७ वैशाख २०८१ शुक्रबार
समाज

होर्डिङ बोर्डले कुरूप बन्दै बजार

ओखलढुंगा - जिल्लाको मुख्य प्रवेशद्वार मानेभन्ज्याङ गाउँपालिकाको हर्कपुरदेखि सदरमुकामसम्म राखिएका मदिराका ठूलाठूला लाइट बोर्ड र होर्डिङ बोर्डले बजारलाई कुरूप बनाएका छन्। मदिरा कम्पनीहरूले विज्ञापनका लागि राखेका त्यस्ता बोर्डहरूले बजारको पहिचान र मौलिकतामा असर पुर्‍याएका छन्।

सामान्य होटल, किराना पसल मात्र होइनन्, ठूला होटल, पसलमा विभिन्न मदिरा कम्पनीहरूले विज्ञापनका लागि होर्डिङ बोर्ड राखिदिने गरेका छन्। धेरैजसो ठाउँमा सानमिगेल, किङ फिसर, टुबोर्ग, अर्नालगायत मदिराका होर्डिङ बोर्ड टाँगिएका छन्। जिल्लाको मुख्य सडकआसपासका मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका बजार क्षेत्रमा धेरै होर्डिङ बोर्ड राखिएका छन्। मानेभन्ज्याङका हर्कपुर, हिलेपानी, थाक्ले, मानेभन्ज्याङ बजार क्षेत्र, बालेथामडाँडा, केत्तुके बजार तथा सिद्धिचरणका मिलनचोक, रमाइलो डाँडा, जिविस टोल, भैरवटोल, रामबजार क्षेत्रमा सञ्चालित अधिकांश होटल तथा किराना पसल मदिराका होर्डिङ बोर्डले भरिएका छन्।
एउटै होटल तथा किराना पसलमा एकभन्दा बढी मदिरा कम्पनीले बोर्ड राखिदिएका छन्। मदिरा कम्पनीहरूको पहिलो प्राथमिकतामा सानाठूला होटल पर्ने गरेका छन्। होटलका छत, छाना, टेबल, कुर्सी, भित्ता मदिराको विज्ञापन गर्ने ठाउँ बनेका छन्। कम्पनीले बोर्डका तीन भागमध्ये एउटामा व्यवसाय र प्रोप्राइटरको नाम राखेर बाँकी आफ्नो विज्ञापन गर्ने गरेका छन्। होटल तथा पसलको अगाडिको भाग मुख्य गरी विज्ञापनका लागि विभिन्न मदिरा कम्पनीबाट प्रयोग हुने गरेको छ।

व्यवसायीको अनुमतिबना बोर्ड
मानेभन्ज्याङ–५ की व्यवसायी हर्कीमाया श्रेष्ठद्वारा बलेथामडाँडामा सञ्चालित राजेश एन्ड विराज होटल तथा किराना पसलमा सानमिगेल र किङफिसर बियरका होर्डिङ बोर्ड राखिएका छन्। उनको भनाइअनुसार ती होर्डिङ बोर्ड अनुमति नलिईकन राखिएका हुन्। ‘पहिले नाम मात्र सोधेर गएका थिए, पछि बोर्ड बनाएर ल्याएछन्,’ उनले भनिन्। सिद्धिचरण नगरपालिकाको कार्यालयनजिकै पार्वती श्रेष्ठको सामान्य होटल छ। होटलमा तीनवटा टेबल छन्, जसमा मदिरा विज्ञापनका लेबल टाँसिएका छन्। ती लेबल उनी आफैंले टाँसेकी होइनन्, न कि उनले कम्पनीसँग भनेर टाँस्न लगाएकी हुन्। ‘कम्पनीका मान्छे आफैंले टाँसेर गएका हुन्,’ उनी भन्छिन् ‘टेबल, र्‍याक, ढोकामा समेत टाँसेका छन्।’

सिद्धिचरण नगरपालिका कार्यालयनजिकै रहेको गंगा विजय होटल एन्ड लज भएको घरको चारैपट्टि सानमिगेल बियरका लाइट र होर्डिङ बोर्ड छन्। यी चारवटै बोर्ड सानमिगेल बियरको मात्र हो। होटलका सञ्चालक ज्ञानबहादुर कटुवालका अनुसार ती सबै बोर्ड उनीसँग अनुमति नलिई राखिएका हुन्। ‘एउटा लाइट बोर्ड भए हुन्थ्यो भनेर वितरकसँग कुरा गरेको हुँ,’ उनी भन्छन्, ‘तर अरूचाहिँ मलाई नसोधी राखेका हुन्।’ सोही होटलमा किङफिसर बियरको पनि होर्डिङ बोर्ड राखिएको छ।

