१६ चैत्र २०८० शुक्रबार
समाज

दसैँमा धान भित्र्याउने चटारो

चन्दननाथ नगरपालिकाको ज्युलोमा धान काट्दै स्थानीय । तस्बिरः डिबी/नागरिक

जुम्ला – सर्वत्र दसैंको चहल पहल बढिरहेको बेला जुम्ला चन्दन्नाथ नगरपालिकाका स्थानीयलाई भने धान भित्र्याउने चटारोले छोडेको छैन। उनीहरू एकाबिहानै धानको खेतमा पुग्छन्, धान काट्छन, दिउँसो धान चुटेर भित्र्याउँछन। राति अबेर पछि मात्रै घर फर्कन्छन्। दसैं एकाआपसमा परिवारका सदस्य आफन्तजन जमघट भएर खुसीयाली मनाउने पर्व हो, तर यो दसैंमा अधिकांश किसानलाई धान भित्र्याउन ठिक्क छ।

चन्दननाथ नगरपालिकाका मयालाल देवकोटा यो पटक कामको छटारोका कारण दसैं मनाए जस्तो अनुभव हुन नसकेको बताउँछन। उनले भने,“फुलपातीमा खसीबोका काटिएपनि राम्रोसँग मासु खाने फुर्सदसम्म छैन। यो पटकको दसैं कामको व्यस्ततामै बित्ने भयो।” चन्दननाथ नगरपालिका १ जुम्ला विमानस्थल नजिकैको ज्युलोमा धान काट्ने र धान चुट्ने स्थानीयको भिडभाड नै लागेको छ।

दसैंमा सँगै बस्ने पिङ खेल्ने, साथी संङ्गी बसेर रमाइलो गर्ने र ठुला मान्यजनबाट आर्शिवाद लिने गरिएको भएपनि यहाँ धान भित्र्याउने कामले कसैलाई फुर्सद छैन। उनले भने,“पहिलेको दसैंमा खाउँला, पिउँला, रमाउला, दुख बिर्साउला भन्ने हुन्थ्यो,तर यो वर्ष दसैं आएको जस्तो अनुभव भएको छैन।” सदरमुकाम खलंगा आसपासमा घाँस काटिसकेपछि धान भित्र्याउने काममा किसान व्यस्त देखिन्छन्। तर गाउँघरमा भने घाँस काट्ने, स्याउ टिप्ने, सिमी भित्र्याउने काम एकै पटक सुरु भइरहेको छ।

घाँस काट्न गएकाहरू राति अबेर मात्रै घर फर्कन्छन्,हिमा गाउँपालिकाका देविकृष्ण अधिकारीले भने, “गाउँघरमा आफन्त, गाउँटोलका छरछिमेकसँगै भेटघाटसम्म हुँदैन।” टिकाको दिनमा एक दुई घण्टा फुर्सद हुने गरेकोमा दिनभर काममै व्यस्त हुने गरेको उनले बताए। यहाँका स्थानीय दसैं मनाउने भन्दा पनि काम कहिल सकाउने भन्ने चिन्तामा छन।  दसैं मनाउनका लागि भनेर देश विदेशमा गएकाहरू धमाधम फर्कदैछन्, तर यहाँका स्थानीय कामको सिलसिलामा एक पटक बस्न पाउँदैन्न। उनले भने,“ दसैंको दिनमा पनि एक घण्टा मात्रै टिका जमरा लगाउने गरिन्छ, त्यो दिनको अधिकांश समय घरायसी काममा खटिनुपर्छ।”

संस्कृतिविद रमानन्द आचार्य पछिल्लो समयमा जुम्लीको दसैं कामको चटारोमै बित्ने गरेको बताउँछन। घटास्थापनामा चन्दननाथ भैरवनाथ मन्दिरको लिंगो खडा गर्ने, जमारा उमार्ने र दसैंलार्ई भव्य रुपमा मनाउने चलन थियो। तर अहिले जुम्लाबासीमा दसैं प्रतिको खासै रुची देखिदैन्। सडक सञ्जाल जोडिएसँगै यहाँको दसैं सहज बन्दै त गएको छ, तर कामको सिजनमा पर्ने भएकोले दसैं तिहारको अनुभुति कसैलाई हुने गरेको छैन। 

यो सिजन सिमी, मकै,कोदो, चिनो, कागुनो, फापर, धान भित्र्याउने समय हो, सस्कृतिविद आचार्य भन्छ्न्,“यो समयमा दसैंका बारेमा बोल्ने सम्मको कसैलाई फुर्सद छैन।  जिल्लाको एक नगरपालिका सहित ७ वटै स्थानीय तहमा कामको चटारो उत्तिकै छ।

प्रकाशित: १ कार्तिक २०७५ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App