३१ असार २०७७ बुधबार
समाज

मृत्युको पहिलो कारण सुतेको सुत्यै

काठमाडौं - सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउने दाबी गर्दै आए पनि यथार्थमा विदेश पुगेका युवा असुरक्षित हुने क्रम बढेको छ। रोजगागरीका लागि आकर्षक गन्तव्य मानिएको कोरिया पुगेका युवा सुतेको सुत्यै हुन थालेपछि सरकारमाथि सुरक्षाका थप उपाय सुरु गर्नुपर्ने दबाब सिर्जना भएको छ।

रोजगारीका लागि कोरिया पुगेका युवा सुतेको सुत्यै हुन थालेपछि यस्तो समस्यालाई सूक्ष्म रूपले नियालिरहेका विज्ञहरू सरकारले कोरिया जानुअघि दिने अभिमुखीकरण तालिमकै बारेमा प्रश्नचिह्न खडा भएको बताउँछन्।

रोजगार अनुमति प्रणालीमार्फत सन् २००८ देखि युवा कोरिया जान थालेका हुन्। सरसर्ती रूपमा हेर्दा विकास र आर्थिक समृद्धिको दृष्टिकोणले कोरिया अन्य गन्तव्यमध्ये राम्रो देखिन्छ। तर, राम्रो भनिएको गन्तव्यमै बिनाकारण युवाहरूले ज्यान गुमाउन थालेपछि सरकार गम्भीर हुनुपर्ने विज्ञहरूको सुझाव छ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार सन् २०१८ मा रोजगारीका लागि कोरिया पुगेका १२ जनाको निधन हुँदा चारजना सुतेको सुत्यै भए

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार सन् २०१८ मा रोजगारीका लागि कोरिया पुगेका १२ जनाको निधन हुँदा चारजना सुतेको सुत्यै भए। शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार युवा सुतेको सुत्यै हुनुको कारणमा अत्यधिक कामको भार, मदिरा सेवन र एसी चलाउन नजान्नु मुख्य पाइएका छन्।
कोरिया जानुअघि युवालाई त्यो देश कस्तो हो र त्यहाँ गर्नुपर्ने कामको बारेमा विस्तृत जानकारी दिन सक्ने हो भने अहिलेको मृत्युदरलाई केही कम गर्न सक्ने शाखाका कर्मचारी बताउँछन्। ‘कतिपय युवा स्वदेशमा रहँदासम्म कुनै काम नगर्ने तर कोरियामा निकै काम गर्नुपर्दा आत्तिएका हुन्छन्,’ भण्डारीले भने, ‘युवा कोरिया जानु भनेको डर्टी, डिफिकल्ट र डेन्जर काम गर्नलाई हो भन्ने बुझाउन सक्नुपर्ने बेला आएको छ।’

कोरिया जानुअघि गर्नुपर्ने काम र त्यहाँको बसाइबारे जानकारी दिँदा मृत्युदरलाई न्यून संख्यामा झार्न सकिने उनको भनाइ छ। खासगरी पछिल्ला दिनमा कोरियन भाषा सिकाउन खोलिएका संस्थाहरूले युवालाई गलत सूचना प्रवाह गर्ने गरेको र सोही सूचनाको भ्रममा युवा पर्ने गरेको भुक्तभोगी बताउँछन्। सन् २०१८ मा कोरियामा सबभन्दा बढी युवाको मृत्युको कारण सुतेको सुत्यै रह्यो। शाखाका अनुसार सोही वर्ष एकजनाको मात्र स्वाभाविक रूपमा मृत्यु भयो। सन् २०१८ मा कोरियामा दुईजनाले आत्महत्या गर्दा एकजनाको सडक दुर्घटनामा र दुईजनाको कार्यस्थल दुर्घटनामा निधन भयो।

कोरिया जाने कामदारलाई सचेत रहने तरिकाबारे उचित सूचना प्रवाह गर्ने हो भने मृत्युदर न्यून हुने कर्मचारी बताउँछन्। ‘सन् २०१८ मा कोरियामा स्वाभाविक रूपमा मृत्यु हुनेको संख्या हेर्ने हो भने एकजना मात्र देखिन्छ,’ भण्डारीले भने, ‘कोरिया जाने युवालाई समयमै पर्याप्त सूचना दिन सकिएको भए अन्य मृत्युको कारणबाट बचाउने सम्भावना देखिन्छ।’

शाखाले कोरियामा भइरहेको मृत्युदर घटाउन सक्दो प्रयास गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ। ‘कोरियास्थित दूतावासको सहयोगमा युवालाई सचेतनामूलक कार्यक्रम सुरु गरिरहेका छौं,’ भण्डारीले भने, ‘ती कार्यक्रम गर्न साढे दुईदेखि तीन लाख रुपैयाँसम्म खर्च पनि भइरहेको छ। अबको बुझाइ त्यतिमात्रले पुगेन भन्ने निष्कर्षमा पुगेका छौं।’

हाल कोरिया जानुअघि युवालाई ५१ घन्टाको अभिमुखीकरण तालिम दिने गरिन्छ। अहिलेको तालिम पर्याप्त नभएको कर्मचारीको ठहर छ। भण्डारीले अब कोरिया अभिमुखीकरणमा लागि पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताए। कोरियामा मृत्युको संख्या वृद्धि भएपछि कामदारको परिवारलाई छुट्टी मनाउन कोरिया पठाउने सोच राखिएको र त्यस्तो सोचमा कोरिया सरकार सकारात्मक रहेको भण्डारीले बताए।  

कतिपयले कोरियामा मृत्युको घटना वृद्धि हुनुमा एचआइभी संक्रमणलाई पनि कारणको रूपमा लिएका छन्। रोजगारीका लागि पुगेका युवाले जथाभावी यौन सम्पर्क राख्ने र जसले गर्दा केही युवामा एचआइभी संक्रमण भेटिएको बताइएको छ। कमाउन गएको युवामा एचआइभी संक्रमण भएपछि आत्महत्या गरेको कर्मचारी बताउँछन्।

शाखाका अनुसार सन् २००८ यता रोजगारीका लागि कोरिया पुगेका ९४ युवाको निधन भएको छ। जसमध्ये २० जनाले आत्महत्या गरेका छन्। पछिल्लो १० वर्षको अवधिमा कोरियामा दुईजनाको मात्र प्राकृतिक रूपमा मृत्यु भएको छ। सोही अवधिमा आठजनाको सडक दुर्घटना, सुतेकै अवस्थामा २२, कार्यस्थल दुर्घटनामा १२ र दुईजनाको कर्तव्य ज्यानबाट निधन भएको छ। शाखाका अनुसार २८ जनाको मृत्युमा कुनै कारण खुलेको छैन। इपिएस सुरु भएयता करिब ५८ हजार चार सय युवा रोजगारीका लागि कोरिया पुगेका छन्। तीमध्ये करिब ३० हजार जतिले कोरियामा काम गरिरहेको बताइन्छ।

प्रकाशित: २४ पुस २०७५ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App