८ वैशाख २०८१ शनिबार
समाज

कांग्रेसद्वारा राजमार्ग र बजार बन्द

सर्लाही - जिल्लाको रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा आफ्ना कार्यकर्ताको हत्या एवं घाईते भएको घटनाप्रति सरकार उदासिन भएको भन्दै नेपाली कांग्रेस सर्लाहीले विरोध स्वरुप आइतबार पूर्व–पश्चिम राजमार्ग एवं जिल्ला स्थित सम्पूर्ण बजारहरु बन्द गराएको छ।

घटना भएको ७ दिन तथा पार्टीले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको ५ दिन हुँदा समेत सरकारले आफ्ना मागप्रति वेवास्ता गरेकाले पार्टीद्वारा पूर्वघोषित कार्यक्रम अन्तर्गत आईतबार पूर्व–पश्चिम राजमार्ग एवं जिल्ला स्थित बजारहरु बन्द गरिएको कांग्रेस सर्लाही सभापति नागेन्द्रकुमार रायले जानकारी दिए।

कांग्रेस नेताकार्यकर्ताले बिहान ११ बजेदेखि १ घण्टा नवलपुर स्थितपूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्ग चक्काजामका कारण दर्जनौं सवारी साधन रोकिएकाथिएभने सयौं यात्रु अलपत्र परेका थिए। त्यस्तै आन्दोलनकै कार्यक्रम अन्तर्गत जिल्ला स्थित २० वटै स्थानीय तहका बजारहरु आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बन्द गरिएको कांग्रेसले जनाएको छ। सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका बजारहरु एवं हरिवन सहित उत्तरी क्षेत्रका मुख्य बजारहरु बिहानैदेखि बन्द गरिएको नेपाली कांग्रेसबाट निर्वाचित क्षेत्र नं. ४ का संघीय सांसद् डा. अमरेशकुमार सिंहले जानकारी दिए।

गत सोमबार घरबाट कार्यालय जाँदै गर्दा बाटोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको समूहले मरणासन्न हुनेगरी गरेकाे कुटपीटबाट रामनगर गाउँपालिका–४ का वडाअध्यक्ष रामनरेश महतो गम्भिर घाइते भएको कांग्रेसले दाबी गर्दै आएको छ। त्यसको भोलिपल्ट मंगलबार नेकपाकै कार्यकर्ताको समूहले गाउँमै आक्रमण गरी वडाअध्यक्ष रामनरेशका काका रामविलास महतोको गोली हानी हत्या गरेको एवं बन्दुकको छर्रा लागेर ७ जना घाइते भएको कांग्रेसको दाबी छ।

कांग्रेसले मृतकलाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत प्रदान गर्नुपर्ने, आक्रमणमा संलग्न दोषिलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने र अवैध हतियार नियन्त्रण गर्नुपर्ने लगायत माग सहित गत बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापत्र पत्र पठाएको थियो। 

पाँचदिनदेखि शव अस्पतालमै
गोलीलागि मृत्यु भएका ५५ वर्षीय रामविलास महतोको शव ६ दिनदेखि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालको शवगृहमै रहेको छ। पार्टीले अघी सारेका माग पूरा नभएसम्म शव अस्पतालबाट नउठाइने कांग्रेस सर्लाहीले जनाएको छ।

 

प्रकाशित: १८ कार्तिक २०७५ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App