१५ चैत्र २०८० बिहीबार
समाज

विद्युत मर्मतको बहानामा रकम माग्दै कर्मचारी

खोटाङ - खोटाङमा विद्युत मर्मतको बहानामा कर्मचारीहरु रकम माग्ने गरेको गुनासो आएको छ।  नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्राविधिकले विद्युत मर्मतको नाममा उपभोक्ताबाट ५ हजार रकम लिएको गुनासो आएको हो।

रुख ढाल्नेक्रममा अवरुद्ध विद्युत सुचारु गराउनेक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी कल्पना बस्नेतले प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिकले रकम लिएको गुनासो गरेकी छन्।

‘रुख ढाल्नेक्रममा नजिकै रहेको बिद्युतको तार चुँडिएपछि विद्युतका कर्मचारीलाई मर्मतका लागि खबर गरिएको थियो, उनले भनिन्,‘ मर्मत गरेपछि कर्मचारीहरुले अनावश्यक रुपमा ५ हजार जति रकम मागे।’

उनले थप्दै भनिन्, ‘किन पाँच हजार दिनु, दिनुपर्ने भए कार्यालयमै पुगेर रसिद लिएर तिर्छु तर कर्मचारीहरुले कार्यालयमा जाँदा ३०÷४० हजारसम्म तिर्नुपर्छ, जेलसम्म बस्नु पर्छ भन्दै पाँच हजार दिनु हामी आफैँ मिलाउछौँ भनेर रकम दिन बाध्य पारियो।’ 

अवरुद्ध विद्युत मर्मतका लागि दिक्तेलबाट ६ जना प्राविधिक बाम्राङ पुगेको स्थानीयले बताएका छन्। विद्युत मर्मत गर्नेक्रममा उपभोक्ताबाट रकम लिने सिस्टम नभएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख एवं निमित्त प्रमुख उमेश महतोले बताए।

‘रुख ढाल्नेबेला कार्यालयलाई खबर गर्नुपर्ने हुन्छ, नियम अनुसाार क्षतिपूर्ती पनि बुझाउनुपर्ने हुन्छ,’ महतोले भने, ‘तर, त्यसरी पैसा लिने सिस्टम छैन। पैसा लिएको विषयमा प्राविधिकलाई सोधीखोजी गरिरहेका छौँ।’ 

प्रकाशित: ३ माघ २०७५ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App