८ वैशाख २०८१ शनिबार
समाज

निर्मलाका बुवा काठमाडौंमा

धनगढी - असामान्य व्यवहार देखाउन थालेपछि निर्मला पन्तका बुवा यज्ञराजलाई चिकित्सकको सुझावअनुसार उपचारका लागि काठमाडौं लैजान जिल्ला प्रशासन कञ्चनपुरले बुद्ध एयरलाइन्सको जहाजमा चारवटा टिकट लिइदियो। शनिबार साँझ करिब साढे ४ बजे उनलाई लिएर श्रीमती दुर्गादेवीसहितका आफन्त धनगढी विमानस्थल पुगे।

विमानस्थलमा पार्किङ गरेका गाडीलाई लात्ताले हान्न खोज्ने, कराउने, गाली गर्ने र यात्रु प्रतीक्षालयमा बसेका यात्रुलाई पिट्न खोज्नेजस्ता असामान्य व्यवहार देखाउन थालेपछि बुद्धका कर्मचारीले उनलाई जहाजमा लैजान इन्कार गरिदिए। एकजनाका कारण अरु यात्रुलाई पनि समस्या हुने तर्क कर्मचारीको थियो। असामान्य व्यवहार बढेपछि शनिबार साँझ उनलाई करिब १० किलोमिटर दूरीमा रहेको धनगढीस्थित सेती अञ्चल अस्पताल पु-याइयो। आकस्मिक कक्षमा जाँच गर्न आएका चिकित्सकको आला खोसेर अकाशमा घुमाउन थालेपछि उनलाई बल्लतल्ल समालियो। जहाजले नलगेपछि उनलाई एम्बुलेन्सबाट काठमाडौं लैजान खोजियो। एम्बुलेन्स पनि नपाइएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा उनलाई स्कारपिओ जिपमा राखेर शनिबार राति ११ बजेतिर काठमाडौं पठाइयो। पत्नी दुर्गादेवीसहितका आफन्त पनि साथै काठमाडौं लागे। ठाउँठाउँमा गाह्रो भएपछि रोकेर आराम गर्दै लैजानुपरेको भाइ ईश्वर जोशीले बताए। ‘शनिबार हिँडेको आइतबार साँझमात्र काठमाडौं आइपुग्यौं’, उनले टेलिफोनमा भने, ‘काठमाडौं ल्याइपु-याउन हम्मेहम्मे भयो।’

दुर्गादेवीले पनि सम्हाल्नै नसक्ने अवस्था हुँदा पतिलाई उपचारका लागि काठमाडौं पु-याउन निकै सास्ती खेप्नुपरेको बताइन्। पुत्रीवियोगमा रहेकी दुर्गादेवीलाई असामान्य व्यवहार देखाइरहेका पति यज्ञराजको उपचार गराउने कुराले पिर थपेको छ। ‘नियन्त्रण गर्नै नसकिने व्यवहार गर्दा सम्हाल्नै गाह्रो हुन्छ’, उनले भनिन्। महेन्द्रनगरबाट काठमाडौं पु-याउन २५ घण्टा लागेको र बाटोमा धेरै गाह्रो भएको उनले बताइन्। आइतबार साँझ ६ बजेतिर काठमाडौं आइपुगेको उनले टेलिफोनमा बताइन्।

घरमा रहेका १५ वर्षीय छोरी मनिषा र ११ वर्षीया छोरी सरस्वतीको चिन्ता लागेको दुर्गाले बताइन्। ‘यता उहाँ (श्रीमान्) को अवस्था सम्हाल्नै नसकिने भएर कसरी उपचार गर्ने भन्ने छ, उता छोरीहरु एक्लै छन्’, उनले भनिन्। साथीको घरमा पढ्न गएकी छोरीलाई दिउँसै बलात्कार गरेर हत्या गर्नेको अहिलेसम्म पत्ता नलागेकाले घरमा एक्लै रहेका छोरीहरु पनि डराउने उनले बताइन्। ‘तपाईं नै जानुपर्छ भनेकाले उपचारका लागि म नै आउनुप-यो’, उनले भनिन्। यज्ञराजलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ।

बाटोमा असुरक्षा नहोस् भनी दुई प्रहरीलाई सादा पोसाकमा साथै पठाइएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख सुरज केसीले बताए। एकजना स्वास्थ्यकर्मी पनि उनीसँगै गएका छन्। यसअघि पनि मानसिक समस्याको औषधि खाएका यज्ञराजलाई चिसोमा धर्ना बस्दा समस्या देखिएको बुझिएको केसीले बताए।

प्रकाशित: १० मंसिर २०७५ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App