१६ चैत्र २०८० शुक्रबार
समाज

पोखरामा पक्राउ भारतीय ठग 'पोन्जी' प्रकरणका मास्टरमाइन्ड

काठमाडौं -  जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विदेशी मुद्रा सहित एक भारतीय र एक एक नेपाली महिलालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारतीय विनायककुमार बाबुलाल साह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा थिए। उनीहरुलाई कास्की प्रहरीले लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो।

उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २४ हजार ८ सय ५, भारतीय रुपैयाँ २ हजारको नोट ४३ थान, भारतीय रुपैयाँ ५ सयको ११ थान, भारतीय रुपैयाँ १ सयको ९० थान, अमेरिकन डलर सयको १ सय ९७ थान, अमेरिकी डलर ५० को ५ थान, अमेरिकी डलर २० को २ थान, अमेरिकी डलर १० को एक थान, युरो ५ सयको ४ थान, युरो ५० को ७ थान, इंग्ल्यान्डको पाउन्ड ५ को दुई थान नोट बरामद गरेको थियो। प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर, भारतीय रुपैयाँ, बेलायती पाउन्ड तथा युरो गरी ३१ लाख २८ हजार ७ सय ९ रुपैयाँ (कुल नेपाली रुपैयाँ) बरामद गरेको थियो।

तर उनी विदेशी मुद्रा कारोबारी भन्दा फरक चरित्रको अपराधमा पनि संलग्न भएको खुलेको छ। साह भारतीय प्रहरीको खोजी सूचीमा समेत थिए।

उनी अहमदावादमा भएको एक ठगीमा भारतीय प्रहरीको खोजी सूचीमा समेत थिए। 'पोन्जी' प्रकरणले चिनिएको उक्त ठगीमा साहले २६० करोड भारु ठगेर फरार भएका थिए।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार पोखरामा पक्राउ परेका उनलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको छ।

भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारहरुका अनुसार उनलाई भारतीय सरकारको आग्रहमा पोखराबाट पक्राउ गरिएको हो।

पीटीआइका अनुसार अहमदावादका विभिन्न प्रहरी स्टेसनमा साहका विरुद्ध उजुरी परेपछि उनी दुई हप्तादेखि फरार थिए।

'उनी फरार भएपछि हामीले नेपाल सरकारलाई आग्रह गरेका थियौं। उनी नेपालमा विदेशी रुपैयाँ सहित पक्राउ परेका छन्,' गुजरातका उच्च प्रहरी अधिकारी हरिस डुट्टा ले पीटीलाईसँग भनेका छन्। उनले साहलाई छिट्टै भारत ल्याइने समेत बताएका छन्। नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभए पनि आपसी समझदारीमा अपराधी हस्तान्तरण गरिँदै आएको छ।

प्रहरीको खोजी सूचीमा उनकी श्रमती भार्गवी समेत छन्। उनी उक्त ठगी प्रकरणकी अभियुक्त समेत हुन्।

यस अघि भारतीय प्रहरीले उनको घरबाट ४३ लाख भारतीय रुपैयाँ समेत बरामद गरेको थियो।

साहले अहमदावादमा डिजी लोकल र एलएलपी नामका दुई कम्पनी खडा गरेर ठगी गरेका थिए। उनले त्यहाँ सेयर लगानी गर्नेलाई डबल दिने भन्दै प्रचार गर्दै ठगी गरेका थिए। रकम उठ्ने क्रम उच्च भएपछि उनी फरार भएका थिए।

प्रकाशित: ११ मंसिर २०७५ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App