७ वैशाख २०८१ शुक्रबार
समाज

शौचालयमा औषधि भण्डारण

औषधि स्टोर गरिएको शौचालय । तस्बिर : दिनेश/नागरिक

रोल्पा – प्रयाप्त जनशक्ति र भौतिक संरचना गतिलो नहुँदा रोल्पाका अधिकांश स्वास्थ्य संस्था आउने बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बिभिन्न समस्या झेल्ने गरेका छन्। कतै स्वास्थ्यकर्मीको अभाव छ भने कतै कतै सामान्य रुपमा चाहिने पुर्वाधार समेत छैन्।

उपराष्ट्रपति नन्दबहादुर पुनको गाउँ समेत रहेको उत्तरी रोल्पाको परिवर्तन गाउँपालिका राङसी स्वास्थ्य चौकी यतिबेला सकसमा छ। स्वास्थ्य चौकी साघुरो भएपछि औषधि भण्डारणका लागि कर्मचारीले शौचालयलाई समेत प्रयोगमा ल्याएका छन्। ‘भित्रको शौचालयमा औषधि राखेका छौ। दिशा पिसाबका लागि बाहिरको ट्वाइलेट प्रयोगमा छ। भित्रको बाथरुमलाई समेत औजार निर्मलीकरण रुमका रुपमा प्रयोग गरिरहेका छौ।’ एक स्वास्थ्यकर्मीले बताए।

वर्षौ पहिले तत्कालिन जिल्ला विकास समितिले बर्थिङ सेन्टरका लागि बनाई दिएको ५ कोठे यो भवनमा अहिले ७ जना कर्मचारी कार्यरत छन्। हेल्थ असिस्टेन्ट काजमा गएको भएपनि २ जना अहेब, ३ जना अनमी, १ जना ल्याब असिस्टेन्ट र १ जना कार्यालय सहयोगी छन्। ‘स्टाफ त छाैं तर कोठाको अभाव छ। ल्याब र ड्रेसीङ एउटा कोठामा गर्छौ। गर्भजाच, सुत्केरी, परिवारनियोजन सेवा र सुत्केरीपछिको जाँच एउटा कोठामा हुन्छ। नाम दर्ता र औषधि वितरण एउटा कोठामा छ भने ओपिडि अर्कोमा छ।’

राङसी स्वास्थ्य चौकीका हेल्थ अहेब नरबहादुर डाँगीले भने। हिजो आज हेल्थ पोष्टको शौचालय, झ्याल र भुइभरी औषधि मिलाएर राखिएको छ। स्वास्थ्य चौकीले चौबिसै घण्टा आकस्मिक सेवा समेत सुचारु गर्न चाहेको तर कर्मचारीका लागि आवास नभएपछि १० देखि ५ बजेसम्म मात्र संचालनमा छ। उता कार्यालय समय भन्दा अन्य समयमा सुत्केरी हुन कोही आयो भने उसले स्वास्थ्यकर्मी खोज्नुपर्छ।

‘दश–पाँचसम्म त हेपो मै हुन्छौ तर अघिपछि सुत्केरी आए भने फोन गरेर बोलाउनु पर्छ। यहाँ बस्ने ठाउँ छैन्। नर्सिङ स्टाफ आफ्नो आफ्नो घर बस्छौ।’ अनमी डम्बर कुमारी श्रेष्ठले भनिन्, ‘एकै पटक दुई जना सुत्केरी आए भने त आपत नै पर्छ। कोठा छैन। भए त अर्को बेड राख्न हुन्थो।’ बाथरुममा औजार निर्मलीकरण गर्दै गरेकी अनमी सम्फी घर्तीले स्वास्थ्य संस्थाको अवस्थाले आफूहरूलाई सेवा दिन गाह्रो भए जस्तै सेवाग्राहीलाई पनि सेवा लिन कठिन भएको बताइन। ‘पुग्ने कोठा नै छैन। बाहिरको ट्र्वालेटमा दिशा पिसाब गर्न प्रयोगमा ल्याएका छौ। भित्र त यस्तै औषधि राखेका छौ। स्टरलाइजेसन पनि बाथरुममा गर्छौ।’

उनका अनुसार सबैभन्दा समस्या गर्भवती जाँच र सुत्केरीका लागि हुने गरेको छ। त्यसो त अन्य बिरामीका लागि पनि यो स्वास्थ्य संस्था सहज छैन र स्वास्थ्य क्षेत्रका सबै समस्या देखेको स्थानीय तहले पनि तत्काल समस्या सम्बोधन गर्न सक्ने अवस्था आफुसँग नरहेको बताउँछ। ‘हामीसँग प्रयाप्त गुनासो आइरहेको छ। हाम्रो गाउँपालिकाको एउटा वडा बाहेक सबैमा समस्या छ। भौतिक रुपले सबै स्वास्थ्य संस्थामा अभाव छ।’

परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले भने, ‘स्वास्थ्यको संरचना बनाउँन करोडौं लागत लाग्छ। त्यो हाम्रो क्षमता भन्दा बाहिरको कुरा हो। कतै भवन अभाव छ, कतै कोठाको समस्या छ भने कतै स्वास्थ्यकर्मी पनि प्रयाप्त छैनन्।’ उपराष्ट्रपति नन्दबहादुर पुनको घरमाथि रहेको स्वास्थ्य संस्था आफैंमा बिरामी परेर थलिए जस्तै भएको छ। देशकै सर्वोच्च निकायमा रहेका नेतृत्वले आफ्नो गाउँलाई ध्यान नदिएको स्थानीयहरू गुनासो गर्छन। ‘उहाँ उपराष्ट्रपति भएपछि एक पटक गाउँ आउनु भएको छ। हामी त पहिला दङ्ग थियौ। अब गाउँले अनुहार फेर्ला भनेको त उस्तै पो भयो।’

स्थानीय एक शिक्षकले भने, ‘आफु जन्मे हुर्केको गाउँको समस्या नहेर्नेले देशको नै मुहार फेर्ने सपना बोक्छन। कोही कसैले शिक्षा, स्वास्थ्य जस्ता विषयमा ध्यान नदिने भए। रोल्पामा त झन बाटो खन्न पाए विकास यहि हो भन्ने भ्रम परेको छ।’ रोल्पाको राङसी स्वास्थ्य चौकी एउटा प्रतिनिधि पात्र मात्र हो। यहाँका धेरै स्वास्थ्य संस्थाहरू आज पनि अभावका बीचमा रहेका छन्। जिल्ला रहेका केही स्वास्थ्य संस्था बाहेक अन्य दर्जनौ स्वास्थ्य चौकीमा या भवन छैन या त प्रयाप्त जनशक्ति छैनन्।

प्रकाशित: ५ माघ २०७५ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App