८ वैशाख २०८१ शनिबार
समाज

सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई मायाको चिनो प्रदान गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ। तस्बिर/ नागरिक

काठमाडौं – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका छन्। सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भारतमा भएको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन्। उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको उनले बताए। योगीले भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म आफैं पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्ने बताएका छन्। नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नुपर्ने बताए।

भेटघाटमा महासंघकी अध्यक्ष राणाले दुई मुुलुकबीचका भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गरिन्। उनले नेपालका धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा सघाउन आग्रह गरिन्। ‘नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ,’ योगीसँगको भेटमा राणाले भनिन्, ‘दुई मुलुकबीच व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदानप्रदान हुन आवश्यक छ।’

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाबीच भेटवार्ता

नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा उत्तर प्रदेश सरकारलाई सहयोग गर्न अध्यक्ष राणाले आग्रह गरिन्। नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा आउन र लगानीमा प्रोत्साहन गर्न उनले आह्वानसमेत गरिन्। दुई मुलुकबीच प्रसारण लाइन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्नेमा जोड दिएकी थिइन्। महासंघ अध्यक्ष राणाको नेतृत्वमा १८ सदस्यीय प्रतिनिधि मण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको हो। भेटमा उद्योग वाणिज्य संघका प्रदेश तथा जिल्ला अध्यक्षको पनि सहभागिता थियो।

प्रकाशित: १२ पुस २०७५ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App