२५ असार २०७७ बिहीबार
समाज

बारीमा शिक्षा

साग र बन्दाको विषयमा अध्ययन गर्दै जनजागृति प्राविमा अध्ययनरत शुभम् फाउन्डेसनका विद्यार्थी। तस्बिर : दमन राई/नागरिक

खोटाङ - मुलुकको शिक्षा पद्धति सैद्धान्तिक मात्र भयो, व्यावहारिक भएन भन्ने टीकाटिप्पणी जताततै सुन्ने गरिन्छ। हुन पनि हो, व्यावहारिक (प्राक्टिकल) शिक्षाको अभ्यास कमै शिक्षण संस्थाले अपनाएको देखिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् (शुभद्रा–मदन) फाउन्डेसनले भने व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ। फाउन्डेसन आफैंमा विद्यालय होइन तर विद्यालयमा अपनाइनुपर्ने शिक्षण पद्धतिको नयाँ प्रयोग यहाँ देख्न र सिक्न सकिन्छ।

विद्यार्थीलाई पाठ रटाउने तर पाठ्याक्रमले खोजेको क्रियाकलापमा संलग्न नगराउने शैक्षिक परिपाटी अन्त्यका लागि २०७० सालमा स्थापित फाउन्डेसनले शिक्षामा नयाँ प्रयोग गरिरहेको छ। शिक्षा छ तर काममुखी छैन, पढेलेखेका धेरै छन् तर हातमा सीप छैन, सर्टिफिकेट छ तर रोजगारी पाइँदैन। यही समस्या समाधान गर्ने उपायको खोजीमा आफूहरू जुटेको फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले बताए। ‘डिग्रीको सर्टिफिकेट प्राप्त गरिसकेपछि एउटा नागरिक हरेक सीप र ज्ञानयुक्त हुनुपर्छ,’ उनले भने, ‘तर अहिलेको शिक्षा प्रणाली प्रमाणपत्र दिलाउने अवस्थामा मात्र छ। ज्ञान दिएको छ तर बुद्धि/विवेक/सीप दिएको छैन। यो प्रणालीमा सुधार ल्याउने जमर्को गरिरहेका छौैं।’

विद्यार्थीलाई गाईबारे सिकाउनु परे गोठमै पु-याइन्छ, बाख्राबारे पढाउनुपरे खोरमा लगिन्छ, धानबारे अध्ययन गराउन खेतमा लगिन्छ, बोटबिरुवाको विषय पढाउँदा बोटबिरुवा भएकै ठाउँमा लगिन्छ।

हरेक विद्यार्थीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यले फाउन्डेसनले कुटोदेखि कम्प्युटर चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउँदै आएको छ। सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षण विधि अपनाएर शैक्षिक अभ्यास गरिरहेको फाउन्डेसनमा पाठ्यपुस्तक अध्ययनसँगै मानवजीवनमा गर्नुपर्ने वा मानवजीवनका लागि आवश्यक सबै काम सिकाउने गरिएको छ। फाउन्डेसन आफैंमा विद्यालय होइन तर विद्यालयमा अपनाइनुपर्ने शिक्षण पद्धतिको नयाँ प्रयोग यहाँ देख्न र सिक्न सकिन्छ। फाउन्डेसनका विद्यार्थीले विद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन्छन् भने फाउन्डेसनबाट व्यावहारिक ज्ञान र सीप। विद्यालयमा लिएको सैद्धान्तिक ज्ञानलाई फाउन्डेसनमा बसेर व्यवहारमा उतार्ने अभ्यास गर्छन्।

फाउन्डेसनमा पुग्दा विद्यार्थी केही न केही सीपमूलक काम सिकिरहेका भेटिन्छन्। विद्यार्थी समूहगत रूपमा बन्दा, काउली, आलु, अकबरे खुर्सानीलगायत खेतीको हेरचाह, तिनमा लाग्ने रोग र उपचार, तिनको अंग्रेजी नाम, वैज्ञानिक नाम, खेती गर्ने समयबारे प्रयोगात्मक अध्ययन गरिरहेका हुन्छन्।

त्यस्तै समूहगत रुपमा गाई, बाख्रा, भैंसी, बंगुर, खरायो, हाँस, कुखुरा, परेवा, लौकाट, टर्कीलगायतको अध्ययन, बगैंचा सजावट, सिलाइकटाइ, कम्प्युटर ल्याब, पुस्तकालय, इन्जिनियरिङ, आरन, पाक कला, सिकर्मी, डकर्मी, कुटानीपिसानी, पर्यटनसम्बन्धी प्रयोगात्मक सीप सिकाइन्छ। प्रत्येक विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै सीपले पूर्ण बनाउन भाषा÷बोली, खाना, बास, वस्त्र, प्रकृति, प्रविधि, स्वास्थ्य, मानविकी/व्यवस्थापन, मनोरञ्जन तथा खेलकुद, सिर्जनात्मक कला र सन्तुलन गरी ११ विधामा प्रयोगात्मक शिक्षा दिने गरिएको फाउन्डेसनका कायकारी निर्देशक राईले बताए। राईले भने, ‘कसरी बाँच्ने भनेर प्रयोगात्मक सीप सिकाउँछौं। आत्मनिर्भर बन्न सीप सिकाउने गरेका छौं।’