सिद्धिचरण–११ रमाइलो डाँडाका थगेन्द्रराज राईको श्रीगन्ज होटल एन्ड लजमा पनि टुबोर्ग, सानमिगेल, किङफिसर, अर्नालगायत मदिराका बोर्ड राखिएका छन्। होटल व्यवसायी संघका अध्यक्षसमेत रहेका राईका अनुसार यति धेरै मदिरा कम्पनीका विज्ञापन उनले राख्न लगाएका होइनन्। तर व्यवासयीसँग अनुमति लिएरै होर्डिङ बोर्ड राख्ने गरेको गोर्खा ब्रुअरी प्रालिका जिल्ला प्रतिनिधि कैलाश केसीले बताएका छन्। स्थानीय निकायहरूमा अनुमति लिनुपर्ने व्यवस्था थाहा नभएकाले पालिकाहरूसँग अनुमति नलिइएको उनको भनाइ छ।

ऐन कार्यान्वयन भएन
जिल्लामा सबैभन्दा बढी होर्डिङ बोर्ड मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका बजार क्षेत्रमा राखिएका छन्। यी स्थानीय तहसँग मदिरा उत्पादक कम्पनीहरूले अनुमति लिएका भने छैनन्। मानेभन्ज्याङ र सिद्धिचरणमा करसम्बन्धी आर्थिक ऐन बनेका छन्। चालू आर्थिक वर्षको सुरुमै ऐन बनेको भए पनि दुवै स्थानीय तहले प्रभावकारी कार्यान्वयन गराएको पाइँदैन। मानेभन्ज्याङ गाउँपालिकाले मदिराजन्य वस्तुको विज्ञापन प्रतिवर्ग फिट सय रुपैयाँ लाग्ने ऐन बनाएको छ। गाउँपालिकाको आर्थिक ऐनको अनुसूची ७ ‘ख’मा यो व्यवस्था भए पनि कार्यान्वयनको पाटो फितलो छ। गाउँपालिकाभित्र विभिन्न मदिरा कम्पनीले विज्ञापनको होर्डिङ बोर्ड राखेको भए पनि कुनैले कार्यालयबाट अनुमति नलिएको अध्यक्ष मोतीराज राईले बताए। ‘कुनैले पनि अनुमति मागेका छैनन्,’ उनले भने, ‘हामीले दिएका पनि छैनौं।’ अब कार्यविधिअनुसार अनुगमन गरिने प्रमुख राईको भनाइ छ।

आफ्नो व्यवसाय परिचयको लागि १५ स्क्वायर फिटसम्म एक थान बोर्ड व्यवसायीले आफ्नो पसल वा व्यवसाय रहेको भित्ता पर्खाल वा अगाडिको भागमा राख्न पाउने व्यवस्था छ। धेरै बोर्ड राख्नुपरे अनुसूची ७ मा व्यवस्था भएअनुसारको दररेटमा सम्बन्धित व्यवसायीले विज्ञापन करबापत बुझाउनुपर्ने मानेभन्ज्याङ गाउँपालिकाले ऐन पारित गरेको छ।

यस्तै, सिद्धिचरण नगरको स्वरूप नै बिग्रिनेगरी विभिन्न मदिराको होर्डिङ बोर्ड राखिएको भए पनि नगर बेखबरजस्तै बनेको छ। नगरपालिकाले लिने विज्ञापन करको दर ऐनको दफा ६ को अनुसूची ५ मा व्यवस्था गरिएको भए पनि कार्यान्वयनमा आएको छैन। नगरपालिकाले पादक पदार्थ र सुर्तीजन्य वस्तुहरूको होर्डिङ बोर्ड, डिपिएस बोर्ड, ग्लो बोर्ड राख्न प्रतिवर्ग फिट दर पटके २० रुपैयाँ र वार्षिक ५० रुपैयाँ लाग्ने कानुनमा व्यवस्था गरिएको छ। तर, कानुनअनुसार कुनै पनि कम्पनीले विज्ञापन बोर्ड नराखेको बताइन्छ।

नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार लाइट बोर्ड, होर्डिङ बोर्ड राख्न मदिरा कम्पनी तथा त्यसका प्रतिनिधिले नगरपालिकाबाट अनुमति लिएका छैनन्। ‘होर्डिङ बोर्ड राख्न स्वीकृति लिइएको छैन, नगरको सौन्दर्य नै बिगार्नेगरी राखिएका होर्डिङ बोर्डलाई अनुगमन गरी कानुनी दायरामा ल्याउनेछौं,’ प्रमुख श्रेष्ठले भने, ‘अनुगमन गरेर करको दायरामा ल्याइनेछ। साथै, सम्बन्धित कम्पनीका व्यवसायी प्रतिनिधिहरूलाई नगरपालिकामा बोलाएर छलफल गरिनेछ।’ ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा लाखौ राजस्व गुमेको छ। होटल व्यवसायी संघ ओखलढुंगा र उद्योग वाण्ज्यि संघ ओखलढुंगाको तथ्यांकअनुसार एक सय ५५ होटल र एक हजार तीन सय ५५ अन्य व्यवसाय जिल्लामा सञ्चालनमा छन्।

प्रकाशित: २२ पुस २०७५ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App