१५ चैत्र २०८० बिहीबार
समाज

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्रीले तातोपानी कुण्डमा लगाए डुबुल्की

म्याग्दी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीकाे बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्। पत्नी सीता, छोरी गंगा सहित परिवारका सदस्यलाई लिएर दाहाल ताताेपानी पुगेका थिए।

भारत, सिंगापुर थाईल्याण्डका अस्पतालकाे उपचारबाट समेत सन्चो नभएपछि कुण्डमा स्नान र जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटन गर्न दाहाल परिवारसहित म्याग्दी पुगेका हुन्। दाहालसँगै पत्नी नैनकलालाई लिएर आएका गृहमन्त्री रामबहादुर थापा समेत उद्घाटन कार्यक्रम सकिए लगत्तै उनीसँगै एउटै गाडीमा कुण्ड तर्फ हानिए।

बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित विश्वमै विभिन्न रोगको उपचार केन्द्रको रुपमा परिचित कुण्ड सर्वसाधारणजस्तै भिआइपीको पनि उपचार केन्द्र बन्दै गएकाे छ। नेपालका विभिन्न जिल्लाका साथै सार्क र एसियाली राष्ट्रबाट समेत स्नान गर्न विरामीहरु यहाँ अाउने गर्दछन्। कुण्डमा नेपालका ठुला राजनीतिक दलका प्रमुख तथा विभिन्न पदमा रहेका नेता, निजामति सेवाका विशिष्ट कर्मचारी समेत आफ्नो रोग पखाल्न कुण्डमा आउने गरेका छन्।

कुण्डमा हालसम्म नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खलान, नेकपाका नेता हाल रक्षामन्त्री इश्वर पोख्रेल, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नेकपा नेता एवम् हालका  शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, नेकपाका पुराना नेता भरतमोहन अधिकारी,राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे लगाएत राजनीतिक दलका माथिल्लोस्तरका नेताहरु कुण्डमा आएर स्नान गरिसकेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए।

कुनै समय भैंसी आहाल बस्ने ताल जस्तै तातोपानी कुण्ड अहिले हजारौं विरामीको उपचार केन्द्र बनेको छ। म्याग्दी खोलाको किनारमा अवस्थित कुण्ड बर्खाको समयमा खोलाले बगर बनाउने गरेपनि स्थानीयले विहान बेलुकी स्नान गृहको रुपमा प्रयोग गरेको पोखरी अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ। वि.स २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले गरेको संरक्षण तथा प्रचारप्रसारले देशभरबाट विभिन्न रोगबाट ग्रसित २० हजारको हाराहरीमा विरामी तथा १५ हजारभन्दा बढी कुण्डको अवलोकनका लागि अाइसकेका छन्। कुण्डको आम्दानी शिक्षा, स्वास्थ्य, सामाजिक तथा विकास निर्माणमा खर्च गर्ने गरिएको छ। 

 

प्रकाशित: २६ कार्तिक २०७५ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App