७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौं–पोखरामा डेंगुको प्रकोप

काठमाडौं - विगतका वर्षमा तराईका जिल्लामा सिमित डेंगु पहाडी जिल्लामा पनि प्रकोपका रुपमा फैलिन थालेको छ।

राष्ट्रिय इपिडियोमोलोजी तथा महामारी नियन्त्रण महाशाखाले जनाएअनुसार डेंगुले ग्रसित बनेपछि कतिपय बिरामी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका चिकित्सकले जनाएका छन् ।

चिकित्सकका अनुसार ‘एडिस एजिप्टाई’ नामक प्रजातिको लामखुट्टेले टोकेमा डेंगु सर्छ । जमेको पानीमा फैलिने यो प्रजातिको लामखुट्टे नेपालमा गमलाको पानी, गाडीको टायर, खुला भाँडामा फैलिने गरेको छ।

संक्रमित लामखुट्टेले टोकेको पाँचदेखि दशदिनभित्र संक्रमणका लक्षण देखिन्छन् । संक्रमित लामखुट्टेले एउटै व्यक्तिलाई दुईपटक टोकेको खण्डमा रोग जटिल रुपमा शरीरमा फैलिन्छ । अन्य लामखुट्टेको विपरीत यो लामखुट्टे बिहान र दिउँसो सक्रिय हुन्छ।

महाशाखाले जनाए अनुसार आइतबारसम्म संकलित तथ्याकंअनुसार पोखरामा ३८, काठमाडौंमा आठ र हेटौंडामा १२ जनामा डेंगु भइसकेको छ।

पोखराका विभिन्न स्थानमा डेंगु फैलिएको र बालाजु क्षेत्रको काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर १५ र १६ मा फैलिएको छ । असोजको पहिलो सातादेखि फैलिएको डेंगुको प्रभाव देशका अन्य भागमा पनि फैलिरहेको महाशाखाले जनाएको छ । हालसम्म देशभरमा ९३ जनामा डेंगु फैलिसकेको छ।

विश्व तापमानमा आएको परिवर्तनसँगै विगतमा तराईका जिल्लामा सिमित डेंगु हालका वर्ष पहाडी तथा हिमाली जिल्लामा पनि फैलिन थालेको राष्ट्रिय इपिडियामोलोजी तथा महामारी रोग व्यवस्थापन महाशाखाका प्रमुख डा. प्रकाशप्रसाद शाहले बताए । ‘पहाडी जिल्लाको तापक्रम यी लामखुट्टेको लागि अनुकूल बनेकाले पहाडी क्षेत्रमा पनि डेंगुको संक्रमण फैलिएको हो,’ उनले भने।

सबै जिल्लातिर डेंगुु फैलिएपछि सरकारले स्थानीय तहमा समेत डेंगु परीक्षण किट वितरण गरेको र केही अस्पतालहरुमा डेंगु किट खरिद गर्ने बजेट बिनियोजन गरिसकेको महाशाखाका प्रमुख डा. शाहले बताए । पहाडी सहरहरुमा डेंगु फैलिनुले ती स्थानमा डेंगु नियन्त्रण गर्र्नु चुनौतीपूर्ण रहेको डा. शाहले बताए।

प्रमुख शाहका अनुसार डेंगु नियन्त्रणका लागि ‘एडिस’ लामखुट्टेलाई किट छर्केर नष्ट गर्नु चुनौतीपूर्ण भएकाले डेंगु सजिलै नियन्त्रण हुन नसक्ने स्थिति छ । ‘काठमाडौं सहर ठूलो छ । कहाँ कहाँ यो लामखुट्टे फैलिएको छ । पत्ता लगाउनै कठीन छ । लामखुट्टे नष्ट नभए सबै जोखिममा पर्छन्,’ उनले भने।

डेंगु हुँदा ज्वरो आउने, शरीर दुख्ने, रातो–नीलो धब्बा देखिने, आँखा रातो हुने, आन्तरिक रक्तश्राव हुने, वान्ता हुनेलगायतका लक्षण देखिन्छन् । संक्रमित लामखुट्टेले एउटै व्यक्तिलाई दुई पटक टोकेमा बिरामी जटिल बन्छन् । समयमै उपचार नभएमा अत्यधिक रक्तश्रावका कारण बिरामीको मृत्यु हुनसक्छ।

यी बाहेक शरीरमा जलवियोजन हुने तथा अन्य दीर्घरोगी देखिने, शरीरको प्रतिरक्षा क्षमता कम पनि हुन सक्छ । शरीरमा प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिमा डेंगु भए पनि ज्वरो आउँदैन । यो रोगको औषधि नभएकाले यसका लागि लक्षण अनुसारका सहायक उपचार गर्नुपर्ने हुन्छ।

डेंगुको कुनै पनि लक्षण देखिएमा बिरामीले चिकित्सकको सल्लाहमा मात्र उपचार गर्नु पर्छ । प्रशस्त झोल कुरा खाने र पानी पिउनुपर्ने चिकित्सकको सुझाव छ।

लक्षण
– शरीर दुख्ने
– कडा ज्वरो आउने (कसैलाई आउँदैन)
– शरीरमा रातो र नीलो दाग देखिने
– वान्ता हुने
– आन्तरिक रक्तश्राव हुने
– शरीरमा पानीको मात्रा कम हुने

प्रकाशित: १३ कार्तिक २०७५ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App