८ वैशाख २०८१ शनिबार
समाज

गाडी जलाएको आशंकामा विप्लवका २ कार्यकर्ता प्रहरी नियन्त्रणमा

जुम्ला – आइतबार राति जुम्लाको चन्दननाथ नगरपालिकामा पार्किङ गरेको क १ झ १ नम्बरको गाडीमा आगजनी गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय जुम्लाले विप्लव नेतृत्वको नेकपाका २ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

पार्किङ गरेर राखेको गाडीमा आगजनी गराएपछि झण्डै ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २ कार्यकर्तालाई चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी गरेका आशंकामा पक्राउ गरेको प्रहरी नायव निरीक्षक सिताराम रिजालले बताए।

मुगु सोरु गाउँपालिका ६ भामवाडाका रामबहादुर भाम(उदय) र तिला गाउँपालिका १ जुम्लाका लक्ष्मणनाथ योगी(संग्राम) लाई ३५ हजार ६ सय ३५ रुपैयाँ नगद सहित प्रहरीले प्रक्राउ गरेको हो। एकै रातमा चन्दननाथ नगरपालिका आगजनी र गुठिचौर गाउँपालिकामा तोडफोड गरिएको थियो। एकै रातमा दुई वटा स्थानीय तहमा आक्रमण भएपछि जनप्रतिनिधी र कर्मचारी त्रसिद छन्।

जुम्ला प्रहरी प्रमुख रिजालले दुई घटनाको शुक्ष्म अध्ययन भइरहेको जानकारी दिए। उनले भने,“अहिले शंका लागेको आधारमा प्रहरीले खोजीकार्य जारी गरेको छ। नियन्त्रणमा लिएकाहरूको बयान लिने काम भइरहेको छ।”

यता विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिव विर्खबहादुर शाहीले प्रेस विज्ञप्ती जारी गर्दै कार्यकर्ता रिहाइको माग गरेका छन्। उनले दुई वटै स्थानीय तहको आक्रमणमा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन। तर नेकपाका कार्यकर्ताले जुम्लाका स्थानीय तहमा चन्दा असुलिरहेको भन्दै अर्को विरोध भइरहेको छ।

प्रकाशित: ५ मंसिर २०७५ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App