७ वैशाख २०८१ शुक्रबार
समाज

‘टिच फर अल’ सम्मेलन आजदेखि सुरु

काठमाडौं – टिच फर नेपाल र टिच फर अलको संयुक्त आयोजनामा बुधबारदेखि काठमाडौंमा ग्लोबल कन्फरेन्स (अन्तर्राष्ट्रिय सम्मेलन) हुने भएको छ। सम्मेलनमा टिच फर अल सञ्जालमा आबद्ध विभिन्न राष्ट्रबाट करिब ५ सयजनाको सहभागिता हुने आयोजकले जनाएको छ।

सम्मेलनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले गर्ने कार्यक्रम तय गरिएको टिच फर नेपालका कार्यकारी अधिकृत शिशिर खनालले बताए।

‘सम्मेलनले पठनपाठन संस्कृतिको विषयमा जानकारी गराउनेछ,’ कार्यकारी अधिकृत खनालले भने, ‘सम्मेलनमा समाजमा घुलमिल गरेर शिक्षा दिने विषयमा केन्द्रित हुनेछ।’ वर्षपिच्छे हुने सम्मेलनको नारा यसपटक ‘केन्द्रमा समुदाय’ भन्ने तय गरिएको छ।

सम्मेलन बुधबारदेखि शुक्रबारसम्म काठमाडौंमा हुनेछ । सम्मेलनमा टिच फर नेपाल कार्यरत विभिन्न विद्यालय, समुदायका अनुकरणीय र सकारात्मक कार्यहरुको अवलोकन गरेर विभिन्न विद्यालयका विद्यार्थीसँग घनिभूत छलफल गरिने जानकारी पनि खनालले दिए । टिच फर नेपालले २०७० सालदेखि ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ र पसामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘संस्थाले विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवालाई छनोट तथा तालिमपछि अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ,’ कार्यकारी अधिकृत खनालले भने, ‘६ जिल्लाका ५१ सामुदायिक विद्यालयमा यस्तो अभियान चलिराखेको छ।’

प्रकाशित: ७ कार्तिक २०७५ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App