१५ चैत्र २०८० बिहीबार
समाज

अभिभावकविहीन सात बालबालिकालाई सहयोग जुट्ने क्रम जारी

खोटाङ – बाबुआमाकै मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङका सात बालबालिकालाई हङकङबाट थप आर्थिक सहयोग प्राप्त भएको छ । स्वर्गीय दम्पति चन्द्र किरात र तलकुमारीका पाँच छोरी र दुई छोरालाई हाल हङकङमा रहेका नयन राईको पहलमा संकलन भएको १ लाख ७७ हजार ४८० रुपैयाँ सहयोग प्राप्त भएको हो।

२०७३ भदौ १९ गते जिल्ला अस्पतालमा अनिच्छुक गर्भपतन गराउने क्रममा आमा तलकुमारीको मृत्यु भएको थियो भने करेन्ट लागेर गत साउन १८ गते बुवा चन्द्रको पनि मृत्यु भएपछि ती सात बालबालिका अभिभावकविहीन भएका हुन् । उनीहरू ४ वर्षदेखि १६ वर्षसम्म उमेरका छन्।

धितुङ घर भएका नयनको पहलमा हङकङबाट प्राप्त सहयोग रकम वडाध्यक्ष पृथीराज राईले ती बालबालिकालाई हस्तान्तरण गरेका थिए । हङकङमा रहेका ३२ नेपालीबाट उक्त सहयोग रकम संकलन गरी पठाइएको नयनले बताए । यसअघि गत कात्तिक २१ गते हङकङमै रहेका दिप्रुङ चुइचुम्मा, याङसोलाटारका विमल राई (किङकङ)ले पनि उनीहरूलाई १ लाख ५ हजार ९ रुपैयाँ सहयोग गरेका थिए।

यस्तै मलेसिया र साउदी अरबमा रहेका नेपालीबाट पनि ती बालबालिकाले २ लाख ३ हजार २७७ रुपैयाँ सहयोग पाइसकेका छन् । नागरिक दैनिकमा कात्तिक २७ गते प्रकाशित समाचारका आधारमा डा. रामचन्द्र भुसालले पनि ५० हजार रुपैयाँ गत कात्तिक २९ गते उपलब्ध गराएका थिए।

हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर राईले आफ्नो पारिश्रमिकबाट २० हजार १ सय २० रुपैयाँ प्रदान गरिसकेकी छन् । यस्तै, जिल्ला समन्वय समिति (खोटाङ)का प्रमुख बबी चामलिङले पनि असोज महिनाको २० दिनको आफ्नो पारिश्रमिक बराबर २० हजार रुपैयाँ सहयोग गरेका थिए । उनीहरूको पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग संकलन अभियान जारी रहेको जनाइएको छ।

प्रकाशित: ५ मंसिर २०७५ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App