२२ असार २०७७ सोमबार
समाज

एकीकृत चिकित्सा पद्धतिप्रति आकर्षण

काठमाडौं – नेपालमा अझै पनि परम्परागत चिकित्सा पद्धतिको महत्व घटेको छैन । सर्वसाधारणमा आयुर्वेद तथा एकीकृत चिकित्सा पद्धतिमा विश्वास छ । यस्ता उपचार पद्धतिमा आकर्षण झन् बढ्दै गएको छ । उपचार समय लामो हुने भए पनि दीर्घकालीन रोगको समाधान हुने विश्वासमा अहिले मानिस लालायित छन्।

सामान्य चिकित्सा उपचार पद्धति अपनाएका कतिपय बिरामीसमेत आयुर्वेद एवं एकीकृत चिकित्सामा भरोसा गर्छन् । एकीकृत चिकित्सा पद्धतिमा आयुर्वेद, प्राकृतिक चिकित्सा, अक्युपञ्चर (सियोले घोप्ने), आम्ची (तिब्बती उपचार पद्धति) र होमियोपेथिक पर्छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालै गरिएको अध्ययनमा पछिल्लो पाँच वर्षमा परम्परागत एवं एकीकृत चिकित्सा पद्धतिमा उपचार गर्ने स्वास्थ्य संस्था खुल्ने क्रम बढेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत सृष्टि कार्की भन्छन्, ‘उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरिएको अध्ययनमा पछिल्लो पाँच वर्षमा १०० भन्दा बढी यस्ता संस्था खुलेको पाइयो । यसले पनि परम्परागत उपचार पद्धतिमा आकर्षण छ भन्ने देखिन्छ।’

परिषद्ले अहिले देशभर नै आयुर्वेद एवं एकीकृत चिकित्सा केन्द्रको अध्ययन गरिरहेको छ । अर्काे महिना प्रतिवेदन सार्वजनिक गर्ने तयारी परिषद्को छ । खासमा आयुर्वेद तथा परम्परागत चिकित्सा केन्द्रको अवस्था नै यकिन नभएकाले आधारभूत अध्ययन थालिएको हो । पहिलो चरणको अध्ययनपछि बिरामीको अवस्था र आकर्षणको पनि अध्ययन गरिने परिषद्ले जनाएको छ । संख्या कति छ, सरकारी र निजी संस्था कति छन्, कुन संस्थाले कस्तो चिकित्सा सेवा दिइरहेका छन्, मानव स्रोतसाधनको अवस्था कस्तो छ भनेर अध्ययन भइरहेको छ।

अध्ययन प्रतिवेदन सरकारलाई बुझाइने भएकाले नीतिनिर्माणमा र नियमनमा समेत सहयोगी बन्ने विश्वास रहेको परिषद्का उपप्रमुख प्रशासकीय अधिकृत निर्भयकुमार शर्मा बताउँछन् । ‘आधुनिक औषधि जडीबुटीबाट नै बनाउने हो । प्रशोधन नगरिएकै जडीबुटीले पनि उपचार गर्न सकिन्छ । हिमालदेखि तराईसम्म नै आयुर्वेद एवं एकीकृत चिकित्सा सेवा छ । यसको आफ्नै महत्व हुन्छ ।’ त्यसैले छरिएर रहेका संस्थालाई एकीकृत गर्ने र संख्या यकिन गर्ने मुख्य उद्देश्य अध्ययनको हो,’ उनले भने।

जिपिएस ट्र्याकिङ
उपत्यकाका आयुर्वेद तथा एकीकृत चिकित्सा केन्द्रको जिपिएस ट्रयाकिङ गरिएको छ । यसरी ट्रयाकिङ गरिएका संस्था एकै ठाउँमा बसेर हेर्न सकिन्छ । कुन ठाउँमा केन्द्र छन् भनेर खोजिरहनु पर्दैन । काठमाडौं उपत्यकामा १५५ यस्ता संस्था रहेको अर्का अनुसन्धान अधिकृत अरुण शाह बताउँछन् । यहाँ २५ वर्षदेखि सेवा दिँदै आएका संस्था भने १० मात्रै छन् । अधिकांश संस्था नयाँ छन् । नयाँ संस्था एक सयभन्दा बढी छन् । यो तथ्यांकले परम्परागत उपचार पद्धतिको प्रयोग बढेको देखिन्छ । मासिक ६ सयभन्दा बढी बिरामीको सेवा दिने संस्था ६ मात्रै छन् । उपत्यकामा चार महिना लगाएर अध्ययन गरिएको थियो । जिपिएर ट्रयाकिङ गरिएकाले अब ती संस्थासँग जोडिने कुनै पनि काम गर्न सहज हुने छ । जिल्ला आयुर्वेदमा दर्ता हुनुपर्ने प्रावधान भए पनि कतिपयले नगरेको पाइएको छ।

धामीझाँक्रीको महत्व
अध्ययनअनुसार धामीझाँक्रीबाट हुने उपचार सेवाको पनि आफ्नै महत्व रहेको पाइएको छ । अझै पनि ग्रामीण क्षेत्रमा धामीझाँक्रीबाट हुने उपचार सेवामा आकर्षण कम नदेखिएको अनुसन्धान अधिकृत शाह बताउँछन् । ‘हरेक समुदायमा फरकफरक धामीझाँक्रीको संस्कृति देखियो’, अध्ययनबारे शाहले भने, ‘गाउँमा यसको पनि महत्वपूर्ण भूमिका छ भन्ने देखिन्छ ।’ फरक फरक संस्कृतिमा फरकफरक परम्परागत उपचार पद्धति रहेको प्रतिवेदनमा जनाइएको छ । नेपालका ३३ जिल्लामा नमुना सर्वेक्षणमार्फत अध्ययन भएको थियो।    (रासस)

प्रकाशित: ६ कार्तिक २०७५ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App