४ वैशाख २०८१ मंगलबार
समाज

दसैंको मौका छोपेर लागू औषध ओसार्ने पक्राउ

उदयपुर – चाडबाडको मौका छोपेर लागू औषध ओसार पसार गर्दै गरेका बेला उदयपुरका ३ युवा प्रहरीको फन्दामा परेका छन्। दसैं टीका थाप्न आफन्तकोमा गएजस्तो बहाना बनाएर ओसार पसारमा संलग्न भएको आरोपमा बिभिन्न थरीका लागू औषधसहित युवाहरू पक्राउ परेका हुन्।

प्रहरीले टीकाको दिन १ जना र अघिल्लो साँझ २ युवालाई लागू औषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएअनुसार टीका लगाउन आफन्तकोमा जान हिँडेको बहाना बनाउने त्रियुगा नगरपालिका ९ का १८ वर्षीय विशाल मंग्राती बिहान ८ः३० बजे उदयपुर र सप्तरीको सीमास्थल लालपत्तास्थित प्रहरी चौकीबाट पक्राउ परेका हुन्।

सडकको रुट छाडेर गाउँले बाटो हिँड्दै गरेका मंग्रातीलाई शंका लागी चेकजाँच गर्दा नाईट्रोभेट नामक ट्याब्लेट ३१ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। मंग्रातीको पछाडि भिरेको कालो रंगको झोला खानतलासी गर्दा उक्त लागूपदार्थ फेला परेको हो।

अघिल्लो साँझ मात्र सोही चौकीले चेकजाँचका क्रममा त्रियुगा नगरपालिका ६ जलजलेका १९ वर्षीय तुलसी सुनुवार र २१ वर्षीय अभिशेक राई पक्राउ परेका थिए। लाहानदेखि गाईघाटतर्फ आउँदै गरेको विङ्गर जीपमा शंका लागी रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २७ थान लागूऔषध फेला परेको हो। उनीहरुबाट ९ एम्पुल (थान) फेनार्गन, ९ एम्पुल लुपिजेसिक र ९ एम्पुल डाईजेल्याप अवैध लागू औषध फेला परेको एसपी राईले बताए।

बरामद लागू औषधसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। उनीहरुमाथि लागू पदार्थ ऐनबमोजिम कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको एसपी राईले बताएका छन्।   

 

प्रकाशित: ३ कार्तिक २०७५ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App