२६ असार २०७७ शुक्रबार
समाज

कब्जा गरेर निर्माण गरिएका घरटहरा स्थानीयले हटाए

टीकापुर – भूमिहिन सुकुम्बासीले जग्गा कब्जा गरेर निर्माण गरेका घरटहरा स्थानीयले हटाइदिएका छन्। आफूलाई भूमिहिन सुकुम्बासी बताउने व्यक्तिहरुले टीकापुर नगरपालिका–९, खक्रौलास्थित गोविन्दप्रसाद श्रेष्ठको जग्गा कब्जा गरेर घरटहरा निर्माण गरेका थिए।

स्थानीयले अर्काको जग्गा कब्जा गर्न नमिल्ने भन्दै उनीहरुका घरटहरामा आगो समेत लगाई दिएका छन्। प्रहरी घटनास्थल पुग्नु भन्दा पहिले नै स्थानीले जग्गा कब्जा गरेर बसेकाहरूलाई भगाइसकेका थिए। पहाडी जिल्लाबाट झरेको बताउने व्यक्तिहरुले श्रेष्ठको करिव साढे ६ विगाह जग्गा कब्जा गरेर रातारात १४६ घरटहरा निर्माण गरेका थिए।

उनीहरूले जग्गा वितरण भइरहेको हल्ला फैलिएपछि आएको बताएका छन्। बाजुराको खापर गाउँपालिका–१, स्वामिकार्तिकका विमल विकले आफन्तले जग्गा वितरण भइरहेको भन्दै बोलाएको बताए। उनले तीन दिनको यात्रा गरेर टीकापुर पुगेको बताए।

पहाडी जिल्लाहरुमा टीकापुर नगरपालिकामा भूमिहिन सुकुम्बासीहरुका लागि जग्गा वितरण भइरहेको हल्ला फैलिएको छ। यस्तो हल्ला टीकापुर नगरपालिका–१ मा जग्गा कब्जा गरेर बसेकाहरुले नै फैलाएको पहाडबाट झरेकाहरूले बताएका छन्।

जग्गा पाउने भएपछि पहाडमा दुःख गरेर बस्नु भन्दा तराई झर्न उचित ठानेर आएको कालिकोटको पलाता गाउँपालिका–२ धौलागोहका धन विकले बताए। जग्गा कब्जा गर्नेमा सबैभन्दा धेरै कालिकोटका छन्। उनीहरु बालबालिका बोकेर टीकापुर पुगेका छन्।

स्थानीयले एकजना सत्ता पक्षकै नेताले उनीहरुलाई जग्गा कब्जा गर्न उक्साएको आरोप लगाएका छन्। जग्गा कब्जा गर्ने कार्यको नेतृत्व गरेका जयश्वर सार्कीले ती नेतालाई टेलिफोनमा घटनाको जानकारी गराउने क्रममा उनकाे पहिचान खुलेकाे एक स्थानीयले नाम नभन्ने सर्तमा जानकारी दिए।

श्रेष्ठको जग्गा माओवादी द्वन्द्वकालमासमेत विद्रोही पक्षबाट लामो समयसम्म कब्जा गरिएको थियो। माओवादीले घरजग्गा कब्जा गरेपछि श्रेष्ठ परिवार विस्थापित भएको थियो। श्रेष्ठ परिवार अहिले काठमाडौं बस्दै आएको छ।

प्रकाशित: १५ कार्तिक २०७५ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App