८ वैशाख २०८१ शनिबार
समाज

बम्जन तत्काल सार्वजनिक नहुने

सिन्धुलीस्थित बम्जनको आश्रम। तस्बिर : अनिल/नागरिक

सिन्धुली - रामबहादुर बम्जनसम्बद्ध बोधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ। सोही कार्यक्रममा धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रममा बम्जन सार्वजनिक नहुने जनाइएको छ। आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरूमाथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ।

आश्रममा हुने पूजामा बम्जनसम्बद्ध स्वदेश तथा विदेशका धार्मिक व्यक्तित्वको उपस्थिति रहने बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ। संघका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार उक्त पूजामा तपस्वी बम्जनले धार्मिक सम्बोधन गर्ने र उक्त दिन सर्वसाधारणलाई दर्शन दिने कार्यक्रम तय भएको थियो। तर, बम्जनविरुद्ध नकारात्मक चर्चा बढी चलेपछि सुरक्षा दृष्टिले संवेदनशील हुने भन्दै सार्वजनिक नहुने निर्णय गरिएको उनको भनाइ छ। ‘सुरक्षा चुनौतीका कारण गुरु सार्वजनिक नहुने हुनुभएको हो,’ घिसिङले भने। सिन्धुली आश्रमबाट बाहिरिएको चर्चा चलिरहे पनि बम्जन सिन्धुलीमै रहेको उनको भनाइ छ। घिसिङले बम्जनबारे नकारात्मक चर्चा नगरिदिन आग्रह गरे।

२०६८ असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम बनाएर बम्जन सिन्धुली आएका थिए। त्यतिबेला सर्वसाधारणले उनलाई सहजै भेटिने गरेको स्थानीय बताउँछन्। तीन महिनापछि सर्लाहीको पत्थरकोट गएका बम्जन पुनः २०७४ असोजदेखि सिन्धुलीकै आश्रममा बस्न थालेको उनीहरूको भनाइ छ। हाल कमलामाई–८ स्थित पैरे भन्ने स्थानमा ठूलै सुरक्षा घेराभित्र आश्रम बनाएर बसेका बम्जनलाई सहजै भेट्न सकिँदैन। सिन्धुलीका सञ्चारकर्मी टकपटक जाँदा पनि बम्जनलाई भेट्न नसकिएको जनाइएको छ।

उनले मुलुकको उच्च ओहोदामा रहेका व्यक्ति आउँदा भने तुरुन्तै भेट्ने गरेको स्थानीयको दाबी छ। झन्डै एक साताअगाडि बम्जन आश्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वरप्रसाद यादव पनि निरीक्षणका लागि गएका थिए। तर बम्जनलाई नभेटेको उनीहरूको दाबी छ। ‘हामी अनुसन्धानका लागि दैनिक बम्जनको आश्रममको निगरानी गरिरहेका छौं,’ एसपी यादवले भने, ‘बम्जन सिन्धुलीकै आश्रममा छन् तर भेट्न सकेका छैनौं।’

कमलामाई–५ का एक स्थानीयले बम्जनमाथि यति धेरै आरोप लाग्दा र राज्यले नै छानबिन सुरु गर्दा समेत उनी मौन बस्नु शंकास्पद भएको बताए। सहज भेट नदिनु र यौन हिंसा तथा बेपत्ता बनाएको आरोप लाग्दा पनि चुपचाप रहनु रहस्यमय भएको अर्का एक स्थानीयले बताए। ‘धार्मिक गुरु र तपस्वी नै भए भेट दिन किन आनाकानी ?’ उनले भने। यौन दुव्र्यवहार र मान्छे बेपत्ताजस्तो जघन्य आरोपबारे बम्जनका अनुयायीले खण्डन गरेर नहुने उनको तर्क छ। ‘बम्जनले नै यो विषयमा स्पष्ट पार्नैपर्छ, होइन भने उनी दोषी नै भएको शंका गर्ने बाटा धेरै छन्।’ तर उनका अनुयायीले भने बम्जनकै निर्देशनअनुसार नै आरोपहरूको खण्डन गर्दै आएको बताएका छन्। ‘गुरुले भन्नुभएबमोजिम नै जानकारी गराएका हौं,’ बोधी श्रवण धर्म संघका अध्यक्ष नीलबहादुर थिङले भने, ‘बम्जनमाथि लागेको आरोप कपोलकल्पित र भ्रामक छ।’

सिन्धुपाल्चोक प्रहरीले पनि ६ दिन सिन्धुली आश्रममा अनुसन्धान गरेको थियो। सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा मारेर गाडिएको भनिएका सञ्चलालबारे अनुसन्धान गर्दा उनीसँग उठबस गर्ने एक जना सिन्धुली आश्रममा रहेको भन्ने सूचना पाइएको भन्दै त्यसबारे अध्ययन गर्न सिन्धुपाल्चोकका डीएसपी विमल कँडेलको नेतृत्वमा आएको थियो। आइतबार फर्केको टोलीले अनुसन्धानका क्रममा बम्जनका एक अनुयायीलाई एक दिन नियन्त्रणमा लिई सोधबुझसमेत गरेको सिन्धुली प्रहरीको भनाइ छ। ‘अनुसन्धानको सबै जिम्मा सिन्धुपाल्चोक प्रहरीले लिएको छ, खास नयाँ केही पाइएको जस्तो मलाई लाग्दैन,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी यादवले भने।

प्रकाशित: १ माघ २०७५ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App