coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुलको विषयमा छानबिन गर्न गरुडा नगरपालिका पुग्याे अख्तियार

छानबिन गर्दै अख्तियार टाेली। तस्बिर : मदन/नागरिक

रौतहट - गरुडा नगरपालिकाकोले गत वर्षको बजेट व्यापक रुपमा दुरुपयोग गरी कागज मै तीन वटा पुलको रकम निकासा गरेको विषयमा छानबिन गर्न अख्तियार टाेली राैतहटकाे गरुडा नगरपालिका पुगेकाे छ।

गत वर्ष संघीय सरकारले गरुडा नगरपालिकाको १ र ६ वडामा तीन वटा पुल बनाउन ९० लाख रुपैयाँ वजेट पठाएको थियो। नगरपालिकाका मेयर इन्दु प्रयाद यादवको निर्देशनमा कामै नभएको तीन वटा पुलको रकम निकासा भएको विषयमा उपमेयर रंगिला देवी जयसवालले पत्रकार सम्मेलनको आयोजना गरी नगरमा भएको अनियमितताको विषयमा सार्वजनिक गरेकी थिइन्।

पुल बनाउनका लागि गरुडा नगरपालिकाले उपभोक्ता समिति बनाएपनि पुल नै नबनाई कागजमा मात्रै पुल निर्माण भएको रहस्य नागरिक दैनिकमा प्रकासित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासको टोली अनुसन्धान कार्य सुरु गर्न गरुडा पुगेको हाे। आयोगले प्राविधिक टोलीले पुल निर्माण गरिने स्थानको स्थलगत रुपमा अनुगमन गरी कागजपत्रहरु समेत नियन्त्रणमा लिएकाे छ।

गरुडाको वडा नम्बर १ जयनगर टोल, वडा नम्बर ६ लमहा नहरमा अमरपट्टी जाने बाटो तथा वडा नम्बर ६ पोठीयाही वडा कार्यालयको पछाडी गरेर तीन वटा स्थानमा गत असार २७ गते केन्द्रीय सरकारबाट ९० लाख रुपैयाँ गरुडा नगरपालिकामा आएको थियो। नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखले आफ्नै नातागोताका मान्छेहरुलाई उपभोक्ता समिति बनाएर असार २९ गते रकम निकासा गरेर अनियमितता गरेको उपमेयर रंगिलाले गरेको पत्रकार सम्मेलन मार्फत खुलासा भएकाे थियाे।

पत्रकार सम्मेलनमा उपमेयर रंगिलाले कागजमै तीन वटा पुल बनाई ९० लाख निकासा गरेको, अनाधिकृत रुपमा भारतीय सवारी साधनको नाममा रकम हिनामिना गरेकाे, आफ्नो नातागोताका मान्छेलाई कर्मचारी भर्ना गरी आर्थिक अनियमितता गरेको आरोप मेयर यादवलाई लगाएकी थिइन्।

गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आफ्नो कार्यकाल भन्दा पहिले नै यस्तो काम भएको बताउँदै उपभोक्ता समितिलाई दिएको निकासा रकम असुल उपर गर्नुपर्ने अथवा पुरानै उपभोक्ता समितिलाई डिजाइन इस्टिमेट उपलब्ध गराएर पुल निर्माण कार्य सुरु गराउनु पर्ने तर्क दिए। पुल निर्माणको डिजाइनका लागि लोकल रोड ब्रिज सपोर्ट युनिट बर्दिबास कार्यालयबाट प्राविधिक ल्याएर यथाशिध्र पुल निर्माण गराउने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले तीन वटा उपभोक्ता समिति मध्ये दुइ वटा उपभोक्ता समिति को खाता मा ३०/३० लाख यथावतै रहेको तथा अर्काे उपभोक्ता समितिको खाताबाट रकम निस्किसकेको तर ति सवै खाता रोक्का गर्न बैंकलाई नगरपालिकाले लिखित रुपमै जानकारी गराइसकेको बताए। 

 

प्रकाशित: ३ माघ २०७५ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App