२३ श्रावण २०७७ शुक्रबार
समाज

आलु लगाउने चटारो

स्याङ्जा – बर्खे धान भित्र्याएसँगै स्याङ्जाका किसानहरू आलु लगाउन चटारोमा छन्। जिल्लाका वालिङ, चापाकोट, गल्याङ र भिरकोट नगरपालिका तथा आँधीखोला, अर्जुनचौपरी र फेदीखोला गाउँपालिका कृषक तथा सार्वसाधरण आलु लगाउने काममा व्यस्त छन्। जिल्लामा सबैभन्दा बढी उत्पादन हुने क्षेत्र चापाकोट फाँट, जिमुवा फाँट हो।

विशेषगरी चापाकोट फाँट, गल्याङ्को जिमुवा फाँट, पिडीखोला, वालिङको डौँवा, मिर्दी, अर्मादी, बायाँखोला, बयारघारी फाँट लगायतका फाँटहरूमा आलु रोप्ने मेलानै लागेको छ। आलु लगाउन कृषकहरू मात्रै होइन, बजारमा विभिन्न पेशा, व्यावसाय र अन्य सार्वसाधरणहरू व्यस्त छन्।  कृषक सीता थापा भन्छिन्, ‘आलुमा सोचे भन्दा बढी फल पाइन्छ। किनेर खानुभन्दा एक दुई दिनको मेहेनतले आफैंलाई फाइदा हुन्छ।’

यहाँका कृषकहरूले तिन प्रजातिका आलुखेती लगाउने गर्दछन्। विशेषगरी विउ आलु (जनकदेव), खुमलक्ष्मी प्रजातिको आलुको विउ लगाउने पाइएको छ। विउ आलु उत्पादनका लागि गल्याङ नगरपालिका–११ जिमुवा फाँट उपयुक्त मानिन्छ। त्यहाँका कृषकले करिब दुई सय हेक्टर क्षेत्रफलमा आलु खेती गर्दै आएका छन्। विउ आलुमा निर्भर रहेको स्याङ्जा यो वर्षदेखि विउ आलुमा समेत आनुदान पाएका छैनन्। संघिय संरचनामा मुलुक गएपछि जिल्ला कृषि कार्यालय हटेका कारण किसानहरू अनुदान लिनबाट वञ्चित भएको हो। अनुदान मात्र नभई कृषि पेशा र व्यावसायका निम्ति आवश्यक पर्ने प्राविधिक सहयोगमा समेत अन्योलता देखिएको छ।

कृषक रुमलाल कँडेलले भने, ‘देशको नयाँ संरचनासँगै कृषि पेशा र व्यावसायमा अन्यौलतामा सिर्जना भएको छ। सरकारले छिट्टै अन्यौलतमा हटाउने आशा लिएको छ।’ कृषि प्रधान मुलुकमा कृषि सम्बन्धि स्पष्ट नीति–नियम तथा कार्यविधि नभएका कारण कृषकहरु धेरै मारमा परेको उनले गुनासो गरे। ‘देशको समृद्धिको प्रमुख आधार कृषि हो,’ उनले भने, ‘नीति–नियम तथा कार्यविधि स्पष्ट र कृषक पक्षमा बनाउन जरुरी छ।’

जिल्लामा करिब ८ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिदै आएको छ। तर यस वर्ष भने केही घट्न सक्ने अनुमान जिल्ला कृषि ज्ञान केन्द्रले गरेका छन्।

गत वर्ष उक्त क्षेत्र ९ सय ४ मेट्रिक टन आलु उत्पादन भएको तथ्याङ्कले देखाएको कृषि ज्ञान केन्द्रका प्राविधिक मेघराज पौडेलले बताए। बर्षे आलु २० हेक्टर क्षेत्रफल लगाउँदै आएकोमा जसबाट १ सय ८० मात्र मेट्रिकटन आलु उत्पादन भएको पौडेल बताए।

स्याङ्जामा विउ आलुको लागि गल्याङ नगरपालिका–३ र ११ मा गरिँदै आएको छ। तर, यसवर्ष किसानले अनुदान नपाउँदा विउ उत्पादनमा समेत घट्ने आशंका गरिएको छ। विउ उत्पादनका लागि ३५ हेक्टर जमिनमा आलुखेती गरिँदै आएको थियो। विगतका वर्षहरूमा आलुको विउमा ५० प्रतिशत छुट र विषादी औषधी उपलव्ध भएपनि यो वर्षबाट भने किसानले अनुदान नपाएको किसानहरुको गुनासो छ। कृषक श्याम अर्यालले भने,  स्थानीय तह मार्फत किसानलाई अनुदान दिने भनिएपनि अहिले सम्म स्थानीयतहले किसानका लागि कुनै अनुदान पाएका छैनौं।’

आलुको पकेट क्षेत्रको रुपमा कालीगण्डकी, आँधीखोला र फेदीखोला गाँउपालिकालाई लिइन्छ भने नगरपालिकामा वालिङ, भीरकोट, पुतलीबजार, गल्याङ रहेका छन्। आलु नेपालको प्रमुख तरकारी तथा खाद्यान्न बाली हो। एक नगदे बाली पनि। यो बालीलाई छोटो समयमा करिब ९०–१०० दिनमा बाली दिने बालीका रुपमा चिन्छिन्। आलुमा चिस्यान ८० प्रतिशत र सुख्खा पदार्थ २० प्रतिशत हुन्छ। १०० ग्राम आलुमा कार्वोहाइड्रेड ८१.७ ग्राम, क्यालोरी ३ सय ४९ किलो, पानी ७ एम.एल, प्रोटीन ८.५ ग्राम, खनिज पदार्थ ४.१ ग्राम पाइन्छ। आलु विभिन्न रंगमा पाइन्छन्। पोषणको हिसाबले रातो र सेतो आलुमा खासै फरक पर्दैन। संयुक्त राष्ट्रसंघले २००८ लाई आलु वर्षको रुपमा घोषण गरेको थियो।

प्रकाशित: १३ मंसिर २०७५ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App