coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निर्मलाका पिताको उपचार टिचिङकाे सिअाइसियूमा

सिआइसियू वार्डबाहिर पति यज्ञराजलाई कुर्दै निर्मलाकी आमा दुर्गा पन्त (बाँया) । तस्बिर : नागरिक

काठमाडौं – चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त–२ की निर्मला पन्तका पिता यज्ञराज पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। उनमा मानसिक समस्याजस्तो लक्षण देखिएपछि उपचारका लागि राजधानी ल्याइएको थियो।

कोही मानिस देखेपछि कुटपिट गर्न खोज्ने र एकहोरो बोल्ने गरेपछि उनलाई उपचार गर्न स्थानीय अस्पतालले सिफारिस गरेको भाइ ईश्वरदत्त पन्तले बताए। ३८ वर्षीय पन्तको सिआइसियु वार्डमा भर्ना गरी उपचार भइरहेको छ। उपचारपछि केही सुधार देखिएको पत्नी दुर्गा पन्तले बताइन्। चिकित्सकका अनुसार उनलाई अस्पतालको हाडजोर्नी, मेडिसिन र मानसिक रोग विभागले संयुक्त रुपमा उपचार गरिरहेको छ।

अस्पतालका फिजिसियन डा. निरज बमले मेडिकल उपचारको पक्षबाट खास समस्या नभएको बताए। खुट्टामा फ्याक्चर भएकाले हाडजोर्नी विभागले उपचार गरिरहेको डा. बमले बताए। पन्तको उपचारमा संलग्न अस्पतालको मानसिक रोग विभागले मंगलबार उनको निगरानीपूर्ण उपचार गरिरहेको जनाएको छ। ‘एकदुई दिन हेरेपछि यसो भएको हो भन्ने यकिन हुन्छ। अहिले नै मानसिक रोगको निक्र्यौल भएको छैन,’ अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. सरोजप्रसाद वझाले बताए।

उपचारमा संलग्न अर्का मानसिक रोग विशेषज्ञ डा. मनीषा गौचनले सुरुमा प्राथमिक उपचार भइरहेको र अहिलेसम्म खास खतरनाक रोग पहिचान नभएको बताइन्। ‘केही समस्या छन्। अहिले नै केही भन्न सकिन्न,’ डा. गौचनले भनिन्।

पन्तका आफन्तका अनुसार गत भदौमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया छोरी निर्मला पन्तको न्यायको लागि कञ्चनपुरमा कात्तिक २५ गतेदेखि दोस्रो चरणको धर्ना सुरु भएको थियो। दोस्रो चरणको धर्नामा बसेको चारपाँच दिनपछि उनमा समस्या देखिन थालेको थियो।

धर्ना बसेको एक सातापछि उनमा असमान्य व्यवहार देखिन थालेको थियो। केही दिनपछि उनमा डिपे्रसनको संकेत देखिएको थियो। ‘पहिलादेखि नै चिन्ताले खाइसकेको थियो। धर्नामा धेरै मानिस देखेपछि आत्तिन थाल्नु भएको थियो,’ पन्ती दुर्गा पन्तले भनिन्।

सुरुमा उनलाई उपचारका लागि भेरी अञ्चल अस्पताल पुर्याइयो। अस्पतालले रेफर गरेपछि गत शुक्रबार उनलाई जहाजबाट काठमाडौं ल्याउने तयारी गरियो। तर बिमानले ल्याउन नमानेपछि उनलाई सडकमार्गबाट काठमाडौं ल्याइयो। उनलाई शनिबार प्रदेश नम्बर ७ का गृहमन्त्री प्रकाश शाहको स्वकीय सचिवको गाडीमा काठमाडौं ल्याइएको हो। ‘सेती अञ्चल अस्पतालसम्म सुरक्षाकर्मीको सहयोग पुर्यायौं। बाटोमा निदाउने सुई दिएर काठमाडौं ल्याएका हौं,’ यज्ञराजका भाइ ईश्वरदत्त जोशीले बताए। पन्तको हेरचाहको लागि जेठी पत्नी दुर्गा पन्त, भाइ ईश्वरदत्त जोशी र भिनाजु गजाधर भट्ट काठमाडौं आएका छन्। बिरामी कुरुवा अस्पताल नजिकैको होटेलमा बसिरहेका छन्।

पन्तका भाइ ईश्वरराज जोशीले यसअघि दाइलाई कुनै रोग नभएको र धर्नाकै क्रममा भीडभाडले तनाब भएको बताए। ‘अहिले शान्त ठाउँमा भएर होला केही आराम देखिन्छ,’ जोशीले मंगलबार नागरिकसँग भने। अस्पताल पुगेका सञ्चारकर्मीसँग कुरा गर्न भने उनीहरुले दिक्क माने। ‘जति जना आएपनि घटना भएको एक सय ४४ दिन बितिसक्दा पनि अपराधीलाई कारबाही भएन,’ पन्तका भिनाजु गजाधरले भने।

पतिको हेरचाहमा बसेकी दुर्गाले भने कुरा छोरीकै न्यायतिर मोडिन्। उनले भनिन्, ‘यस अघि पनि न्याय खोज्न आएकी थिएँ। प्रधानमन्त्री, आइजिपी, गृहमन्त्री सबैले न्याय दिलाउँछौं भन्नुभएको थियो। अहिलेसम्म पत्ता लगाउनै सक्नुभएन,’ उनले भनिन्, ‘छोरीको हत्यारालाई कारबाही नभएसम्म मलाई शान्ति मिल्दैन। सरकारलाई भनिदिनु होला।’

प्रकाशित: १२ मंसिर २०७५ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App