७ वैशाख २०८१ शुक्रबार
समाज

खच्चडको घन्टी बज्ने सडकमा बाइकका हर्न बज्न थाले

डोल्पा – भैरहवा लिबैयाका २५ वर्षीय रोहित शाहीलाई डोल्पा पुगेर नेपालकै गहिरो ताल फोक्सुण्डो हेर्ने वर्षौदेखिको रहर हो। उनलाई आफ्नो रहर पूरा होला भन्ने लागेको थिएन। तर, अहिले रहर पूरा भएको छ।

दुर्गमता र भोगोलिक बिकटताले सडक यातायातको अभावमा डोल्पा पुगेर फोक्सुण्डो हेर्ने भैरहवा लिबैयाका रोहित शाहीको सपना सपनामै सिमित भएको थियो।

टेलिभिजन र छापा माधयममा फोक्सुण्डोको अलौकिक प्राकृतिक सुन्दरताको महिमा र फोक्सुण्डो पुगे पछिको प्राप्त हुने आनन्दको बारे हेर्ने र पढ्ने अवसर पाएका शाहीलाई कहिले फोक्सुण्डो पुगौला र प्राकृतिक आनन्दको स्वादपान गरौला भन्ने लागि रहन्थ्यो।

तर उनी मंगलबार आफुसहित एक दर्जन साथीहरुको साथमा  डोल्पा पुगे। फोक्सुण्डो हेर्ने र डोल्पाबारे जान्ने र बुझ्ने अवसर पाए। वर्षौदेखिको डोल्पा नियाल्ने र फोक्सुण्डोको प्राकृतिक मनोरम दृश्यमा रमाउने आफ्नो सपना यथार्थमा साकार भएकोमा उनले खुशी ब्यक्त गरे।

उनले भने मेरो धेरै पहिलेदेखि डोल्पा आउने इच्छा थियो, तर सडक यातायातको असुबिधाले गर्दा आउन सकेको थिइन। उनले भने, ‘अहिले बाटो बनेकाले घरदेखिनै मोटसाइकलमै डोल्पा पुगे मलाई स्वर्गमै पुगे जस्तो भान भयो।’

डोल्पा बुझ्न, हेर्न र यहाँ रहेका पर्यटकीय स्थलहरुको अवलोकन गर्न पछिल्लो समय आन्तरिक पर्यटकहरु आउने क्रम सुरु भएको छ ।

भैरहवा लिबैयाकै बिशाल शाही पनि पाँच दिन लगाएर मोटरसाइकलमै फोक्सुण्डो हेर्न डोल्पा पुगेका छन्। यत्तिखेर डोल्पामा रहेका प्राकृतिक सम्पदाले महत्वपूर्ण मानिएका पर्यटकीय स्थलहरुको अवलोकन गर्न भैरहवा, दाङ्ग, नेपालगन्ज सुर्खेत काठमाडौं लगायतका स्थानहरुबाट मोटरसाइकलमै आन्तरिक पर्यटकहरु डोल्पा आउने गरेका छन्।

डोल्पाको श्री बालात्रिपुरासुन्दरी भगवतीको मन्दिर, फोक्सुण्डो ताल, शे गुम्बा, जगदुला ताल, विश्वकै उच्च मानवबस्ती धो ताक्सी उपत्यका लगायतका पर्यटकीय स्थलहरु बिदेशी तथा स्वदेशी पर्यटकहरुको लागि आर्कषणको  केन्द्र बन्दै आएका  छन्।

बाटो बन्नु भन्दा पहिले हवाई मार्गबाट महँगो भाडा तिरेर बिदेशी पाउना र थोरै मात्र स्वदेशी पर्यटकहरु आउने गरेकोमा पछिल्लो समय बाटो बनेर यातायातका हलुका सवारी साधन चल्न थालेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको छ।

सडकले बदलीदै गरेको डोल्पा
सडक सन्जालमा जोडिएसँगै पछिल्लो समय यहाँको जीवनशैली पनि बदलीदै जान थालेको छ। ०६७ सालमा जाजरकोटको पासागाडबाट निमार्ण थालनी गरिएको जाजरकोट–डोल्पा सडककोे कच्ची ट्रयाक सदरमुकाम दूनैसम्म नै खोलिएपछि दिनप्रतिदिन डोल्पामा भित्रर्दै गरेका सवारी साधनहरुको कारण डोल्पा बिस्तारै बदलीदै गइरहेको हो।

