८ वैशाख २०८१ शनिबार
समाज

मलेसिया गएका राजकुमारकाे मृगौला फेल, जीवन र सम्पत्ति दुबै सकिँदै

काठमाडौं – २२ वर्षको कल्कलाउँदो जोवन, विबाह गरेरपछि जीवनको फुलबारीमा भर्खर भर्खर फक्रिन थालेका खुसीका फुलहरु। अनि त्यसमाथि बाआमाको कान्छो छोरा। सधैं आमाको लाड प्यारमा हुर्किएका काभ्रे मण्डनदेउपुरका राजकुमार मगरलाई बिहे अघिसम्म न घरको चिन्ता थियो न कान्छी बहिनीको बिहेकै। तर बिहेपछि घर ब्यवहारले थिचिंदै गएका राजकुमारको काँधमा जिम्मेवारीको भारी थपिंदै गयो। दाईहरु सबै छुट्टिएर बसेका छन्। भूकम्पले भत्किएको घर ठड्याउनु पर्ने, कान्छी बहिनीको बिहे गर्नुपर्ने अनि बाआमा प्रतिको कर्तव्य निर्वाह गर्नुपर्ने जिम्मेवारी राजकुमारकै काँधमा छ।

जिम्मेवारीको भारी बिसाउने ठाउँ नभेटेपछि राजकुमार बाध्यताको बाटो रोज्छन् विदेशको र लाग्छन् नेपाल जस्तै हावा पानी मिल्ने मलेसिया। तर, सुखमय भविष्यको सपना देख्दै विदेशिएका राजकुमारको जीवन मलेसिया रोजगारीले मझधारमा पुर्याइदिन्छ। राजकुमारले कम्पनीले भनेको काम गर्दा कहिल्यै चैन पाएनन्। दिनहुँ १६/१७ घण्टा काम गर्नुपर्ने, काम नगरौ कम्पनीले मनलाग्दी पैसा काट्ने। राजकुमारले आफ्ना दुःखका दिन सम्झिए, ‘१५ घण्टा काम गर्नु पर्थ्यो। ओभरटाइम अनिवार्य गर्नुपर्ने, नगरे ड्युटीमै आउन नदिने, केही काम बिगार्यो भने एक हप्तादेखि एक महिनासम्म सस्पेन्ड गर्थ्यो।’

नेपालमा स्वास्थ्य परीक्षण पास भएपछि मेनपावरमा ९० हजार तिरेर मलेसिया उडेका राजकुमार त्यहाँ गरिएको स्वाथ्य परीक्षणमा पनि पास हुन्छन्। तर काम गर्न थालेको साढे ४ महिनापछि राजकुमारको शरीर एकाएक सुनिन थाल्छ, हात गोडाका नङ् सेता हुन्छन। आफैलाई कमजोर महसुस गर्न थाल्छन्। उनलाई ठिक हुन ४ दिन लाग्छ।

तर दिनदिनै राजकुमारलाई रोगले च्याप्दै जान्छ। वान्ता हुन्छ, काम गर्ने आँट हराएर जान्छ, मृगौलामा समस्या छ भनेर अस्पतालले भन्छ। तर आफू काम गर्ने कम्पनी यति निर्दयी बन्छ कि राजकुमारको पीडा देख्दैन। बरु उल्टै काममा लगाउँछ।

केही सीप नचलेपछि राजकुमार आफ्नै खर्चमा नेपाल फर्किने निधो गर्छन। तर भाग्यको लेखा या भगवानको लिला गरिबीको थाप्लो माथि जिन्दगीभरका लागि रोग बोकेर राजकुमार नेपाल फर्किन्छन। परिवारको खुसी सुटकेसभरी लिएर फर्किने सपना देखेर विदेश गएका राजकुमार दुःखको भारी बोकेर नेपाल फर्किन्छन अनि आउना साथ अस्पताल भर्ना हुन्छन्। 

मलेसिया जानुअघि नेपालमा र मलेसिया पुगेपछि पनि गरिएको स्वास्थ्य परीक्षणमा राजकुमारको दुवै मिर्गौला राम्रो थियो। 

तर अहिले राजकुमारको दुवै मिर्गौलाले काम गर्दैन। दिन बिराएर राजकुमार डायलासिस गर्छन र एक पल्ट डायलासिस गर्दा औषधि लगायतका नाममा करिब २५ सय तिर्छन। वैदेशिक रोजगारीले उनको जीवन र सम्पत्ति दुवै सकिदैछ। बाच्ने आशमा बसेका राजकुमार अहिले हप्तामा ३ पल्ट डायलासिस गर्छन तर यति गरिसक्दै उनको घरखेत सबै सक्किसक्यो। राजकुमार आफूलाई संसार देखाउने आमालाई खुसी राख्ने सपना देख्दै विदेशिएका थिए। तर आफ्नै अगाडि छोरो बितेको हेर्ने आँट एउटी आमासँग कहाँ हुन्छ र। त्यहिँ पीडाले उनलाई दिन पनि रात जस्तै लाग्छ। छोरोको ज्यान बचाउन राजकुमारकी आमा सबिना माया एउटा मृगौला दिन तयार हुन्छिन्। तर उनको मृगौला प्रत्यारोपण गर्दा राजकुमारसँग मिल्छ मिल्दैन चिकित्सकले केही निर्णय गरिसकेका छैनन्।

राजकुमारकी राजकुमारी (मञ्जु) उनको बिराम चाडो निदान होस् भन्दै हरेक दिन भगवानसँग प्रार्थना गर्छिन। जीवनका हरेक सुख दुःखमा साथ दिने वाचा गरेकी मञ्जु राजकुमारको पीडा त परको कुरा उनको अनुहार देख्दै भक्कानिन्छिन्। ‘कर्मै यस्तो रछ मेरो त’ मञ्जुका गला त्यति बोल्ना साथ अवरुद्ध हुन्छन्, बरर आँसुका धारा खस्छन्।

सरकारी तथ्यांकअनुसार आव २०७४/०७५ मा दुवै मृगौला फेल भएर नेपाल फर्किएका नेपाली ५४ जना छन् जसमध्ये १३ जना मलेसियाबाट फर्किएका हुन्।

भूकम्पले भत्किएको घर ठड्याउँन पाएको ऋण सबै राजकुमारको उपचारमा खर्च भइसक्यो। राजकुमारको रोग निको पार्न उनको उपचार खर्च जुटाउँदै आएका राजकुमारका बाबुले छोराको उपचार गर्न को को संग कति ऋण लिए भन्ने नै बिर्सिसके। ‘पैसा जति सबै यसको (राजकुमार) उपचारमा सकियो, ऋण माथि ऋण लग्यो’, राजकुमारका बुवाले पीडा पोखे।

सुटकेसभरी परिवारलाई खुसी अनि केही सम्पत्ति कमाएर नेपाल फर्किने सपना देख्दै मलेसिया गएका राजकुमारको विदेश यात्रा, डलरको कथाको पहिलो शृंखला भिडियोमा हेर्न सक्नु हुन्छ।

धन कमाउने सपना देखेर विदेशीका धेरै नेपाली रित्तो हात फर्किन्छन। राजकुमार पनि तिनको भिडबाट टाढा हुन सकेनन। तर अधुरो रहेको वैदेशिक रोजगारमा गएर धन कमाउने राजकुमारको सपना भएको सबै सम्पत्ति सकिँदा पनि पुरा होला नहोला निश्चित छैन।

प्रकाशित: १० पुस २०७५ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App