coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खलंगामा पर्यटकको घुइँचो

जुम्लामा पुगेका वाह्य पर्यटक र उनीहरूका लागि बारीमा टाँगिएको पाल । तस्बिरः डिबी/नागरिक

जुम्ला – काठमाडौंका शान्त महर्जन दसैं तिहारको मौका छोपेर कर्णाली यात्रामा निस्के। घरबाट हिँड्दा उनको एउटै सोच थियो कर्णालीको भू–वनावट र प्राकृतिक सौन्दर्य नियाल्ने। कर्णाली सबैभन्दा पछाडि परेको क्षेत्रको रुपमा उपमा पाइसकेकोले निकै कठिन र दुर्गम होला भन्ने भ्रम मानसिकतामा पालेर यात्रा सुरु गरेका महर्जन कर्णालीको खलंगा पुगेपछि निकै रमाए। उनले भने,‘कर्णाली प्राकृतिक सौन्दर्यको खानी रहेछ, पर्यटनको गन्तव्य पनि। कर्णालीमा यात्रा गर्नु भनेको स्वर्गमा पुग्नु जस्तै लाग्यो।’

कर्णाली राजमार्ग हुँदै राराताल पुगेका उनी नाग्म गमगडी सडक हुँदै खलंगा आइपुगे। जुम्ला खलंगाको कालेखोलीस्थित पौवा होटलमा बास बसेका उनले भने,‘कर्णाली प्राकृतिक सौन्दर्यताको खानी भएपनि विकासका काम हुन नसक्दा पछि परेको अनुभव भयो।’ कर्णालीको सडक र पर्यटक बस्न, खान र सुत्नको लागि राम्रो प्रबन्ध हुन सकेमा बाह्रै महिना यो क्षेत्र पर्यटन आगमनको केन्द्र बन्ने उनले बताए। कर्णाली प्रदेशको रारा, खलंगाको चन्दननाथ मन्दिर र नवनिर्मित शान्ति स्तुपा, ताल तलैया नै पर्यटन आकर्षणको केन्द्र हुन।

एक सातादेखि जुम्लामा पर्यटक आउने संख्यामा ह्वात्तै वृद्धि भइरहेको छ। यो साता झण्डै २० हजार भन्दा बढि पर्यटक जुम्ला भित्रिएको होटल व्यवसायी बताउँछन। तर पर्यटकको तथ्यांक राख्ने कुनै निकाय नहुँदा रेकर्ड राख्न सकेको छैन। पौवा होटलमा दैनिक एक सय जना पर्यटक आउजाउ गर्छन। होटलका हाउस किपिङ म्यानेजर टंकराज पण्डित पर्यटकको सेवाकै लागि राती अवेरसम्म होटल खोलेर बस्ने गरेको बताउँछन। उनले भने,‘यो समयमा जुम्लामा सुविधा सम्पन्न होटल र गुणस्तरिय सेवाको अभाव छ, यो अभाव हुन नदिन सबैको ध्यान पुगे जुम्लाको खलंगा पर्यटन हब बन्न सक्ने देखिन्छ।’ चिसो समय भएकोले पर्यटकलाई बसाल्न चुनौति छ। बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटक बढि आउने गरेको होटल व्यवसायी बताउँछन। अहिले जुम्लाका दुई दर्जन बढि होटलमा पर्यटकको निकै ठुलो चाप छ। होटलको सभाहलदेखि सोफा सेटमै पर्यटक सुताउने गरेको पण्डितले बताए।

पर्यटक दुर्गम गाउँ ठाउँको विकास हेरेर निकै उत्साहित देखिन्छन, हेर्दा र देख्दाको कर्णालीका बारेमा निकै चर्चा गर्छन्, पण्डितले भने,‘अवेरसम्म आउने पर्यटकलाई स्टाफ सुत्ने कोठा छोड्दिन्छौं,सोफामा व्यवस्थित रुपमा सुताउँछौँ, चिसो समयमा तातो व्यवस्थापनले निकै खुसी हुन्छन। जुम्लाकै सुविधा सम्पन्न कहलिएको होटल काञ्जिरोवाका सञ्चालक पेवा लामा दुई दिन देखि होटल पर्यटकले भरिभराउ भएको बताउँछन। उनले भने,‘पर्यटकको चाप बढ्दा बारीमा पाल हालेर बसाल्दै आएका छौं। दैनिक २० जनालाई पाल मुनि बसाल्छौं।’

रारा जाँदा बाटोमा दुख बिसाउने चौतारी जुम्लाका होटल बनेका छन, उनले भने,‘ आउजाउ गर्ने सडक राम्रो नहुँदा पर्यटकले निकै सास्ती पाइराखेका हुन्छन्। राज्य बेखवर छ। कर्णाली प्रदेश सरकारले रारा, फोक्सुण्डो जाने सडक मात्रै राम्रो बनाउन सके पर्यटनले नै यो प्रदेशको समृद्धि ल्याउने पक्का छ।  कर्णाली प्रदेश सरकारले २०७५ लाई रारा कर्णाली पर्यटन वर्षका रुपमा मनाइरहेको छ। रारा पुग्दा बस्ने ठाउँ छैन, साँघुरो सडकमा यात्रा गर्नु पर्दा पर्यटकले जोखिम अनुभूति गर्छन। कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया यसै साता कर्णालीको कालिकोट, मुगु र जुम्लाको भुगोल अध्ययन गर्न निस्के। उनी यो अवसरमा रारातालमा पुगे। उनले भने,‘रारामा पर्यटक आउजाउ गर्नको लागि नाग्म गमगडी सडकलाई दुई लेनको बनाउनुपर्छ। कर्णाली प्रदेश सरकारको ध्यान पर्यटन प्रवद्र्धनमा गइरहेको बताउँदै आगामी दिनमा पर्यटन आकर्षणका क्रियाकलापमा जोड दिने उनले बताए।

स्तरउन्नतीका लागि भन्दै जुम्ला विमानस्थल बन्द भएपछि सडक यात्रामा पर्यटक आउन थालेका हुन। पर्यटन प्रवद्र्धनका लागि जुम्लामा कर्णाली पर्यटन प्रवद्र्धन क्षेत्र विकास समिति छ। तर पर्यटनमा आएको बजेटले टुक्रे योजना सञ्चालन गर्ने मात्र काम गरेको छ। यहाँको पर्यटन गुरुयोजना निर्माण गर्ने र पर्यटन आगमनको संख्याको तथ्यांक राख्दैन। कर्णाली सडकमा अहिले सयौँ सवारी साधन गुड्छन।

प्रकाशित: ८ कार्तिक २०७५ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App