जाजरकोट–डोल्पाको कुललम्बाई ११७.७ किमि रहेको सडक खण्डको ट्रयाक खोल्ने कार्य पुरा भएसँगै डोल्पा आउने आन्तरिक पर्यटक र दैनिक भित्रदै गरेका साना सवारी साधनहरुको कारण डोल्पाले बिस्तारै काँचुली फेर्दै गरेको स्थानीय बौधसिँ कठायत बताउँछन्।

तीनचार महिना अघिसम्म मान्छे हिड्नै मुश्किल पर्ने साँघुरो बाटोलाई चौडा गाडी गुड्ने बनाइए पछि कुनै बेला हप्तौ हिडेर नेपालगन्ज पुग्नु पर्ने बाध्यताबाट डोल्पालीले छुटकरा पाएको र आजभोली घरबाट हिडेको दुई दिनमै गन्तब्यसम्म पुगिने गरेको कठायतले बताए।

डोल्पासम्म नै बाटो खुलिसकेकाले अब खच्चडको भरपर्नु पर्ने छैन, सयौ खच्चडले ल्याउने सामान एउटै ट्रयाक्टरले थोरै खर्चमा कम समयमा सजिलै भनेको ठाउँमा पु-याउँछ। ‘अब डोल्पालीका दुःखका दिन गएँ सुखका दिन आउन थालेका छन्’, त्रिपुरासुन्दरी नगरपालिका १ का गोकर्ण कठायतले भने, ‘थाप्लोको भरमा बाँचेका हामी डोल्पालीहरुको लागि बाटो बन्नु निकै खुशीको कुरा हो।’

यत्तिखेर सडक पुगेर दैनिक उपभोग्य सामाग्रीहरुको सहज आपुर्ति हुनथालेपछि व्यापारीहरुको एकाधिकार पनि बिस्तारै हट्दै गएको छ। ढुवानीको असहजता देखाउँदै दैनिक उपभोग्य सामानमा चौगुणा मूल्य असुल्दै आएका व्यापारीले सामानको मूल्य पनि घटाउँदै जान थालेको स्थानीय देबप्रसाद देबकोटाले बताए।

सडकमा बज्न थाले मोटरसाईकलका हर्न
त्रिपुरासुन्दरी नगरपालिका–१ कोट बगरका ४९ वर्षीय भक्तसिँ कठायतको घर आगनमै हर्न बजाउँदै आएका एक दर्जन मोटरसाइकल एकसाथ रोकिए। आफ्नो आगनमा रोकिएका मोटरसाइकल देखेर कठायतले खुशी हुँदै सोधे अब डोल्पामा बाइकबाटै यात्रा सुरु भयो है।

सडक नपुगुन्जेलसम्म डोल्पाका गोरेटो बाटोमा रातदिन खच्चडका घन्टीहरुले गुन्जायमान हुने डोल्पामा आजभोली मोटरसाइकलका हर्नले गुन्जायमान हुन थालेको छ। डोल्पासम्मको सडकको पूर्ण ट्रयाक खुलेको एक महिना नबित्दै कार्तिकको पहिलो साताबाट तीन दर्जन भन्दा बढी मोटरसाइकल भित्रिएका छन्।

सडक नभएकै कारण पहिले देखिको फोक्सुण्डो हेर्ने आफ्नो अपुरो इच्छा यो पटक बाइकबाटै डोल्पा पुगेर पुरा भएको सुर्खेतका उज्जवल थापाले बताए। त्रिदेशीय महत्वको सडक मानिएको जाजरकोट–डोल्पा सडक अन्तरगत  डोल्पा र रुकुम सिमानाको त्रिवेणीसम्मको सडक निमार्णको जिम्मेवारी पाएको नेपाली सेनाले २०७३ सालमै विभागलाई हस्तारण गरिसकेको छ। त्रिवेणीदेखि खदाङ्गसम्मको १० किमी खण्डमा २०७५ बैशाख २५ देखि यातायातका साधन संचालनमा छन्।

प्रकाशित: ९ कार्तिक २०७५ ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App