खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मानसिक समस्याबाट पीडित महिलाको उपचार गर्ने जिम्मा लिएको छ। मानसिक समस्या देखिएपछि केही महिना अघिदेखि खोरमा थुनेर राखिएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बासथलाकी ३३ वर्षीया रमिला तामाङलाई गाउँपालिकाको पहलमा उपचारका लागि काठमाडौं पठाइएको छ।
हाल पशुलाई सरह खोरमा राखिएकी तामाङलाई गाउँपालिका प्रमुख भुपेन्द्र राईले मंगलबार खोरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाएका हुन्। तत्काल उनका श्रीमान मनीकुमार तामाङलाई अस्पतालसम्म पुर्याउनका लागि १० हजार प्रदान गरेर उपचारमा पठाइएको गाउँपालिका प्रमुख राईले बताए। गीत गाउने, नाच्ने, मन लाग्दो गर्ने, थालबटुका फाल्ने, खुकुरी बोक्ने, गोरु फुकाइदिने, केटाकेटीलाई लखेट्ने, पिट्ने लगायतका अस्वभाविक क्रियाकलाप देखाइरहेपछि आफन्तले उनलाई खोरमा थुनेर राखेका थिए।
२०७४ साल असार ७ गते टाउको दुखेको बताएकी रमिलामा अस्वभाविक समस्या देखिन थालेको स्थानीयले बताएका छन्। रमिलाको उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकालेनै बेहोर्नेगरी उपचारमा पठाइएको गाउँपालिका प्रमुख राईले बताए। केही समयअघि उपचारका लागि गत मंसिरमा धरानमा लगिएपनि स्वास्थ्य समस्या हल नभएपछि उनलाई घरैमा फर्काइएको आफन्तको भनाई छ।
रमिलालाई पशुलाई सरह खोरमा थुनेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको अवस्थामा गाउँपालिकाले उपचार गर्ने जिम्मा लिएको हो। एक महिला खोरमा पशुसरह थुनिएको लामो समयसम्म पनि जनप्रतिनिधिको आँखा नपुगेको भन्दै सर्वत्र आलोचना भएको थियो। उनका एक छोरी र एक छोरा छन्। आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसकिएको परिवारले बताएका छन्।
प्रकाशित: ३ पुस २०७५ ०९:४५ मंगलबार