८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुलीका  ११ हजार परिवार नयाँ घरमा

सिन्धुली- भूकम्प गएको ३ बर्ष बढी वितिसक्दा पनि सिन्धुलीमा भने पुनर्निर्माणले प्रभावकारी रुपमा गति लिन सकेको छैन।

हालसम्म जिल्लामा ३० प्रतिशतले मात्रै नयाँ घर निर्माण कार्य सम्पन्न गरि आवास अनुदान बापतको रकम ३० प्रतिशित भूकम्प पीडितले मात्रै लिएका छन्। भूकम्पले घरबारविहीन बनाएको ४३ महिनामा जिल्लाका ३० प्रतिशतले मात्रै आवास अनुदानको अन्तिम किस्ता बापतको रकम लिएका हुन्। ३९ हजार आठ सय ४१ लाभग्राहीमध्ये ११ हजार दुई सय १८ लाभग्राहीले मात्र हालसम्म तेस्रो  किस्ता वापतको रकम लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका  अमरबहादुर भुजेलले बताए।

लाभग्राहीको सूचीमा परेकामध्ये अझै २८ हजार ६ सय २३ जनाले निजी आवास निर्माण गर्न बाँकी रहेको पाइएको छ। यस्तै आवास अनुदानको  दोस्रो किस्ता बापत २४ हजार आठ सय २४ जनाले अनुदान रकम लिएका छन्। तर अनुदान लिएका भएपनि जगसम्मको मात्रै काम भएको र निर्माण सम्पन्न हुनका लागि समय लाग्ने कार्यालयले जनाएको छ। जिल्लाको साविकका २५ गाविसलाई भूकम्पबाट अतिप्रभावितको लिष्टमा राखिएको थियो। तर राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिन्धुलीका साविकका अधिकांश गाविसमा भूकम्पबाट क्षति भएको भन्दै आवास अनुदानको सूचिमा सुचिकृत गरेपछि पहाडी क्षेत्रमा धमाधम घरहरु बनेपनि कमलाखुज तथा मरिण क्षेत्रमा अझै पुननिर्माण कार्यले गति लिन नसकेको स्थानीय बताउँछन्। 

सिन्धुलीमा पहिलो चरणमा ३४ हजार दुई सय ७९ लाभग्राही अनुदान सूचीमा परेका थिए। तर भूकम्पको लाभग्राही सूचीमा नपरेका  २८ हजार ६ सय २६ जनाले लाभग्राही सूचीमा आफुहरु पनि पर्नुपर्ने भन्दै गुनासो दर्ता गरे। गुनासो फस्र्यौट भई आएका मध्ये पाँच हजार पाँच सय ७२ जनाको लाभग्राही सूचीमा नाम समावेश भएको छ। गुनासोबाट पाँच हजार पाँच सय ७२ र पहिलेका ३४ हजार दुई सय ७९ लाभग्राही गरी कूल ३९ हजार आठ सय ४१ लाभग्राहीले अनुदान रकम पाउने भएका भुजेलले बताए।  पुननिर्माणका लागि स्थानीयलाई पनि ठूलै झन्झट छ ।  स्थानीय तहको वडा कार्यलयमा कार्यरत इन्जिनियरहरुको सिफारिस, शहरी विकास तथा भवन डिभिजन कार्यालय त्यसपछि जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय हुँदै कोष तथा लेखा नियन्त्रण कार्यालय र पुन जिल्ला आयोजना कार्यान्वयन इकाईमा फाइल तथा चेक आएर बैंकमा जानुपर्ने भएकाले पनि झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने भूकम्प पीडितलाई समस्या छ। 

प्रकाशित: १५ कार्तिक २०७५ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App