२६ असार २०७७ शुक्रबार
समाज

सहज र भरपर्दो उपचारबाट टाढा पूर्वी पहाड

पाँचथर- चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाममा उपचार सम्भव नभएपछि काठमाडौँ लगियो। आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएपछि उनलाई काठमाडौं लगिएको थियो।

इलाममा आईसीयू कक्षसहितका एउटा पनि सुविधा सम्पन्न अस्पताल छैन। सामान्यबाहेक उपचार नहुने यस भेगका सर्वसाधारण वर्षौंदेखि भरपर्दो र सुविधा सम्पन्न अस्पतालको उपचार नपाउँदा उनीहरू हैरान छन्। अकस्मात् र भरपर्दो उपचार जिल्लामा नहुँदा जिल्लाबासी वर्षौंदेखि उपचारविहीन भएका छन्। इलाम मात्र नभई नेपालको पूर्वी पहाडकै अवस्था यस्तै छ। भरपर्दो उपचारका लागि उनीहरूलाई तराई नै झर्नुपर्ने बाध्यता छ। पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका बासिन्दाले सेवा लिने इलाममा ५० शैयाको अस्पताल भए पनि पर्याप्त सुविधा छैन। इलामबाट प्रधानमन्त्री, मन्त्री, संविधानसभाका सभामुखसमेत भए। तर, इलाममा एउटा सुविधासम्पन्न अस्पताल बनाउनतिर कसैको ध्यान गएन। जसले गर्दा यस भेगका बासिन्दा तराईका निजी अस्पतालमा निर्भर छन्। महँगो स्वास्थ्योपचारका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। घरजग्गा नै बेचेर उपचार गराउनुपर्ने बाध्यता उनीहरुमा छ। विर्तामोड, विराटनगर, धरानसम्म उपचारका लागि पुग्नुपर्ने हुन्छ। कतिपय त भारतको सिलगुडीसम्म पुग्छन्। आर्थिक अवस्था कमजोर हुनेलाई उपचार गराउनै कठिन हुने अवस्था छ। घण्टौं समय लगाएर मात्र सुविधासम्पन्न अस्पतालमा पुर्‍याउनु पर्छ। त्यसमाथि अस्पतालबाट ठगिएका कैयौं घटना पनि छन्।

त्यसमाथि ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच एकदमै कम छ। जिल्ला अस्पतालहरु रेफर गर्नेमात्र ठाँउ बनेका छन्। स्रोत साधन, विशेषज्ञ डाक्टरको अभावमा तराईका निजी अस्पतमा महँगो खर्च गरेर उपचार गराउनु पर्ने बाध्यता छ। ‘तराईका निजी अस्पताले ढाडै सेक्ने गरी पैसा असुल्छन्। कतिले त उपचारका लागि घर जग्गा नै बेचिसके,’ नागरिक अगुवा प्रेम ओझा  भन्छन्, ‘बिरामीको उपचार गराउँदा रोई कराई गर्नुपर्ने बाध्यता छ। निजी अस्पतालले लुट्नसम्म लुट्छन्।’ धरानको बीपी मेमोरियलमा आफ्ना मान्छे भएन भने उपचार हुनै सक्दैन।’ जनरल बाहेक उपचार पहाडका जिल्लामा हुँदैन। सुविधासम्पन्न भनिएका तराईका अस्पताल महँगा भएकाले समान्य मानिसको उपचार सम्भव हुन सक्दैन। पाँचथरमा  दुई र ताप्लेजुङमा एक निजी अस्पताल छन्। ती पनि अत्यन्तै महँगा मानिन्छन्।

जिल्लामा भएका सरकारी अस्पतालमा विशेषज्ञ, स्रोत, साधन अभाव छ। ‘आठ जना विशेषज्ञ हुनुपर्नेमा म मात्र छु। जनरल र प्रसूतिबाहेक अप्रेसन हुँदैन’, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन पनव राजयमाझीले भने, ‘५० शैया भए पनि विशेषज्ञ र प्रविधि अभाव छ।’

पहाडमा उपचारका लागि ढिला गरी स्वास्थ्य संस्था लैजाने चलन नै बनेको छ। जसको मुख्य कारण सुविधासम्पन्न अस्पताल नहुनु पनि हो। ग्रामीण क्षेत्रका कतिपय बिरामी सुविधासम्पन्न अस्पताल नपुगी ज्यान गुमाउँछन्। भदौमा पाँचथरको याङवरक–३ की गीता लिम्बूको ज्यान गयो। सुत्केरी गराउन स्थानीय स्वास्थ्य चौकीमा ल्याइएको तीन दिनपछि उनको मृत्यु भएको थियो।  कतिपय महिला त अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै सुत्केरी हुने गरेका छन्।

१५ शैयाको पाँचथर जिल्ला अस्पतालमा ३० शैया सञ्चालनमा छ। समान्ये बाहेक उपचार गर्न नसकिने अवस्था रहेको मेडिकल सुपरिटेन्डेन बुद्धिबहादुर थापा बताउँछन्। थापा जिल्लाबाहिर भएका बेला अपरेसनबाट सुत्केरी गराउने काम हुन सक्दैन। प्रविधि तथा विशेषज्ञ अभाव रहेको थापा बताउँछन्। थापा भन्छन्, ‘पाँचथरबाहेक तेह्रथुमको आठराई, ताप्लेजुङका बिरामी पनि आउँछन्। जेनरलबाहेक उपचार गर्न सक्ने अवस्था छैन।’

ताप्लेजुङ र तेह्थुममा मेडिकल अफिसरको भरमा छ। दुवै ठाँउ १५ शैयाका अस्पताल भए पनि                 बिरामीको चापलाई ध्यानमा राखी ३० शैयासम्म सञ्चालनमा ल्याइएको छ। डिजिटल एक्सरेलगायत अभाव छ।

अस्पताल मात्र नभई पूर्वी पहाडी जिल्लामा दर्ता नगरिकनै सञ्चालनमा ल्याइएका औषधि पसल पनि छ्याप्पछ्याप्ती खुलेका छन्। जसले बिरामीको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको छ। साथै कतिपय वार्डमा स्वास्थ्य केन्द्रसमेत छैनन्। इलाममा एक अस्पताल, ४ प्राथमिक स्वास्थ्य केन्द्र, ४४ स्वास्थ्य चौकीण् छन्। यस्तै पाँचथरमा एक अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र र ४० स्वास्थ्य चौकी छन्। यस्तै ताप्लेजुङमा १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी छन्। तेह्रथुममा १ अस्पताल, २ प्रथामिक स्वास्थ्य केन्द्र र २९ स्वास्थ्य चौकी छन्। तर, स्रोत साधन अभावमा ती स्वास्थ्य संस्थाले सहजै सेवा दिन सकेका छैनन्।

 

प्रकाशित: १३ माघ २०७५ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App