१६ चैत्र २०८० शुक्रबार
समाज

सिर्जनाचोक र पृथ्वीचोकमा ‘ओभरहेड ब्रिज’

पोखराको सिर्जनाचोक र पृथ्वीचोकमा निर्माण गरिने आकाशेपुलको नमुना डिजाइन।

पोखरा - पोखराका व्यस्तमध्येका पृथ्वीचोक र सिर्जनाचोकमा कार्यालय समयमा सवारीसाधनको निकै चाप हुन्छ। पोखरा बजारसहित धवलागिरी अञ्चलका विभिन्न जिल्ला पुग्ने सवारी पनि यिनै चोक पार गर्ने हुँदा सवारीको चाप झनै बढ्छ । सवारीको भीड बढ्दा जेब्रा क्रसिङबाट वारपार गर्ने नागरिकलाई पनि सास्ती हुने गरेको छ।

मूल सडकमा यतिसम्म गाडीको भीड लाग्छ कि पैदलयात्रुलाई लक्षित गरी बनाइएको जेब्रा क्रसिङमै गाडी रोकिएका हुन्छन् । त्यसले गर्दा वारपार गर्न झनै समस्या छ । जेब्राक्रसमा गाडी राख्दा बाटो काटेर गन्तव्यसम्म पुग्ने पैदलयात्रुले समेत सास्ती खेप्नु परिरहेको छ । ट्राफिक जाम खुल्दा गाडीको तीव्र गतिले झन् समस्या बल्झाउने गरेको छ, दुर्घटनाको जोखिम उत्तिकै रहन्छ।

पछिल्लो समय पोखरामा सवारी जामले पैदलयात्रुले सास्ती व्यहोर्नुपरेको छ। लामो समयदेखि पोखराको केही चोकमा आकाशेपुल बनाउनुपर्ने आवाज उठ्दै आएको थियो ।

बाटाे काट्न समस्या र बढ्दो सवारी जामले सास्ती खेप्नुपर्ने बाध्यता अबको डेढ वर्षभित्रमा अन्त्य हुने भएको छ । पोखरा महानगरपालिकाले विशेषगरी पहिलो चरणमा पृथ्वीचोक र सृजनाचोकमा आकाशेपुल (ओभरहेड ब्रिज) निर्माणको डिजाइन तयार गरेको छ।

स्टिल फेब्रिकेसनयुक्त आकाशेपुल बनाउनुपर्ने देखिएकाले फाइनल डिजाइन गरेर तत्काल काम अघि बढाइने गृहकार्य महानगरपालिकाले गरेको छ । बढीमा एक महिनाभित्र टेन्डर प्रक्रियामा जाने महानगरपालिकाले जनाएको छ।

‘पहिलो चरणमा दुई चोकमा आकासे पुल बनाउनेछौं । त्यसको डिजाइन आएको छ । भारबहन क्षमता कति हुने भन्ने फाइनल डिजाइनका लागि पूर्वाधार विश्लेषण (स्ट्रक्चर एनालाइसिस) भइरहेको छ,’ पोखरा महानगरपालिकाका डिभिजन इन्जिनियर सोबियत खड्काले भने, ‘केही समयपछि डिटेल स्ट्रक्चर डिजाइन तयार गरी टेन्डर प्रक्रियामा जान्छौं ।’ उनका अनुसार यो वर्षभित्रमा पूर्वाधार निर्माणको काम सुरु हुन्छ।

इन्जिनियर खड्काले आकाशेपुल स्टिल स्ट्रक्चर (फेब्रिकेसन)को हुनेछ । ढलान गर्दा झन्डै एक महिना टेको लगाएर राख्नुपर्ने बाध्यता रहने हुँदा यातायात नै ठप्प गर्नुपर्ने अवस्थाले गर्दा फेब्रिकेसनकै पुल जडान गरिने उनले सुनाए । ‘ढलान गर्दा टेको लगाउनुपर्छ, एक महिनासम्म टेको राख्दा यातायात ठप्प गर्नुपछै । त्यस्तो नगरी स्टिल फेब्रिकेसन राख्छौं,’ उनले भने, ‘कंक्रिट राख्न सकिँदैन।’

