२७ श्रावण २०७७ मंगलबार
समाज

देखिन छाड्यो डल्फिन

विगतमा डल्फिन पाइने गरेको पथरैया र कन्द्रा नदीको दोभान। पछिल्लो समय यहाँ डल्फिन देखिना छाडेको छ। तस्बिर : योगेश/नागरिक

टीकापुर - कैलालीका विभिन्न पाँच नदीमा पहिले निकै डल्फिन देखिन्थे । कर्णाली, मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा डल्फिन सहजै देख्न सकिन्थ्यो। स्थानीय बासिन्दा डल्फिनलाई स्वाँसु, सोसलगायतको नामले चिन्थे । तर अहिले डल्फिन कम देखिन थालेको छ। कहिलेकाहीं दिनभर कुर्दा पनि देख्न पाइँदैन । मोहना–पथरैया र पथरैया–कन्द्राको दोभानमा धेरै डल्फिन देखिने अध्ययन देखाएको छ । तर यस वर्ष भने ती स्थानमा समेत डल्फिन देख्न गाह्रो भइरहेको स्थानीय बताउँछन्। ‘पहिले त यही ठाउँमा कति धेरै डल्फिन देखिन्थ्यो’, पथरैया नदीमा डुंगा चलाउँदै गरेका वीरबहादुर देउवाले भने, ‘तर हिजोआज देख्नै मुस्किल भइसक्यो।’

संरक्षणकर्मीका अनुसार डल्फिन कम देखिनुमा जलाधार घट्नु, वासस्थान मासिनु, आहार घट्नु, पानी प्रदूषित हुनु, नदीसँगै जोडिएर भौतिक संरचना निर्माण हुनु लगायतका कारण छन् । यी कुरामा ध्यान दिन सकेमात्रै डल्फिन संरक्षण प्रभावकारी हुने संरक्षणकर्मीको धारणा छ।

डल्फिन कम देखिनुमा जलाधार घट्नु, वासस्थान मासिनु, आहार घट्नु, पानी प्रदूषित हुनु, नदीसँगै जोडिएर भौतिक संरचना निर्माण हुनु लगायतका कारण छन्।

यो वर्ष सबै नदीमा पानीको सतह कम छ । पर्याप्त मात्रामा वर्षा नभएका कारण नदीमा पानीको सतह घटेको छ । डल्फिन गहिरो पानी जमेको ठाउँमा बस्न रुचाउँछ । नदी कटानले गर्दा पानी जमेका ठाउँ पुरिँदै गएका छन् । डल्फिनको आहारा माछा हो । पानी प्रदूषणलगायतका कारण नदीमा माछाको संख्या घटेको छ । माछा नभएपछि डल्फिन पनि नदीमा देखिन छोडेको स्थानीय संरक्षणकर्मी भोजराज ढुंगाना बताउँछन् । उनले नदीमा तटबन्धलगायतका भौतिक संरचना डल्फिनलाई अनुकूल हुने गरी निर्माण गरिनुपर्ने बताए । ‘डल्फिनले नदीमा निर्माण भएको तटबन्धका कारण असहज महसुस गरेको जस्तो छ’, उनले भने, ‘त्यस्ता संरचना डल्फिनमैत्री हुनुपर्छ।’

डल्फिन कम देखिन थालेपछि स्थानीयस्तरमा संरक्षणमा जुटेकाहरु निराश बनेका छन् । उनीहरु डल्फिनकै कारण नदीतटीय क्षेत्रलाई पर्यटनसँग जोड्ने अभियानमा छन् । डल्फिन कम देखिन थालेपछि आफूहरुको अभियान असफल हुने हो कि भन्ने चिन्ता स्थानीयमा छ।

डल्फिन देखिने क्रम कम भए पनि उसको संख्यामा कमी नआएको संरक्षणकर्मी विजय श्रेष्ठको दाबी छ । ‘हो, पहिले धेरै देखिन्थ्यो, अहिले कम देखिन्छ’, उनले भने, ‘यसैका आधारमा डल्फिनको संख्या कम भयो भन्नु गलत हुन्छ ।’ उनले यी नदीहरुमा करिव १ सय ५० को हाराहारीमा डल्फिन रहेको बताए।

प्रा.डा. मुकेश चालिसेले यस वर्ष गरेको गणनामा भने डल्फिनको संख्या ४७ मात्रै छ । तीमध्ये १२ वटा बच्चा छन् । सबैभन्दा धेरै मोहना र पथरैया नदीको दोभानमा सातवटा लल्फिन देखिएका थिए । उनले विगत तीन वर्षदेखी डल्फिन गणना गर्दै आएका छन् । उनले यसअघि २०७२ र २०७४ मा गणना गरेका थिए । संरक्षणकर्मी श्रेष्ठ सरकारी बेवास्ता डल्फिन संरक्षणको सबैभन्दा ठूलो समस्या रहेको बताउँछन । उनी राज्यस्तरबाटै डल्फिन संरक्षित क्षेत्र घोषणा हुनुपर्ने माग गर्छन् । स्थानीयले भने आफ्नै पहलमा डल्फिन संरक्षित क्षेत्र घोषणा गरेर संरक्षण गर्दै आएका छन्।

स्थानीयको पहलमा विभिन्न १४ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना भएका छन । समुदायमा तीनवटा इको क्लब र ९ वटा डल्फिन क्लब गठन गरिएका छन् । डल्फिन संरक्षणमा प्रत्यक्षअप्रत्यक्ष गरी करिब ६० हजार स्थानीय सक्रिय रहेको संरक्षणकर्मी ढुंगानाले बताए । सबैभन्दा पहिले भोजराज श्रेष्ठ (गुलेली बाजे) ले २०५६ मा डल्फिन संरक्षणको पहल थालेका थिए । अमरिकी नागरिकले डल्फिनको महŒवबारे सुनाएपछि उनले संरक्षणको पहल थालेका हुन् । त्यसअघि सीमावर्ती मोहना नदीमा भारतीयले जाल हानेर डल्फिन मार्थे । कहिलेकाहीं स्थानीयले समेत मार्थे । माछा मार्ने क्रममा समेत थु्रप्रै डल्फिन मरेका थिए।

यहाँ ग्याँगेटिक जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाइन्छ । यो मांसाहारी प्राणी हो । यसले मुख्य आहारका रुपमा माछा, घोंगीलगायत खान्छ । यसले बच्चा जन्माउँछ । वर्षमा एक वा एकैपटक दुईवटासम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ।

प्रकाशित: ७ कार्तिक २०७५ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App