५ वैशाख २०८१ बुधबार
समाज

३७ किलो चरेस सहित जनप्रतिनिधि पक्राउ

रुपन्देही - प्रहरीले स्थानीय तहका जनप्रतिनिधि सहित ३ जनालार्इ ३७ किलाे चरेस सहित पक्राउ गरेकाे छ। उनीहरुलार्इ बुटवल उपमहानगरपालिका १३ स्थित बेलबास शान्तिचोकबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अर्घाखाँची पाणिनी गाउँपालिका–५ का निर्वाचित वडा सदस्य  ४० वर्षीय टीक बहादुर रास्कोटी, बागलुङ जिल्ला नसीखोला गाउँपालिका ९ बस्ने ३४ वर्षीय जनक घर्ती र कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्ले बताए।प्रहरीका अनुसार ३७ किलो चरेसको करिब १९ लाख नेपाली रुपैयाँ पर्छ। उक्त परिमाणको लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको र पक्राउ परेका सबै लागुऔषध कारोबारी हुनसक्ने प्रहरीको भनाई छ।

प्रदेश नम्बर ५ को राजधानी बुटवलमा लागूऔषधको समस्या बढ्दै गएपछि प्रहरीले सक्रियता बढाउन थालेको छ। पश्चिम नेपालको औद्योगिक र व्यापारिक केन्द्र बुटवल भारतीय सिमाबाट समेत नजिक भएकाले लागूऔषधको कारोबारीहरु सक्रिय हुने प्रहरीको भनाई छ। 

यसैगरी आईतबार नै बुटवल प्रहरीले ५८ सेट लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । बुटवल ट्राफिक चाेकबाट फेनारगन, नुरफिन र डाइजेपाम सहित पर्वत जलजला गाउँपालिका ३ का २४ बर्षीय रवि कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रलोभनमा धर्म परिवर्तन गराउन खोजेको आरोपमा ४ पक्राउ  
बुटवल उपमहानगरपालिका पदमपुरमा सुकुम्बासी क्षेत्रमा क्रिश्चियन धर्मको प्रचार गर्दै आर्थिक प्रलोभन देखाएको आरोपमा दुई जापनिज र दुई नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय बुटवल रामनगरले धर्म परिवर्तनका नाममा आर्थिक प्रलोभन देखाएर फकाएको स्थानीयकाे उजुरी पछि उनीहरुलार्इ नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका ५ का २५ वर्षीय पुष्पा घिमिरे, बुटवल सुख्खानगरका ३५ बर्षीय तिर्थ माया घले, जापानका ३९ बर्षीय यासुको ओवा र ४४ बर्षीय मनिहिकुला रहेका वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हिमबहादुर केसीले बताए।

 

प्रकाशित: १८ कार्तिक २०७५ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App