१५ चैत्र २०८० बिहीबार
समाज

दुर्व्यसनी युवाका कारण बजार असुरक्षित,

खोटाङ – खोटाङको दिक्तेल बजारमा कुलतमा फसेका युवाका गतिविधि चुनौती बन्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन्। प्रहरी सेवालाई थप प्रभावकारी बनाउन गुनासो र सल्लाह लिन जिल्ला प्रहरी कार्यालय (खोटाङ)ले समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन्।

लागूऔषध तथा मादक पदार्थ खाने केही युवाको गतिविधि बजारकै सुरक्षामा चुनौती देखिएको वक्ताहरूले बताए। कुलतमा फसेका युवाको गतिविधिका कारण राति बजारमा हिँड्डुल गर्न नसकिने अवस्था आएको अधिकारकर्मी रश्मी रर्सालीले बताइन्। ‘साँझका बेला दिक्तेलको जयपुरी डाँडास्थित हेलिप्याड आसपास हिँड्डुल गर्न गाह्रो छ,’ उनले भनिन्, ‘साँझ परेपछि जाँड रक्सीदेखि गाँजाभाङसम्म खाने समूह त्यहीं हुन्छ।’

सहभागीले बढीजसो मावि तहमा अध्ययन गरिरहेका युवायुवती कुलतमा फसेको बताएका छन्। कतिपय अभिभावकलाई आफ्ना छोराछोरी कुलतमा फसेको विषयमा थाहा नभएकाले सचेत गराउनैपर्ने अवस्था देखिएको दिक्तेल हाटडाँडाका युवा सुचन राईले बताए। ‘कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी बढी दुर्व्यसनीमा फसेको देखिएको छ,’ उनले भने, ‘यस्तो विषयमा अभिभावकलाई नै सचेत गराउनुपर्ने अवस्था छ।’

जिल्ला प्रहरी कार्यालय (खोटाङ)का डिएसपी राजकुमार केसीले भने अहिलेसम्म लागूऔषधसम्बन्धी उजुरी नआएको बताए। ‘दुर्व्यसनीको समस्या हुनसक्छ तर उजुरी आएको छैन,’ डिएसपी केसीले भने,‘अवैध गतिविधि हुने स्थानमा प्रहरीको गस्ती परिचालन गर्ने छौं।’

प्रकाशित: १८ पुस २०७५ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App