फाउन्डेसनका साना कक्षाका विद्यार्थी सैद्धान्तिक ज्ञान लिन नजिकै रहेको जनजागृति आधारभूत प्रावि र मावि तहमाथिका कक्षाका विद्यार्थी सरस्वती मावि दिक्तेलमा भर्ना भएका छन्। त्योभन्दा माथिल्लो तहका विद्यार्थी दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत छन्। तर, उनीहरु विद्यालय र क्याम्पसको बन्द कोठामा मात्र सिमित रहँदैनन्। विद्यार्थीलाई गाईबारे सिकाउनुपरे गोठमै पु-याइन्छ, बाख्राबारे पढाउनुपरे खोरमा लगिन्छ, धानबारे अध्ययन गराउन परे खेतमा लगिन्छ, बोटबिरुवाको विषय पढाउँदा बोटबिरुवा भएकै ठाउँमा लगिन्छ।

‘विद्यालयले कोठाभित्र राखेर सिकाउँछ, फाउन्डेसनले कोठा बाहिर लगेर सिकाउँछ अर्थात् प्रत्यक्ष काम गराएर सिकाउँछौं,’ राईले भने, ‘विद्यालय र फाउन्डेसनबीचको शिक्षणशैलीमा फरक यत्ति हो।’

विद्यार्थीलाई कोरा ज्ञान मात्र नभई व्यावहारिक ज्ञान दिइनुपर्ने मान्यता बोकेको फाउन्डेसनका केही आफ्नै मूल्यमान्उता छन्। विद्यार्थीलाई शिक्षा, सीपलगायत हरेक हिसाबले सक्षम बनाउने, कृषि, पर्यटन, उद्योगलगायतका उत्पादन, बजारीकरण गर्न सिकाउने, मानव अस्तित्वसँग जोडिएको वातावरण शिक्षा फाउन्डेसनका लक्ष्य हुन्। जीवनोपयोगी शिक्षाको अभ्यास गर्दै आएको फाउन्डेसनले २०७२ सालमा नजिकै रहेको जनजागृति आधारभूत विद्यालय जिम्मा लिएर व्यावहारिक शिक्षाको अभ्यासलाई अझ फराकिलो बनाएको छ। विद्यार्थी संख्या घटेपछि खारेजीमा पर्न लागेको विद्यालयलाई फाउन्डेसनले व्यावहारिक शिक्षाको अभ्यासमार्फत पुनः जगाएको छ। खारेजीमा पर्न लागेपछि अभिभावकको आग्रहमा फाउन्डेसनले जनजागृतिलाई शिक्षा सुधारको अभ्यास गर्ने थलोका रूपमा विकास गरेको हो। फाउन्डेसनमा दिसापिसाब र पसिनालाई मलका रूपमा प्रयोग गर्न सिकाइन्छ।

पाठ्यपुस्तकसँगै काममुखी शिक्षालाई जोड दिँदै आएको फाउन्डेसनमा हाल सातवटै प्रदेश तथा हिमाल, पहाड र तराईका ३० जिल्लाका डेढ सय विद्यार्थी छन्। भारत बिहारका विद्यार्थी पनि फाउन्डेसनमा छन्। कृषिविज्ञ मदन राईको लगानीमा २०६१ सालमा स्थापित नाहिमा कृषि स्रोत केन्द्रलाई २०७० सालमा शुभम् फाउन्डेसनमा परिवर्तन गरिएको हो। फाउन्डेसनले निम्न आर्थिक स्तर भएका र ८ देखि १० वर्ष उमेरभित्रका जेहेनदार विद्यार्थीलाई शिक्षा, खाने, बस्नेसहितको सुविधा दिइरहेको छ। ‘संस्कारमा हुर्काऔं र प्रकृतिमा सिकाऔं’ भन्ने नारासाथ विद्यार्थीलाई रुचि र इच्छाअनुसार सिक्ने अवसर दिने गरिएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनमा इलाम, झापा, मोरङ, सिरहा, सर्लाही, उदयपुर, सोलुखुम्बु, महोत्तरी, धादिङ, काठमाडौं, ललितपुर, कास्की, हुम्ला, कालिकोट, बाजुरा, रुकुम, रोल्मा, जुम्ला, सल्यान, सुर्खेत, बाँके, बैतडीलगायतका विद्यार्थी आवासीय छन्। व्यवहारिक शिक्षण विधिकै कारण फाउन्डेसनमा टाढाटाढाबाट विद्यार्थी आउने गरेका हुन्।

फाउन्डेसनले जिम्मा लिएको जनजागृति आधारभूत विद्यालयका विद्यार्थीलाई पनि पाठ्याक्रमले खोजेअनुसर कक्षा कोठाबाहिर लगेर प्रयोगात्मक सिकाइमा सहभागी गराइने प्रधानाध्यापक सविता ढकाल बताउँछिन्।

प्रयोगात्मक शिक्षण विधिको सिको गर्न जिल्ला तथा जिल्लाबाहिरका विद्यालयको टोली आउने गरेको फाउन्डेसनमा जनाएको छ। विभिन्न प्राविधिक शिक्षालयका विद्यार्थी पनि अध्ययनका लागि आउने गरेका छन्।

प्रकाशित: ९ मंसिर २०७५ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App