१६ चैत्र २०८० शुक्रबार
समाज

बालयौन दुराचारीका आँखा नेपालमा

काठमाडौं – फ्रान्सेली नागरिक डेनिस म्याथ्यु मिसेल चुपाउ सन् २०१७ अक्टोबर २५ मा पहिलो पटक नेपाल घुम्न आएका थिए । उनी अर्का फ्रान्सेली नागरिक क्रिस्टोपे गुइलियससँग कागेश्वरी मनहरा नगरपालिकास्थित एक स्थानीयको घरमा डेरा लिएर बस्थे । उनीहरु आफ्नो भिसाको म्याद सकिन लागेसँगै स्वदेश फर्किए तर एक वर्षको अन्तरालमा दोस्रो पटक फरक फरक मितिमा फेरि नेपाल भित्रिए।

चुपाउ र गुइलियस नेपाल आउनुको उद्देश्यका बारेमा नेपाल प्रहरी एक वर्षसम्म बेखबर रह्यो । चुपाउ र गुइलियस पर्यटक भिसामा नेपाल आउनुको उद्देश्य यहाँको कला, संस्कृति र मनोरम दृश्य अवलोकनका लागि भने थिएनन् । उनीहरु आफ्नो यौनप्यास मेट्नलाई आउने गरेको तथ्य प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानले देखाएको छ।

कागेश्वरी मनहरा क्षेत्रका विपन्न परिवारका बालकलाई प्रलोभनमा पारेर बालयौन दुराचार गरेको अभियोगमा दुवैजनालाई प्रहरीले गत साउन ६ गते पक्राउ ग¥यो अनि जबर्जस्ती करणी महलको बालयौन दुराचार अपराधअन्तर्गत मुद्दा चलायो । काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी यस घटनामा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । प्रहरीका अनुसार चुपाउ सन् २००४ मा फ्रान्समा बालयौन दुराचारमा सजाय पाएर छुटेका व्यक्ति हुन्।

यस्तै क्यानेडियन नागरिक पिटर डाल्गिसलाई पनि सिआइबीले काभ्रेको मन्डन देउराली नगरपालिकाबाट २०७४ चैत २५ गते बालयौन दुराचार अभियोगमै पक्राउ गरेको थियो । यसरी विदेशी यौन दुराचारीहरु नेपाललाई सहज र सस्तो गन्तव्य ठानेर आउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी संगठित रुपमा यौनदुराचारी नआए पनि पर्यटकको भेषमा केही यौनदुराचारी छिटपुट रुपमा भित्रिएको बताउँछन् । ‘केही यौनदुराचारी पर्यटकको भेषमा भित्रिएको अनुसन्धानका क्रममा भेट्टिएको छ,’ उनले भने, ‘विदेशी पर्यटकले १४ वर्ष मुनिका बालकलाई फुटबल, चक्लेट किनिदिने, स्पोट्र्स जर्सी किनिदिने, पैसा दिने, स्थानीय स्विमिङ पुलमा पौडी खेल्न लैजाने, खाजा र खाना खुवाउने अनि अप्राकृतिक मैथुनमा फसाउने गरेको अनुसन्धानले देखाएको छ ।’ प्रहरीका अनुसार बालयौन दुराचारको अभियोगमा गत वर्ष ९ जना विदेशी पर्यटक पक्राउ परेका छन्।

प्रहरी प्रवक्ता सुवेदीले बालबालिका छिट्टै प्रलोभनमा पर्ने भएकाले यौनदुराचारको सिकार हुने गरेको बताए । ‘यौनदुराचारीले बालबालिकालाई सहजै प्रलोभनमा पार्ने भएकाले उनीहरु जोखिममा परेका हुन्,’ उनले भने, ‘नेपालमा विदेशी यौनदुराचारीबाट धेरै बालक प्रभावित भइरहेका छन् ।’ उनका अनुसार विदेशीले आर्थिक हैसियत कमजोर भएका परिवारका सदस्य, सडकबालक लगायतलाई सहजै प्रलोभनमा पारेर दुराचार गर्दै आएका छन्।

प्रवक्ता सुवेदीले पर्यटकको आवरणमा विदेशी यौन दुराचारी नेपाल प्रवेश गर्ने गरेको बताए । ‘अन्य देशमा भन्दा नेपाल आउन सहज र सस्तो देखिन्छ,’ उनले भने, ‘यहाँ सडक बालबालिका सहजै भेटिने भएकाले पनि अन्तर्राष्ट्रिय यौन दुराचारीको आँखा नेपालमा पर्न गएको हो ।’ यस्तो कार्य नियन्त्रण गर्न प्रहरीले काठमाडौंको ठमेल, पोखरालगायत अन्य पर्यटकीय क्षेत्रमा उच्च सावधानी अपनाएको उनले बताए।

बालकल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक धितालका अनुसार विशेष गरेर सडक बालबालिका, होस्टेल, गुम्बालगायतका स्थानमा रहेका बालिबालिका यौन दुराचारको जोखिममा छन् । अभिभावकले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए।

मस्तिष्कमा गम्भीर चोट
बालमनोविज्ञानका अध्येता नारायणप्रसाद शर्माले अप्राकृतिक मैथुनका घटनाले बालकको मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने बताए । ‘यस्ता घटनाले बालकको कलिलो मस्तिष्कमा गम्भीर प्रकृतिको असर पर्ने गर्छ,’ उनले भने । उनका अनुसार पीडित बालकलाई उचित परामर्श दिएर समाजमा पुनस्र्थापना गर्नुपर्ने हुन्छ । ‘यस्ता खालका घटना सामान्य भनेर कहिल्यै ढाकछोप गर्नुहुँदैन,’ उनले भने, ‘बालयौन दुराचारका घटनाले बालबालिका भित्रभित्रै पिल्सिरहेका हुन्छन् । त्यसैले बालयौन दुराचारका घटना भइहालेमा पीडितलाई न्याय र पीडकलाई दण्ड हुनेगरी कानुनी कारबाहीतर्फ अघि बढ्नुपर्ने हुन्छ।’

प्रकाशित: ५ मंसिर २०७५ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App