७ वैशाख २०८१ शुक्रबार
समाज

निर्मला हत्या प्रकरणको प्रतिवेदन बुझाइयो

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानका लागि प्रहरीका तर्फबाट गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक एआइजी धिरु बस्न्यातले ५ सय ३२ पृष्ठको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएका हुन्। घटना अनुसन्धानमा प्रहरी अधिकारीले गरेको लापरबाही तथा प्रारम्भिक अनुसन्धान प्रतिवेदनको अध्ययनदेखि स्थानीयसँग प्रहरीको भूमिका तथा संभावित सूचनासमेत संकलन गरेर प्रतिवेदन बुझाइएको हो।

प्रहरी अधिकारीको लापारबाही तथा अनुसन्धान समितिले लामो समय प्रतिवेदन नबुझाएको भन्दै आलोचना हुन थालेको थियो।
घटना छानबिनमा विभिन्न टोली खटिइरहँदा फरक–फरक तथ्य बाहिर आउन थालेपछि स्थिति झन् बिग्रन सक्ने आकलन गर्दै समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको थियो। समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा घटना अनुसन्धानका क्रममा प्रहरीले गरेका कमजोरीबारे उल्लेख गरिएको छ। साथै यो प्रकरणबाट प्रहरीप्रति सर्वसाधारणको विश्वास कसरी गुम्दै गएको छ भन्ने पनि प्रतिवेदनमा समेटिएको समिति स्रोतले जनाएको छ।

सोही समितिकै सुझावका आधारमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको थियो। त्यस्तै अनुसन्धानमा खटिएका अन्य प्रहरी अधिकारी पनि निलम्बनमा परेका छन्।
गत साउन १० गते हराएकी कञ्चननपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्त भोलिपल्ट घरबाट करिब दुई किलोमिटर टाढा उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

प्रकाशित: ३ पुस २०७५ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App