८ वैशाख २०८१ शनिबार
समाज

सम्बन्ध विच्छेदको उजुरी दिने पुरुष बढ्दै

सुर्खेत - सुर्खेत चिंगाड गाउँपालिकाका प्रेम रोकायले एक वर्षअघि सम्कन्ध विच्छेदको माग गर्दै वडा कार्यालयमा निवेदन दिए। वडा कार्यालय हुँदै यो निवेदन न्यायिक समितिसम्म पुग्यो। एक वर्षसम्म वडा र न्यायिक समितिमा भएका पटक–पटकको छलफलमा श्रीमान–श्रीमती मिलेर घर व्यवहार चलाउने सहमति भयो। उनलाई न्यायिक समितिको निर्णय चित्त बुझेन। भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहितापछि उनले फेरि जिल्ला अदालत सुर्खेतमा सम्बन्ध विच्छेदको मुद्दा दिए।

‘पहिले स्थानीय तहमा नमिलेको मुद्दाहरू मात्रै अदालतसम्म आइपुग्थे, नयाँ मुलुकी संहिताले अदालतसम्म आउने छोटो विधि अवलम्बन गरेको छ,’ जिल्ला अदालत सुर्खेतका श्रेष्तेदार भूपाल भण्डारीले भने, ‘भदौयता सम्बन्ध विच्छेदको माग गर्दै मुद्दा दायर गर्नेहरूको संख्या बढेको छ।’

असोज २३ गतेसम्म जिल्ला अदालत सुर्खेतमा ५९ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् । तीमध्ये २७ वटा मुद्दा पुरुषले दर्ता गराएका हुन् । अघिल्लो आर्थिक वर्षको यही अवधिमा जिल्ला अदालतमा १३ वटा मात्रै यस्ता मुद्दा दर्ता भएका थिए । त्यसमा पनि सबै महिलाले दर्ता गराएका थिए । अहिलेकै संख्यामा मुद्दा दर्ता हुँदै गएमा सम्बन्ध विच्छेदका घटना धेरै बढ्ने अदालतको अनुमान छ।

‘पहिले हिंसामा प-यौं भनेर महिला मात्रै सम्बन्ध विच्छेदका लागि आउने गरेका थिए, नयाँ ऐन आएपछि हिंसापीडित पुरुषहरू पनि आउन थालेका छन्,’ उनले भने, ‘करिब दुई महिनाभित्र २७ पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नुलाई सामान्य मान्न सकिन्न।’

कर्णाली प्रदेशको राजधानी र बढी जनघनत्व भएकाले पनि यहाँका अरू जिल्लामा भन्दा धेरै सम्बन्ध विच्छेदका घटना दर्ता हुने गरेको अदालतको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षमा सुर्खेत जिल्ला अदालतमा ३ सय १७ वटा सम्बन्ध विच्छेद भए। चार सय एक वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये ३१७ वटा फैसला भएका हुन्। उमेर नपुग्दै विवाह हुनु, अशिक्षा, बेरोजगारी, वैदेशिक रोजगार, बाह्य सम्बन्ध लगायतका कारणले सम्बन्ध विच्छेद बढ्दै गएको बताइएको छ।

जिल्ला अदालत जुम्लामा मुलुकी संहिता लागू भएयता सम्बन्ध विच्छेदका १४ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये तीनवटा उजुरी पुरुषले दर्ता गराएका हुन् । उजुरीमा श्रीमतीबाट आफू हिंसामा परेको उल्लेख गरिएको छ।

खार्पुनाथ गाउँपालिका–१ का ४० वर्षीय बुदे बुढाले पनि स्थानीय न्यायिक समितिमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका थिए । एक वर्षसम्म पनि गाउँपालिकाको न्यायिक समितिले उनको उजुरी सुनुवाइ गरेन। मुलुकी संहिता लागू भएको तेस्रो दिनमै उनले जिल्ला अदालत हुम्लामा सम्बन्ध विच्छेदको मुद्दा दायर गरे। मुलुकी ऐन कार्यान्वयन भएपछि हुम्लामा पुरुषबाट परेको सम्बन्ध विच्छेदको मुद्दा यो नै पहिलो हो । जिल्ला अदालत हुम्लाका सूचना अधिकारी राज शाहीले बुढाको मुद्दा प्रक्रियामै रहेको जानकारी दिए।

जिल्ला अदालत मुगुमा अहिलेसम्म सम्बन्ध विच्छेदका चारवटा उजुरी दर्ता भएका छन्। चारवटै उजुरी श्रीमतीले श्रीमानलाई प्रतिवादी बनाएर दिएका छन् । ‘अहिलेसम्म पुरुषले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएका छैनन्,’ जिल्ला अदालत मुगुका डिठ्ठा जिवलाल अधिकारीले भने, ‘दर्ता भएका सबै उजुरी प्रक्रियामै छन्।’

प्रकाशित: ७ कार्तिक २०७५ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App