३ आश्विन २०७७ शनिबार
समाज

सिक्टा सिँचाइको निरीक्षण गर्न अष्ट्रेलियन विज्ञ

घुलनशील माटो अत्यधिक प्रयोग भएको भनिएको ढकेरीस्थित सिक्टा सिँचाइ आयोजनाको पश्चिम मुल नहर। तस्बिर : नागरिक

नेपालगन्ज- बाँकेमा निर्माणाधिन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मुल नहर निरीक्षण गरेर अस्ट्रेलियन विज्ञ टोली फर्किएको छ। पश्चिम मुल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको समस्या समाधानका लागि उक्त टोली मंगलबार निरीक्षण गर्न आएको थियो।

घुलनशील माटोले उत्पन्न गरेको समस्या समाधान गर्दै निर्माण कार्य सफल पार्नमा अस्ट्रेलियाका माटो विज्ञहरु ख्याति प्राप्त मानिन्छन्। अष्ट्रेलियामा घुलनशील माटोको अधिक समस्या देखिँदै आएपनि विकासका योजनामा उत्पन्न हुने त्यस्ता समस्या समाधान गर्ने दक्ष जनशक्ति र प्रविधिक अनुभव रहेको बताइन्छ।

सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मुल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियारले साढे ८ अर्व बराबरको विगोसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिसकेको छ। मुल नहर कमजोर हुनुमा घुलनशील माटो पनि समस्याको एउटा कारक बनेपछि स्थलगत अध्ययनका लागि अष्ट्रेलियन टोली आएको बताइएको छ। सिक्टाको ‘आईसिबी–२’ ठेक्कामार्फत निर्मित १७.७ किलोमिटरदेखी ३५ किमीसम्मको क्षेत्रमा घुलनशील माटो प्रयोग भएको छ।

 उक्त क्षेत्रको बालापुरदेखी ढकेरीको झिझरी खोलासम्मको करिव ५ किलोमिटर क्षेत्रमा घुलनशील माटो बढी मात्रामा प्रयोग भएको आयोजना कार्यालयले बताउँदै आएको छ। घुलनशील माटोले उत्पन्न गरेको समस्या समाधान गर्न विज्ञ टोलीले आयोजना कार्यालयलाई सघाउने अपेक्षा गरिएको छ। दुई सदस्यीय उक्त टोलीले तीन दिनसम्म पश्चिम मुल नहर निर्मित क्षेत्र ढकेरी, बालापुर, ओभरी, शम्शेरगन्ज लगायत क्षेत्र तथा अगैयामा रहेको हेडवर्क्सको स्थलगत निरीक्षण गरेको थियो।

 ‘दुई जना अष्ट्रेलियन विज्ञहरु आएर तीन दिनसम्म पश्चिम मुल नहरको विभिन्न स्थानको निरीक्षण गर्नुभयो,’ आयोजना निर्देशक कृष्ण नेपालले भने ‘स्थलगत निरीक्षणका क्रममा माटोको नमुना पनि संकलन गर्नु भएको छ।’ उनका अनुसार विज्ञ टोली अष्ट्रेलिया फर्केर गएपछि केही समय पश्चात सल्लाह, सुझाव सहित यसको रिपोर्ट दिनेछ। ‘कति समय लाग्छ, त्यो उहाँहरुबाट हुने हो,’ निर्देशक नेपालले थपे। टोलीले स्थलगत अध्ययनसँगै आयोजनाका कर्मचारीसँग कार्यालयमा पनि छलफल गरेको थियो। तर, प्रारम्भिक रुपमा माटोले पारेको समस्याबारे विज्ञ टोलीले प्रारम्भिक रुपमा प्रतिक्रिया भने दिएको छैन।

मुल नहरमा घुलनशिल माटोको समस्या बारम्बार दोहोरिएपछि आयोजना कार्यालयले नै अष्ट्रेलियन विज्ञ टोलीलाई समस्या बताएको थियो। ‘विज्ञ टोली आएर निरीक्षण त गर्नु भयो, तर अहिलेसम्म कुनै प्रतिक्रिया दिनु भएको छैन,’ उनले थपे। आयोजना कार्यालयले अष्ट्रेलियन विज्ञहरुको नाम र संस्था समेत बताएको छैन।

आयोजना कार्यालयले घुलनशील माटोका कारण उत्पन्न समस्याबारे ‘अष्ट्रेलिया–नेपाल कोअपरेसन’ नामक संस्थालाई जानकारी गराएको थियो। उक्त संस्थाकै समन्वयमा विज्ञ टोली नेपाल आएको बताइएको छ। अष्ट्रेलियन विज्ञ टोलीले माटोको समस्या बाहेक अन्य अनियमितताको विषयलाई भने समेट्ने छैन। ‘मुल नहर निर्माणमा घुलनशील माटो प्रयोग भएको र आर्थिक अनियमितता फरक समस्या भएको सुनेर नै टोली नेपाल आउन ईच्छुक भएको हो,’ आयोजना स्रोतले भन्यो।

