२१ श्रावण २०७७ बुधबार
समाज

१७ वर्ष नपुग्दै दुई सन्तान

१७ वर्षको उमेरमा दुई सन्तानकी आमा बनेकी सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँकी मनमती सार्की। तस्बिर : जनक/नागरिक

हुम्ला - जिल्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानीकी मनमती सार्की भर्खर १७ वर्षमा लागिन्। उनी दुई सन्तानकी आमा हुन्। पहिलो सन्तान जन्माउँदा उनी १४ वर्षकी मात्र थिइन्। उनका तीन वर्षका छोरा र ६ महिनाकी छोरी छन्। पुसको पहिलो साता दुई सन्तान जन्माएकी दूधकली सार्की अहिले १५ वर्षकी भइन्। सुत्केरी भएपछि १५ दिन गोठमा बस्नुपर्दा उनलाई निकै कष्ट भयो। जाडोका बेला प्रशस्त ओढ्ने–ओछ्याउने नहुँदा र सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउँदा जन्मेको १३ दिनमै उनको एउटा बच्चाको ज्यान गएको हो। विवाह हुँदा उनी १३ वर्षकी थिइन्।

मनमती र दूधमती मात्र होइनन्, हुम्लामा उनीजस्ता धेरै किशोरीको बालविवाह हुने गर्दछ। त्यसकारण पनि उनीहरू कम उमेरमै आमा बन्न बाध्य छन्। २० वर्ष नपुगी विवाह गर्नु कानुनविपरीत भए पनि हुम्लाका किशोरीहरूलाई त्यसबारे कुनै जानकारी छैन। तिनका अभिभावकसमेत त्यसबारे अनभिज्ञ छन्। कम उमेरमै आमा बन्ने भएकाले प्रजनन स्वास्थ्यसम्बन्धी अनेक समस्या देखापर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। यहाँका विवाहित किशारीहरूलाई गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा गई चेकजाँच गराउनुपर्छ भन्नेसमेत जानकारी छैन। स्वास्थ्य संस्थामा गएर जाँच गराउनुपर्छ भन्ने केही जानकारी नै नभएको बताउँछिन्, गर्भवती रहेकी १६ वर्षकी सुपुरी कामी। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा भत्ता पाइन्छ भन्दा उनले अचम्म मानिन्। ‘स्वास्थ्य संस्था गई सुत्केरी गराउँदा भत्ता पनि पाइन्छ भन्ने थाहै छैन,’ उनले भनिन्। सानैमा विवाह गरेका किशोरीहरू आफ्नो उमेर भन्न पनि हिच्किचाउँछन्।

उनापानी गाउँमा जन्मनुअघि र जन्मेलगत्तै ‘हात माग्ने’ अनौठो संस्कार छ। हुम्लामा कुनै महिला गर्भवती भएको चाल पाए ‘तपाईंकी छोरी भए मेरा छोरालाई दिनुपर्छ’ वा ‘छोरा भए म छोरी दिन्छु’ भन्दै बुहारी र ज्वाइँ टुंगो लगाउने चलन अझै छ। गर्भवती अवस्थामा कुनै टुंगो नलागेको भए जन्मेको एक–दुई वर्षमा अर्काकी छोरीलाई ‘अबदेखि मेरी बुहारी भयौ’ भन्दै छोराको हातबाट चुरापोते लगाइदिने पुरानो चलन अझै छ। पहिलाको तुलनामा यस्तो चलन घट्दै गइरहेको भए पनि निर्मूलचाहिँ भइनसकेको सर्केगार्ड–२ का स्थानीय गोइध्या फडेरा बताउँछन्।

हुम्लाका अधिकांश किशोरीहरू कम उमेरमै विवाह गर्छन्। विवाह भएलगत्तै उनीहरू विद्यालय जान छाड्ने गरेको स्थानीय सविता थापा बताउँछिन्। जनचेतनाका कमीले गर्दा त्यहाँका किशोरकिशोरीले विद्यालय पढ्दापढ्दै भागी विवाह गर्ने गरेको उनको भनाइ छ। यो चलन जिल्लाभरि नै कुसंस्कारका रूपमा रहेको उनी बताउँछिन्। विशेष गरी ब्राह्मण र दलित बस्तीमा यस्तो कुसंस्कार विद्यमान रहेको देखिन्छ।

प्रकाशित: ४ माघ २०७५ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App