४ वैशाख २०८१ मंगलबार
समाज

युवाले गरे बेसहारा परिवारको घर मर्मत

सर्लाही – लायन्स क्लब अफ लालबन्दी सेन्चुरीमा आवद्ध युवाहरूले जिल्लाको चुरेक्षेत्रमा बस्ने बेसहारा एक परिवारको घर मर्मतसम्भार गरिदिएका छन्। साथै युवाहरूले खाद्यान्न र लत्ताकपडासमेत प्रदान गरेका छन्।

ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरको घारीबथान निवासी हस्तबहादुर वाइबाको अति जीर्ण घरमा जस्तापाताको घेराबेरा एवं छाना हालिदिएका हुन्। वडाध्यक्ष नागेन्द्र पाख्रिनको रोहबरमा वाइवा परिवारको घर मर्मत गर्नुका साथै चामल, चिउरा, दाल, नुन, तेल लगायतका खाद्यान्न र केही जोर कपडासमेत सहयोग गरिएको लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका सदस्य प्रशान्त आचार्यले जानकारी दिए।

८० वर्ष नाघिसकेका हस्तबहादुरको परिवारमा उनीसहित दृष्टिविहीन श्रीमती र मानसिक सन्तुलन गुमाएकी एक छोरी छन्। केही समयअघि वाइबा परिवारको औषधोपचार गरेर फर्किएका स्वास्थ्य चौकी(कालिञ्जोर)का इन्चार्ज सुरेन्द्र खतिवडाले उनीहरूको अवस्थाबारे जानकारी गराएपछि उक्त क्लबका युवाले सहयोग गरेका हुन्। ‘विकट चुरे क्षेत्रमा परिवार नै विजोग अवस्थामा परेको जानकारीले मन नै छोयो,’ नेपाली कांग्रेस लालबन्दी नगर सभापतिसमेत रहेका आचर्यले भने, ‘अनि साथीभाइ मिलेर वाइवा परिवारको घर मर्मतसँगै खाद्यान्न र लत्ताकपडासमेत सहयोग गरेका हौं।’

निकै जीर्ण घर मर्मतका साथै खाद्यान्न एवं लत्ताकपडासमेत पाएपछि वाइबा परिवार निकै खुसी भएको छ। युवाहरूले उनको घर वरपर सरसफाइ समेत गरिदिएका छन्। शीर फूलजोर काञ्जिोरस्थित वडा कार्यालयबाट करिब २० किलोमिटर उत्तर विकट क्षेत्रमा वाइबा परिवारको घर छ।

प्रकाशित: २४ पुस २०७५ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App