७ वैशाख २०८१ शुक्रबार
समाज

विपद्का बेला बस्ने घर

माडीको नयाँ रतनी गाउँमा निर्माणाधीन ‘सेल्टर’ भवन। तस्बिरः सविता/नागरिक

चितवन - चारैतिरबाट जंगलले घेरेका कारण माडीमा वन्यजन्तुले आक्रमण गर्ने जोखिम धेरै छ । वनसँग जोडिएका बस्तीमा वन्यजन्तु पसेर क्षति गर्ने गर्छन्।

उसो त वन्यजन्तुको त्रास हटाउने काम गरेर मात्र माडी क्षेत्रका बस्ती सुरक्षित बन्न सक्दैन । माडीमा खोला पनि धेरै छन् । त्यसलै यहाँ बाढीको जोखिम पनि उत्तिकै छ।

माडी नगरपालिका वडा नम्बर ३, धोबाहास्थित नयाँ रतनी बस्ती रिउ, मगुई र रौतनी खोला बीचमा पर्छ । यसैकारण यो गाउँ बाढीको ज्यादै जोखिममा रहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बघौडा उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतो बताउँछन्।

बाढी तथा जंगली जनावरको जोखिममा रहेका स्थानीय बासिन्दालाई विपद्का बेला बस्नका लागि माडी नगरपालिकाको नयाँ रतीनमा उक्त घर निर्माण गरिएको हो।

खोलामा सानो बाढी आउँदा पनि पस्ने जोखिम भएको ठाउँ हो यो । ‘बर्खामा खोलाको भेल पसेर बस्ती डुबानमा पर्ने र खाद्यान्न तथा पशुचौपाया क्षति हुने गरेको छ,’ उनले भने, ‘गएको आर्थिक वर्षमा पनि यो बस्ती डुबानमा परेको थियो ।’ त्यसबेला नयाँ रतनीका २० परिवार मध्यवर्ती क्षेत्रको कार्यालय, रेडक्रस भवन लगायतका स्थानमा बसेका थिए । बाढीले घरमा क्षति पु-याएका १२ परिवार त एक महिनासम्म बस्नुपरेको थियो।

बाढीको जोखिममा रहेका स्कुल पनि स्थानान्तरण गरियो । त्यही घटनादेखि नै दीर्घकालीन रूपमा प्रयोग हुने एउटा सुरक्षित घर ‘सेल्टर’ बनाउनुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखिएको अध्यक्ष महतो बताउँछन्।

‘घरमा क्षति पुगे पनि मानिसले आफ्नो ज्यान जोगाउन सक्छन्,’ उनले भने, ‘मानव जीवन रक्षाका लागि के गर्न सकिन्छ भनेर सरोकारवालासँग छलफल गर्दा भवन बनाउने निष्कर्षमा पुग्यौं।’

सोही छलफलअनुसार अहिले नयाँ रतनीमा ‘सेल्टर’ निर्माण गरिएको उनले जानकारी दिए । उक्त भवन निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । नयाँ रतनीमा २४ घरधुरी छन् । नयाँ रतनीसँग जोडिएका बस्तीका समेत गरी २३० घरधुरीलाई लक्षित गरेर भवन बनाइएको उनले जानकारी दिए।

यस क्षेत्रका बस्तीमा वन्यजन्तु पसेर घर, गोठसमेत क्षति गर्ने गरेका छन् । त्यस्तो बेला पनि आश्रय लिन यो भवनलाई प्रयोग गर्न सकिने चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बघौडा उपभोक्ता समितिका अध्यक्ष महतोले बताए।

बस्ने घर नहुँदा कम्तिमा ८/१० दिन बस्न पाए पनि त्यो समयमा घर बनाउने तथा मर्मत गर्ने चाँजोपाँचो मिलाउन सकिने उनी बताउँछन्।

‘नत्र बस्ने ठाउँ पनि हुँदैन, बनाउने रकम पनि हुँदैन,’ उनी भन्छन्, ‘वन्यजन्तुबाट भएको क्षतिको राहत तत्काल पाइँदैन । समस्या हुन्छ ।’ हिंस्रक जनावर आइपुग्दा पनि भागेर बस्नका लागि समेत यो घर उपयोगी हुने उनले बताए।

यस्तै आगलागी लगायतका विपद् पर्दा पनि यो भवनमा आश्रय लिन सकिने छ । सामाजिक क्रियाकलाप गर्नुपर्दा प्रयोग गर्ने गरी यो भवन बनाइएको हो।

विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) को ५० लाख रुपैयाँ सहयोग र मध्यवर्ती उपभोक्ता समितिको सात लाख रुपैयाँको लागतमा यो भवन निर्माण भइरहेको हो । सहज रूपमा २ सय ५० जनासम्म बस्न सकिने यो भवनमा विपद्का बेला पाँच सय जनासम्म राख्न सकिने अध्यक्ष महतोले जानकारी दिए । जमिन सतहभन्दा पाँच फिट अग्लो जग उठाएर भवन बनाइएकाले तल्लो तलामा समेत बाढीबाट डुबान नहुने उनको भनाइ छ।

डब्लुडब्लुएफको तराई भू–परिधि कार्यक्रमका जिल्ला अधिकृत प्रेम पौडेलका अनुसार भवनमा विपद्का बेला प्रयोग गरिने आपतकालीन सामग्री पनि राखिने छन् । लाइफ ज्याकेट, फ्लोटिङ ट्युब, उद्धार सामग्रीका साथै प्राथमिक औषधोपचारको व्यवस्था पनि भवनमा रहने छ। यस्ता आपतकालीन सामग्री खरिदका लागि ७ लाख ५० हजार रुपैयाँको प्रदान गरिएको पौडेलले जानकारी दिए।

प्रकाशित: ११ कार्तिक २०७५ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App