ढकालले पृथ्वीचोक र सृजनाचोकमा बनाइने आकाशेपुलको भर्‍याङको डिजाइन मात्र फरक हुने स्पष्ट पारे। उनका अनुसार एकभन्दा बढी सर्वसाधारण एकैपटक ओहोर–दोहोर हुने गरी भारवहन क्षमताको डिजाइन गरिनेछ।

डेढ वर्षभित्र आकाशेपुल पूरा गरिने उनले बताए। पछिल्लो समय पोखरामा सवारी जामले पैदलयात्रुले सास्ती व्यहोर्नुपरेको छ । लामो समयदेखि पोखराको केही चोकमा आकाशेपुल बनाउनुपर्ने आवाज उठ्दै आएको थियो । तर, त्यसतर्फ खासै ध्यान दिइएको थिएन । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सृजनाचोकमा आकाशेपुल निर्माण गर्न ५० लाख रुपैयाँ स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत छु्ट्याएपछि अभियान अघि बढेको हो।

‘फेब्रिकेसनको काम हो, सामानका लागि फ्याक्ट्रीमै ६ महिनाको समय लाग्छ,’ उनले भने, ‘सामान बनेर आएपछि रातारात नट–बोल्ट कसेर तयार गर्ने हो ।’ पृथ्वीचोक र सृजनाचोकमा भ¥याङसहितको स्पेस पुग्ने भएकाले सहज भएको भन्दै उनले अन्य ठाउँमा भने हेरेर आवश्यक डिजाइन बनाएर काम गर्ने बताए । ‘पहिलो चरणमा यी दुई चोकमा काम सुरु गरिन्छ, त्यसपछि अन्य ठाउँमा डिजाइन गरेर गर्ने योजना महानगपालिकाको छ,’ उनको भनाइ थियो।

एउटा आकाशेपुलका लागि झन्डै तीन करोड खर्च हुने अनुमान गरिएको छ । महानगरपालिकाले यो वर्ष आकाशेपुलका लागि एक करोड रुपैयाँ छुट्ट्याएको महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले सुनाए । ‘छुट्ट्याइएको रकमले काम गर्ने हो । त्यसपछि सामान्य लागतको अनुमान निस्किन्छ, अर्को वर्ष बजेट छुट्ट्याएर काम सक्छौं,’ उनले भने।

पोखरा महानगरपालिका–८ का अध्यक्ष रुद्रनाथ बरालले बढ्दो सवारी चाप कम गर्न ओभरहेड ब्रिजको विकल्प नरहेको बताए । ‘पोखरा निकै नै साँघुरो भइसकेको छ । बढ्दो सवारीको चापबाट जोगिन पनि बटुवाका लागि आकाशेपुल चाहिएको हो,’ महानगर ट्राफिक व्यवस्थापन समितिका संयोजकसमेत रहेका बरालले भने, ‘कार्यालय समयमा त यतिबेला निकै नै सास्ती छ । केही वर्ष अघिसम्म जहाँ पायो त्यहीँबाट बाटो वारपार गर्न सकिन्थ्यो । अब भने आकाशेपुल आवश्यक भइसकेको छ । यसको प्रक्रिया अघि बढिसकेको छ।’

बढ्दो सवारीका कारण जेब्राक्रसिङबाट वारपार गर्न पनि मुस्किल हुन थालेको उनले बताए । ‘महानगरले कस्तो आकारको आकाशेपुन बनाउने भनेर डिजाइन तयार पारिसकेको छ । अबको केही समयमा टेन्डर आह्वान गरेर काम सुरु हुन्छ,’ उनले भने, ‘कम्तीमा बटुवालाई यसले राहत दिनेछ।

प्रकाशित: २० पुस २०७५ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App