकाशित: १३ माघ २०७५ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App