११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नुवाकोट दुर्घटना : मृतक १८ जनाकाे सामुहिक अन्त्येष्टि, सिसिपु गाउँ शोकमा

दुर्घटनामा परेकाे मिनिट्रक।

नुवाकोट - आफन्तको मृत्यु पछि गरिने संस्कार (घेवा) मा सहभागी हुन शुक्रवार दुप्चेश्वर गाउँपालिका–१ सिसिपुका स्थानीयहरु सिङटाङ झरेका थिए। घेवाको काम सकाएर गाउँ फर्कन ढिला भइसकेका कारण मिनिट्रकमा जाने याेजना उनीहरुले बनाए।

गाउँको सबै भेट भएका बेला रमाइलो गर्दै उनीहरु यात्रालाई अगाडी बढाइरहेका थिए तर घ्याङडाँडामा पुगेपछि २० जनाको यात्रा सदाको लागि अन्त्य भयो। घटनास्थलमा नै १८ जनाको र उपचारको लागि अस्पताल लैजादै गर्दा एक जनाको र उपचारको क्रममा एक जनाको मृत्यु भयो।

शनिबार दिउँसो मृतकहरुको शव सनाखत गरि पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको थियो। वडा नम्बर ७ का रतेश पण्डितको शव परिवारले जिम्मा लिएर शनिवार नै अन्त्येष्टि गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले बताए।  उपचारको क्रममा काठमाडौँको अस्पतालमा मृत्यु भएका शुकराम तामाङको आइतवार  काठमाडौँमा नै अन्त्येष्टि गरियो। घटनास्थलमा नै ज्यान गुमाएका सिसिपुका १८ जनाको तामाङ संस्कार अनुसार जलाउनु अघि गरिने विधि पूरा गरेर अन्तिम संस्कार गरिएको छ। गाउँलाई नै रित्तो बनाएर एकै पटक १८ जनाको शव जलाउनु पर्दा सिङ्गो सिसिपु गाउँ शोकमा डुबेको छ। मृतकहरुको काजकिरिया गर्नलाई गाउँपालिकाले प्रति मृतक २५ हजार रुपैयाँ दिने निर्णय गरेको अध्यक्ष तामाङले बताए। “जे नहुनु थियो भइसक्यो। शुक्रवारको दुर्घटनाले सिङ्गो गाउँपालिका शोकमा छ। गाउँपालिकाले मृतकहरुको परिवारलाई काजकिरिया गर्न सहज होस् भनेर २५ हजार दिने निर्णय गरेका छौँ,” तामाङले भने, “घाइतेहरुको पनि आर्थिक स्थिति कमजोर छ। कसरी उपचार खर्च जुटाउने भन्नेमा अन्योल छ।”

बा.३ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएर १४ जना घाइते भएका छन्। उनीहरुको काठमाडौँ स्थित विपि. स्मृति प्रतिष्ठान, टिचिङ अस्पताल र अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालम उपचार भइरहेको छ। घाइतेहरुको लागि आवश्यक तत्कालिन खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ भने बाँकी खर्चको लागि प्रदेश सरकार र संघीय सरकारसँग समेत अपेक्षा गरिएको छ। मिनिट्रकका चालक अझै सम्पर्क विहिन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

प्रकाशित: १ पुस २०७५ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App