५ वैशाख २०८१ बुधबार
समाज

बम्जन आश्रममा तालिम प्राप्त कुकुर परिचालन

बम्जनकाे आश्रम।

सिन्धुपाल्चोक - अनुयायी हत्या गरी गाडिएको आशंकामा रामबहादुर बम्जनको बाँडेगाउँ आश्रममा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी पुनः अनुसन्धान थालेको छ।

काठमाडाैंबाट आएको प्रहरीको विशेष टोलीले दुई दिनदेखि आश्रममा कुकुर परिचालन गरी अनुसन्धान गरिरहेको छ। आश्रममा ६ वटा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ। कुकुरसहितको विशेष टोली बुधबार मध्याह्न आश्रम पुगेको थियो। विशेष टोलीले आश्रम नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। विशेष टोलीलाई सिन्धुपाल्चोक प्रहरीले अनुसन्धानमा सघाइरहेको छ।

बम्जनका अनुयायी मकवानपुर हेटौँडाका सञ्चलाल तामाङको हत्या गरी बाँडेगाउँ आश्रमभित्रै शव गाडेर दबाइएको आशंका गरिँदै आएको छ। उनका छोरा महेन्द्रले बाबुलाई आश्रमभित्रै बेपत्ता बनाइएको भन्दै सिन्धुपाल्चोक प्रहरीमा बिहीबार जाहेरी दिएका थिए। त्यसै दिन जाहेरी दर्ता गरेर अनुसन्धान थालेको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोगमा शुक्रबार र शनिबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो।

महेन्द्रले जाहेरीमा बाबुको हत्यापछि आश्रम भित्रै खाडल खनी चाँडै कुहाउन २० पोका नुन छर्केर गाडेको जाहेरीमा उल्लेख गरेका छन्। महेन्द्रको जाहेरी र सार्वजनिक भएका सूचनाका आधारमा शंकास्पद जमिन उत्खनन् गर्दा खुकुलो माटोले भरिएको पाँच फिट गहिरो खाडल सिआइबी टोलीले फेला पारेको थियो। त्यहाँ नौ वटा नुनका खाली पोका भेटिएका थिए। प्रमाण नष्ट गर्न शव पहिलेको खाडलबाट अन्यत्रै सारिएको वा जलाइएको हुन सक्ने अनुमान गर्दै तालिम प्राप्त कुकुरको सहायता लिइएको प्रहरी स्रोतले बतायो।

बम्जनका विभिन्न आश्रमबाट सञ्चलाल हत्याबाहेक अरु चार अनुयायी बेपत्ता बनाएको आरोप लाग्दै आएको छ। बेपत्तामध्ये तीन अनुयायी बाँडेगाउँ आश्रमबाटै हराएको पीडित परिवारले दाबी गर्दै आएका छन्। सञ्चलालसहित चार अनुयायीका परिवारले खोजविनका लागि आ–आफ्ना जिल्लाका प्रहरी कार्यालयमा निवेदन दिइसकेका छन्।

प्रहरी पहिलो चरणमा आश्रममा हत्या गरिएको शंका गरिएको सञ्चलाल घटनाको अनुसन्धानमा केन्द्रीत छ। यो घटनाको जाहेरी सिन्धुपाल्चोकमा दर्ता भएकाले अनुसन्धानको जिम्मा उसैको काँधमा छ। थप अनुसन्धान र प्रमाण खोज्दै सिन्धुपाल्चोक प्रहरी यतिबेला डिएसपी बिमलराज कँडेलको नेतृत्वमा सिन्धुली पुगेको छ। त्यहाँ पनि बम्जनको आश्रम छ। सिन्धुली आश्रमबाट बिहीबार बिहान सिन्धुपाल्चोक प्रहरी टोलीले मकवानपुर घर भएका बम्जनका अनुयायी इन्द्रबहादुर स्याङतानलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उनीमाथि सोधपुछ भइरहेको छ।

कुकुरसहित झण्डै २० जनाको प्रहरी टोली बाँडेगाउँ आश्रममा परिचालित छ। विशेष टोलीको नेतृत्व इन्स्पेक्टरको कमाण्डमा छ। 

प्रकाशित: २६ पुस २०७५ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App