coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरण : रगत दिँदा पतिले कुटे दुर्गादेवीलाई

कैलाली - निर्मला पन्त हत्या प्रकरणमा परिवारबीच नै विवाद देखिएको छ। निर्मलाको भेजिनल स्वाब नक्कली भएको आशंका बढेपछि त्यसलाई किनारा लगाउन आमा दुर्गादेवीले डिएनए परीक्षणका लागि रगतको नमुना दिएकी छन् भने उनका पति यज्ञराजले रगत किन दिएको भन्दै पत्नीमाथि कुटपिट गरेका छन्।

छोरीले न्याय पाओस् भनेर भेजिनल स्वाबमाथिको शंका निवारण गर्न आफूले रगत दिएको, त्यही निहुँमा पतिले कुटपिट गरेको दुर्गादेवीले बताएकी छन्। पतिले घाँटी च्यापेर मार्न खोजेपछि भागेर ज्यान बचाएको उनको भनाइ छ। ‘जेठी छोरी मनिषा बिहानै ट्युसन पढ्न गएकी थिइन्। कान्छो छोरी पनि ट्युसन जाने तयारीमा थिइन्।

बिहान साढे ७ बजेतिर कुकरमा भात बसालेकी थिएँ। एक्कासि उहाँ (पति) आएर मलाई नसोधी किन रगत दिएको मारिदिन्छु भन्दै घाँटी च्याप्न थाल्नुभयो’, दुर्गादेवीले भनिन्, ‘भात चुलोमै छोडी ज्यान बचाउन भागें। पछि भात, कुकर दुवै जलेछन्।’ उनले छोरीको हत्यारा पत्ता लागोस् र उसले न्याय पाओस् भनेर आफूले रगतको नमुना दिएको बताइन्।

पतिपत्नीबीच राहत रकममा पनि किचलो बढेको छ। तीनवटै सरकारले राहतस्वरुप उपलब्ध गराएको १८ लाख बुझ्न लागेकी भनेर पनि पति धम्क्याएको दुर्गादेवीले बताइन्। ‘त्यो रकम बुझिस् भने कि तँलाई मारिदिन्छु कि म मर्छु भनेर धम्क्याउनुभयो’, उनले भनिन्। आफूसँग भएका दुईवटी छोरीले दुःख नपाऊन् भन्ने आफ्नो चाहना भएको उनले बताइन्।

सरकारबाट प्राप्त राहत रकममा निर्मलाका बुवा यज्ञराज र कान्छी आमा लक्ष्मीले पनि हिस्सा खोजेका छन्। उनीहरु आन्दोलन तुहिने भन्दै राहतको रकम बुझ्न नहुने तर्क गर्दैछन्।

‘तीनवटी छोरी दुःख गरेर हुर्काएँ। एउटा छोरीको त्यो हालत भयो’, उनले भनिन्, ‘दुई छोरीले पनि दुःख नपाऊन् भन्ने मेरो भनाइ हो।’ सरकारले दिएको राहत रकमले निर्मलाको नामबाट केही काम गर्न पाए हुन्थ्यो भन्ने उनको चाहना छ। ‘त्यो पैसाले निर्मलाकै नाममा केही गर्न पाए सबैभन्दा बढी सन्तुष्ट हुन्थ्यें’, उनले भनिन्, ‘पैसा ठूलो कुरा होइन, पैसा नहुनेहरु पनि बाँचिरहेका हुन्छन्।’

सरकारबाट प्राप्त राहत रकममा निर्मलाका बुवा यज्ञराज र कान्छी आमा लक्ष्मीले पनि हिस्सा खोजेका छन्। उनीहरु आन्दोलन तुहिने भन्दै राहतको रकम बुझ्न नहुने तर्क गर्दैछन्। दुर्गादेवी भने सरकारले उपलब्ध गराएको राहत बुझेर छोरीका लागि केही गर्न पाए हुन्थ्यो भन्ने सोचमा छिन्। ‘सबैले हामीलाई सहयोग गर्नुभएको छ। हाम्रो न्यायका लागि सबैजना सडकमा आएर आन्दोलन गरे’, उनले भनिन्, ‘जनताबाट हामीले न्याय पाएका छौं। ६ महिना भइसक्यो। कहिलेसम्म राहत नबुझ्ने भन्ने मेरो भनाइ हो।’ तीनवटा छोरीमात्र भएपछि यज्ञराजले अर्को बिहे गरेका हुन्। हातपात गरेपछि रुँदै दुर्गादेवीले जीवनभरि पतिले आफूलाई दुःख दिएको र अहिले पनि कुटपिट गरेको बताइन्।

प्रकाशित: २७ पुस २०७५ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App