७ वैशाख २०८१ शुक्रबार
समाज

ढलाने सडकमाथि धमाधम कालोपत्रे

प्यूठान– प्यूठान नगरपालिकाले आफ्नो कार्यालय पुग्ने बाटोमा अहिले कालोपत्रे गरिरहेको छ। वडा नंं. ४ बिजुवार मित्रमणि चोकदेखि नगरपालिका भवनसम्म जाने उक्त सडकमा गतवर्षमात्रै आरसीसी ढलान गरिएको थियो। अहिले त्यहि ढलानमाथि अर्को योजना बनाएर कालोपत्रे गरिएको छ।

जनताको दैनिक आबश्यकता रहेका रहेका अन्य सडकलाई वेवास्ता गर्दै कार्यालयसम्म पुग्ने सडकमा नगरपालिकाले अनावश्क खर्च गरी रकम दुरुपयोग गरेको भन्दै स्थानीयले आलोचना गरेका छन्। 

नगरपालिका भित्रकै धेरै सडक  दसैं आउदासम्म अवरुद्ध छन। वडा नं ४मै पर्ने दैनिक सयौ विरामिको चाप हुने जिल्ला अस्पताल पुग्ने सडक पनि जिर्ण छ।

विरामि बोकेर आवत जावत गर्ने एम्वुलेन्स तथा अन्य सवारी साधनलाई अस्पताल पुग्नै समस्या छ । 
तर यसको स्तरोन्तिमा ध्यान नदिएर करोडौ रकम खर्च गरी नगरपालिकाले मित्रमणि चोक— नगरपालिका भवनसम्मको सडक पिच गरिरहेको छ। ‘अस्पताल जाने बाटो विग्रिएको लामो समय भईसक्यो,’ स्थानीय सुमन श्रेष्ठले भने, ‘नगरपालिका आफ्नो कार्यालय जाने सडक भने ढलानमाथि कालोपत्रे गर्दैछ।’ 

विजुवार बजारवाट जिल्ला अस्पतालसम्म पुग्ने बाटोको ग्राभेलसमेत वर्षातमा बगेर सवारी साधन चलाउनै समस्या छ। सामान्य विरामिहरु जसोतसो आवत जावत गरेपनि जटिल खालका तथा अप्रेसन गरिएका विरामिहरुलाई लैजान धेरै समस्या भएको एम्वुलेन्स चालकहरु वताउछन् । ‘ढलान गरिएको सडकको परिक्षण पनि पुरा भएको छैन्, श्रेष्ठले भने,‘गतवर्षको कामको कमजोरी लुकाउने खेल त भएको छैन?’ उनले शकांसमेत ब्यक्त गरे। 

नेपाली कांग्रेसबाट गत स्थानीय चुनावमा मेयरको उम्मेद्वार रहेका देवेन्द्र बर्माले पनि नगरपालिकाले ग्रामीण क्षेत्रमा बाटो पुराउन ध्यान नदिएर बजारमा ढलानमाथि कालोपत्रे गरेर बजेट दुरुपयोग गरेको भन्दै नगरपालिका प्रति असन्तुष्टि जनाएका छन्। 

नगरपालिकाले १ करोड १७ लाख ८२ हजारको लागतमा कार्यालय पुग्ने सडक ढलान माथि कालोपत्रे गर्न लागेको हो । असोज मसान्तसम्म काम सकाउने गरि अहिले धमाधम पिच भईरहेको छ।

मित्रमणि चोकवाट खेलकुद मैदान हुदै नगरपालिका भवन सम्मको ६ सय मिटर सडक कालोपत्रे गर्न लागिएको हो। योमध्ये करिब ३०० मिटर गतवर्ष आरसीसी ढलान गरिएको थियो।

उक्त सडक नगरक्षेत्रकै नमुना बनाउने योजनामा रहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताए। उनका अनुसार सडक छेउछेउमा विभिन्न प्रजातीका विरुवाहरू रोपेर हरियाली बनाउने योजना छ।

नगरपालिकाले प्राथमिकता र आवश्यकताभन्दा बाहिरको सडकलाई प्राथमिकतामा राखेको भन्दै धेरैले आपत्ती जनाएका छन्।

प्रकाशित: २६ आश्विन २०७५ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App