१६ चैत्र २०८० शुक्रबार
समाज

३ हजारमै हत्याको सुपारी !

सर्लाही बरहथवाका मालिक महतोको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका धनेश्वर महतो र रविन्द्र महतो ।

सर्लाही– जिल्ला स्थित बरहथवामा केही दिन अघि निजी विद्यालय संचालक हत्यामा संलग्न आरोपित अभियुक्तले ३ हजार रुपैंया लिएर घटना गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पेशेवर हत्याराले लाखौं लिएर हत्याको सुपारी लिने गरेको समाचारहरु आउने गरेको भएपनि बरहथवा नगरपालिका–५ हात्तीडण्डा निवासी ३० वर्षीय मालिक महतोको हत्याका आरोपीले योजनाकारसँग ३ हजार रुपैंया मात्रै लिएर घटना गराएको देखिएको हो। नातामा मृतकको ज्वाईं पर्ने स्थानीय ३० वर्षीय धनेश्वर महतोले बागमती नगरपालिका–८, शंकरपुरका २६ वर्षीय रविन्द्र महतोलाई ३ हजार रुपैंया दिएर पुस ६ गते राती मालिकको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

‘योजनाकार धनेश्वरले रविन्द्रलाई ५ गते विहिबार ३ हजार रुपैंया दिएर आफू जनकपुर तर्फ गएको र शुक्रबार राती रविन्द्र सहित दुईजनाले मालिकको हत्या गरेको देखिएको छ’, प्रहरी उपरीक्षक पोषराज पोखरेलले नागरिकसँग भने, ‘योजनाकारले अन्य लोभलालच पनि देखाएको होला, हत्याका लागि अघिल्लो दिनचाँही संलग्नले ३ हजार रुपैंया मात्र लिएका रहेछन्।’ घटनाबारे विस्तृतमा अध्ययन भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।

प्रहरीले घटना भएको तीन दिनपछि धनेश्वर र रविन्द्रलाई पक्राउ गरी कारबाही प्रक्रिया समेत अगाडी बढाइरहेको छ। प्रहरीका अनुसार अर्का एक अभियुक्त भने फरार छन्।

मालिकको रविन्द्र र फरार अभियुक्तसँग पहिला देखि नै राम्रो चिनजान थियो। उक्त दिन साँझ ७ बजेतिर सुन जस्तो वस्तु भेटिएको छ भन्ने बहाना बनाइ फोन गरेर बोलाएपछि बरहथवा बजार गएका मालिकलाई मदिरा सेवन गराएर दुईजनाले हत्या गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार मालिक भेट भएपछि बरहथवास्थित राजु चौकमा रहेको रक्सी पसलबाट मदिरा किनेर ना. ५२ प ७१४८ नम्बरको मोटरसाइकलमा चोर्नीया पुल नजिक एकान्त बाटोमा पुगेर तीनजनाले मदिरा सेवन गरेका थिए। राती १० बजेपछि रविन्द्र र अर्का अभियुक्त मिलेर मदिराले लठ्ठ भएका मालिकको हातखुट्टा समाती मासु काट्ने धारिलो हतियार (ग्रासी) ले टाउकोमा क्षत विक्षत ढंगले काटेर हत्या गरेको प्रहरीले जनाएको छ। 

राती ९ बजेतिर पत्नीले फोन गरेर बोलाउँदा खाना पस्कदै गर म आईहाले भनेका मालिकको धारिलो हतियारले टाउको क्षत विक्षत बनाई विभत्स् ढंगले हत्या गरिएको अवस्थामा शनिबार बिहान ४ बजे सोतीखोला चोर्नीया पुल नजिक सडकमै शव फेला परेको थियो।  

झण्डै ४ वर्ष वैदेशिक रोजगारीमा गएर १० महिना अघि घर आएका रविन्द्रले ६ महिना अघि मात्र विवाह गरेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खेरवारले बताए। ‘रविन्द्रलाई पहिला देखि नै गाउँतिर बँदमास व्यक्तिकै रुपमा चिन्दा रहेछन्’, खेरवारले भने, ‘विदेशबाट आएपछि कहिले कसको कहिले कसको पिकअप भ्यानहरु चलाउने गरेको रहेछ।’ 

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतबाट पहिलो पटक ५ दिन तथा हाल थप १० दिनको म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न अर्का फरार अभियुक्तको पनि पहिचान भैसकेकाले खोजी तिब्र बनाईएको प्रहरीको दाबी छ। 

मृतक मालिक र धनेश्वरले साझेदारीमा जग्गा खरिद बिक्री गर्दै आएका र छ महिनाअघि हरिवनमा जग्गाको कारोवार गर्दा मालिकले नाफा एकलौटी लिएपछि उनीहरुबीच मनमुटाव सूरु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मालिकले एक्लै जग्गाको कारोवार गर्दै धेरै पैंसा कमाएको ठानेर धनेश्वरले मालिकको हत्या योजना बनाएको प्रहरीले जनायो। ‘मंसिर अन्तिम तिरै धनेश्वरले रविन्द्र र अर्का अभियुक्तर्ला मदिरा सहितको खाजा खुवाएर हत्या योजना बनाएका रहेछन्’, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘हत्या नै गर्ने दिनमा भने धनेश्वरले रविन्द्रलाई ३ हजार रुपैंया दिएको अनुसन्धानबाट देखिएको छ।’

प्रहरीले पक्राउ परेका अभियुक्तसँगै मालिकको टाउको क्षतविक्षत बनाउन प्रयोग गरिएको धारिलो हतियार ग्रासी, एउटा मोटरसाइकल, रवीन्द्र महतोले हत्या गर्दा लगाएको रगत लतपतिएको कपडा र नगद समेत बरामद गरेको छ।

मृतक महतोका श्रीमति सहित ८ र ४ वर्षका २ छोरा रहेका छन्। एक्लो छोराको हत्याले मृतकका बुबा आमा, श्रीमति सहित आफन्त भावविव्हल छन्।

प्रकाशित: १७ पुस २०७५ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App