नहर निर्माणको सुरुकै चरणमा घुलनशील माटोको विषयमा तत्कालिन समयका आयोजना निर्देशक, परामर्शदाता र ठेकेदारलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको स्थानीयको आरोप छ। कर्मचारी, ठेकेदार र परामर्शदाताको मिलेमतोमा कमसल निर्माण हुँदा आयोजनाको पश्चिम मुल नहर कमजोर बन्न पुगेको उनीहरुको ठहर छ।

सिक्टाको कुल ४५.२५० किमी पश्चिम मुल नहर मध्ये ‘सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनी’ ले ४२ किमी निर्माण गरेको हो। सोही कम्पनीले निर्माण गरेको नहरको खण्डमा पटक–पटक भत्किने समस्या दोहोरिएको छ। पहिलो पटक परीक्षण गर्दा २०७३ असार १४ गते ढकेरीस्थित झिझरी खोला छेउमा भत्किएको थियो। त्यसपछि गत साउन ७ गते पनि परीक्षणकै क्रममा ढकेरीस्थित चंगाई नाला नजिक मुल नहर भत्किएपछि अख्तियार र मन्त्रालयको छुट्टा छुट्टै टोलीले छानविन गरेका थिए।

संघीय संसदको एक टोली पनि आएर निरीक्षण गरिसकेको छ। सिक्टा मुल नहर अहिले हेडवर्क्सदेखी १७.७ किमीसम्मको आइसिबी–१ ठेक्का अन्तर्गतको पहिलो खण्ड र १७.७ किमीदेखी ३५ किमीसम्मको आइसिबी–२ ठेक्का अन्तर्गत दोस्रो खण्ड अत्यन्त जीर्ण अवस्थामा पुगेको छ। लामो समयदेखी मुल नहरको मर्मत सम्भारमा बेवास्ता गर्दा बर्षेनी क्षति पुग्दै गएको छ, भने ५० क्युमेक्स क्षमताको नहरमा ४/५ क्युमेक्स पानी छाड्दा नै भत्किने गरेको छ।

सिक्टा सिँचाइका लागि सरकारले हालसम्म करिव १४ अर्व ७० करोड रुपैयाँ लगानी गरिसकेको छ। २०६२/६३ बाट निर्माण सुरु भएको आयोजनाको ४५.२५० किमी पश्चिम (दायाँ) मुल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर तथा साढे ५३ किमी पूर्वी (बायाँ) मुल नहरमार्फत राप्तीपारीको कुल ९ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ। सुरुको लक्ष्य अनुसार झण्डै १२ अर्व रुपैयाँको लागतमा आयोजना सम्पन्न हुने अनुमान थियो। तर, दोस्रो गुरुयोजनामार्फत लागत खर्च र कामको परिमाण बढाएर सरकारले आर्थिक वर्ष २०७६/७७ भित्रमा सिक्टाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिएको छ। आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्व रुपैयाँ नाघ्ने सरकारको अनुमान छ।

अष्ट्रेलियन विज्ञ टोलीले सिक्टामा माटोको समस्यालाई दिर्घकालिन रुपले समाधान गर्न उचित निकास दिनेमा जिल्लास्थित विकाससँग सम्बन्धित सरोकारवालाको अपेक्षा छ। विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले अष्ट्रेलियन विज्ञ टोलीले समस्याको निकासका लागि आवश्यक राय, सुझाव दिएमा सिक्टामा उत्पन्न भएको घुलनशील माटोको समस्या समाधान हुने विश्वास गरे। तर, सिक्टाभित्र मौलाएको भ्रष्टाचारलाई निर्मुल पार्न दोषीलाई कारबाहीको दायरामा ल्याउनै पर्ने उनको सुझाव छ।

 ‘विगतमा स्थानीय वासिन्दाले माटोको समस्याबारे जानकारी गराउँदा पनि हचुवाको भरमा काम गरियो, अब त्यस्तो कार्य नदोहोरियोस्,’ श्रेष्ठले भने ‘विज्ञ टोलीले दिएको सकारात्मक सुझावलाई पनि कदर गरियोस्, ‘तर घुलनशील माटोलाई प्रमुख समस्या देखाएर भ्रष्टाचारीलाई उम्काउने काम चाही नहोस्।’ सिक्टा नहर कमजोर हुनुमा घुलनशील माटोको समस्या मात्र नभएर चरम भ्रष्टाचार र अनियमिता मुख्य कारण भएको उनको जिकिर छ।


 

 

 

 

 

 

प्रकाशित: २८ मंसिर २०७५ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App