२१ असार २०७७ आइतबार
समाज

दशैंतिहारको ऋण तिर्न भारत

डोटी– तीन कट्टा चामल, बाल बच्चालाई लत्ताकपडा, मासु, नुन–तेल र मरमसला। यत्तिमै १५ हजार ऋण पुग्यो। यो दशैँमा अन्य खर्च मिलाएर २० हजार बढी खर्च नाँघ्यो। ‘पोहोरको पनि १५–२० हजार ऋण बाँकी नै थियो। धन्न यसपटक पनि हारगुहार गर्दा साहुले पत्याए’, भारत जाने क्रममा दिपायलमा भेटिएका बोगटान गाउँपालिका–७का बम बहादुर भुलले भने, ‘४०–५० हजार ऋण पुगिहाल्यो। त्यसैले ऋण तिर्न पञ्जाब(भारत) जादैँछु।’ नेपालमा ऋण चुक्ता गर्ने कुनै उपाय नदेखेपछि  भारत जान लागेको बाध्यता उनले सुनाए। ‘पोहोर यतै ज्याला–मजदुरी गरेर घर चलाउला र ऋण पनि तिरौला भन्ने सोचेर बसे। घर त जेनतेन चलाए, ऋण काटिएन्’, उनले थपे। 

दशैँतिहार सकिएसंगै अहिले उनीजस्तै यहाँका यूवाहरु दशैँकै ऋण तिर्न धमाधम भारत गइरहेका छन्। ‘दशैँ निकै खर्चिलो भयो। बालबच्चाहरुलाई बर्षमा एकपल्ट लत्ताकपडा हाल्नैप¥यो, अरुबेला जे भएपनि मिठोमसिनो खानैप¥यो’, भारत जाँदै गरेको अवस्थामा भेटिएका आदर्श गाउँपालिका–४ का नारायण साउँदले भने, ‘ऋण गरेर भएपनि दशैँतिहार मनायौ। त्यही ऋण तिर्न र घरखर्च चलाउन भारत जाँदैछु।’ 

यसरी भारत जाने युवाहरुले यसबर्षको दशैँतिहार बिगतभन्दा महंगो भएको अनुभव सुनाए। ‘यसपाली महंगो भयो। लत्ताकपडा त छुनै नसक्ने भैसकेछ। बाँकी चामल, तेल, मरमसला सबै महंगोमा लिनुप¥यो’, सायल गाउँपालिका–६ का डिल बहादुर पार्कीले भने, ‘पहिलाभन्दा १०–१५ हजार बढी खर्च भयो।’ बढेको कर र महंगीले गर्दा दशैंपनि महंगो भएको हुनसक्ने युवाहरु आँकलन गर्छन्। ‘कर बढ्यो, महंगी बढ्यो भन्ने सुनिन्थ्यो। सायद त्यही भएर दशैँ महंगो भयो होला’, बोगटान गाउँपालिका–७का टेक बहादुर सार्कीले भने। 

सुदूरपश्चिमका जिल्लाका युवाहरुको रोजगारको प्रमूख गन्तब्य भारत हो। यहाँका अधिकांश युवाहरु भारतमा रोजगारी गर्छन्। यसरी युवाहरु भारत आउने–जाने निश्चित सिजन समेत बनेको छ। युवाहरु दशैँतिहार मनाएर कार्तिक–मंसिरमा, खेतीपाती गरेर असार–साउनमा भारत पस्छन भने, दशैँतिहार मनाउन असोज र नयाँवर्ष मनाउन र खेतीपाती गर्न चैत्रको अन्तिममा नेपाल फर्किन्छन्। 

देशमा तीन तहका सरकार बनेसंगै भारततर्फ जाने युवाहरुमा देशमै रोजगारीको अवसर प्राप्त हुने आशा पलाएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘यहाँका यूवाले अब भारतमा चौकीदारी गर्नुनपर्ने’ अभिब्यक्ती दिएपछि युवाहरुमा उत्साह जागेको थियो । त्यो भने अब बिस्तारै हट्दै गएको पाइन्छ। ‘गाउँगाउँमा सिंहदरबार भन्ने सुन्दा आशा थियो। पहिला हामीजस्तै भारतमा चौकीदार रहेका मुख्यमन्त्री नै भएपछि पीडा बुझ्नुहोला र केही गर्नुहोला भन्ने आशा थियो। त्यो आशा अब रहेन्’, भुलले भने।

प्रकाशित: ३० कार्तिक २०७५ १७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App