१६ चैत्र २०८० शुक्रबार
समाज

बिजुलीको पोलले लागेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

काठमाडौं – नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको इमाडोलस्थित टिकाथलीमा रहेको घर नजिकै बिजुलीको पोलले लागेपछि बोगटी गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि ग्वार्कोस्थित बिएन्डबी अस्पताल लैजाँदै गर्दा बाटोमा नै निधन भएको हो।

स्थानीयका अनुसार बोगटीले नै निर्माण गरेको टिकाथलीस्थित बोगटेश्वर महादेव मन्दिर छेउमा रहेको पिपलको बोट काटिरहँदा उनी आफैं दुर्घटनामा परेका हुन् । चार वर्ष अघि रोपिएको पिपलको बोट बढेर त्यसको हाँगाले बिजुलीको तार छुने अवस्था आएपछि बोगटीले आफ्नै अग्रसरतामा रुख काट्ने निर्णय लिएका थिए।

रुख काटेको हेरिरहँदा उक्त रुख लडेर बिजुलीको तारमा लागेपछि त्यसको चापले बिजुलीको पोल लडेको थियो । बोगटीकै आग्रह अनुसार विद्युत प्राधिकरणले उक्त क्षेत्रको बिजुली काटेको थियो । बिजुलीको पोलले गम्भीर घाइते भएपछि प्रहरीको सहयोगमा उनलाई बीएन्डबी अस्पतालमा पुर्याइएको थियो । बोगटीको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले निर्माता संघ र चलचित्र कलाकार संघबीच समझदारीको तयारी भइरहँदा बोगटीको निधनले क्षति पुगेको बताए । ‘निर्माता र प्रदर्शकबीच सम्झौता भएजस्तै निर्माता संघ र कलाकार संघबीच पनि समझदारी र सम्झौताको तयारीमा थियौं,’आकाशले भने,‘फिल्म निर्माण ताका निर्माता र कलाकारबीच जहिल्यै पनि असमझदारीका कुरा उठिरहन्छन् । ती कुरालाई कसरी सौहार्दपूर्ण वातावरणमा मिलाउन सकिन्छ भन्ने विषयमा हामी छलफलमा थियौं । दशैं पछाडि बसेर यो विषयमा खाका तयार पार्ने र सम्झौता गर्ने योजना थियो । यो कुरामा उहाँ सकारात्मक र खुशी हुनुहुन्थ्यो।’

आकाशका अनुसार बोगटी चलचित्र नीति कार्यान्वयन भएमा मात्र फिल्म क्षेत्रको विकास हुन्छ भन्ने सोचाइ राख्थे । ‘बक्स अफिसको विषयमा होस् या चलचित्र नीतिका विषयमा होस् । उहाँ जुनसुकै समयमा पनि छलफलका लागि तयार हुनुहुन्थ्यो,’आकाशले सम्झिए,‘उहाँको निधनले फिल्म क्षेत्रमा परिवर्तन चाहनेका लागि ठूलो क्षति पुगेको छ ।’
दुई वर्ष अघि भएको निर्वाचनमा नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित बोगटी दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय थिए । दर्जनौं टेलिफिल्म र फिल्ममा अभिनय गरिसकेका उनले टिकाथलीमा बोगटी फिल्म स्टुडियो सञ्चालन गरेका थिए । एक दशकसम्म सञ्चालनमा आएको स्टुडियो अहिले व्यापारिक प्रयोजनका लागि अरुलाई नै भाडामा दिइएको थियो।   

उनको परिवारमा दुई छोरा, दुई छोरी र दुई श्रीमति छन् । बोगटीको एक छोरी अष्ट्रेलिया र एक छोरा अमेरिकामा छन्। बाँकी परिवार नेपालमै छन् । बोगटीको निधनपछि पाटन अस्पतालमा जम्मा भएका कलाकार संघका अन्य पदाधिकारीहरूले अस्पतालमा नै आकस्मिक बैठक बसेका थिए।

प्रकाशित: २३ आश्विन २०७५ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App