coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जहाँ डाक्टर नै बिरामीलाई रगत दिन्छन...

बिरामीलाई रगत दिँदै जिल्ला अस्पताल रोल्पाका डा. प्रकाश बहादुर बुढा ।    तस्बिरः नागरिक

रोल्पा – गत फागुन २ गते रात छिप्पिदै थियो। ‘ऐया, ऐया, दुख्यो, मरे, आमा, पानी’। सुनसान वातावरण भित्र एउटी आमाको चित्कार। एकान्त कुनामा रहेको जिल्ला अस्पताल रोल्पाका डा. प्रकाशबहादुर बुढासँगै उनको टोलीले आमा बच्चा दुबै बचाउन अप्रेशनको तयारी गर्दै थियो।

‘प्रसूति अप्रेसन गर्दा आवश्यक परेमा रगत दिन सक्ने कोही अगाडि नहुँदासम्म मैले अप्रेशन नै गर्दिन। तर त्यसदिन अवस्था फरक थियो,’ डा. प्रकाशले सुनाए। ‘रातिको समय। कहाँ रगत खोज्न जानु। केश जटिल थियो। रेफर गर्न सक्ने अवस्था पनि थिएन।’ चिकित्सकले रातको करिब १२ बजेतिर १९ वर्षीया मिना बिकको अप्रेशन सुरु गरे। सफल पनि भयो। बच्चा र आमा ठिकै थिए।

तर एकै छिनमा जे नहोस भनेको त्यहि भयो। आमालाई तुरुन्तै रगतको आवश्यकता पर्याे। दूर्गम जिल्ला रेफर गरेर पठाउने नजिकमा अर्को अस्पताल छैन्। ब्लड बैङ्क छैन। डाक्टरले आमा बचाउनुको एउटा मात्र बिकल्प देखे। ‘उपाय केहि थिएन। हाम्रो टोलीमा ‘बी पोजेटिभ ब्लड’ मेरो मात्र थियो। उनलाई चाहिएको पनि त्यहि। राति साढे एक बजेतिर म आफैंले रगत दिए।’ डा. प्रकाशले भने। ‘हामीलाई सधै सताउने समस्या नै रगतको हो।’ भित्र आफै बिरामीको अप्रेशन गरेर बाहिर निस्केका डाक्टरले बिरामीलाई यसरी रगत दिएको यो पहिलो घटना भने होइन।

मिनाको अप्रेशनपछि रगत दिएको ५ महिनापछि पनि उनै डाक्टरले असार २१ गते मनिशा बिकलाई त्यसै गरी राति २ बजे रगत दिएर ज्यान बचाएका थिए। ‘असारमा पनि त्यस्तै भएको थियो। रातिको समय। इमरजेन्सी अप्रेशन गर्नुपर्ने। अप्रेशन गरियो। तर केहि बेरमा रगतको आवश्यकता देखियो। अनि आफैं दिए,’ डा. प्रकासले भने। ‘धेरै पटक अरु स्टाफले पनि दिनुहुन्छ। के गर्नु आमाको ज्यानको सवाल हुन्छ।

हाम्रो रगतले कसैको जीवन बच्छ भने दिउ भनिन्छ।’ रोल्पा अस्पतालमा अहिलेसम्म १० जना बढि स्वास्थ्यकर्मीले बिरामीलाई रगत दिइसकेका छन। डा.बिपिन घिमिरे, जनस्वास्थ्य अधिकृत हेमराज पाण्डे, प्रयोगशालाका उपेन्द्र अर्याल, बिजयकुमार शाह, उमेश कालामगर, भिमबहादुर चौधरी, कृष्ण डाँगी, अनिल रेग्मी, चित्रबहादुर केसी, पवन बली लगायतले पटक पटक रगत दिएको अस्पतालको रेकर्डमा देखिन्छ। 

अहिले रोल्पा अस्पतालमा कर्मचारी र बिरामीबीचमा अपनत्वको भावना छ। बिरामीप्रति गरिने ब्यवहार पारिवारीक छ। डा. प्रकाशबहादुर बुढा जस्तै अनिल केसी अर्का डाक्टर छन्। उनीहरू बिरामी मात्रै जाँच गर्दैनन् दर्तामा गएर बिरामीको नाम पनि लेख्छन। औषधि वितरणमा गएर औषधि दिन्छन। पटक पटक भर्ना भएको कोठामा गएर बिरामीसँग छलफल गर्छन। डाक्टरहरू बिहानैदेखि अबेलासम्म बिरामीको माझ मै भेटिन्छन।

‘हामी रोल्पालीले गर्व गर्नुपर्छ। चौबिसै घण्टा बिरामीको सेवामा लाग्ने डाक्टर कहि देखिएको छैनन। यहाँका डाक्टरको निजी क्लिनिक छैन। अस्पताल बाहिर गएर आजसम्म बिरामी जाँच गर्ने पैसा कमाउने भन्ने कहिल्यै देखिएन। बिदा मिलाउदै घर जाने गरेको पनि देखिएको छैन। अस्पतालमा जतिबेला बिरामी आएपनि डाक्टर भेट्न सकिन्छ। हाम्रो अस्पताल एक प्रकारले पारिवारिक जस्तो छ।’ अस्पताल विकास समिति सदस्य आकाश वलीले बताए।

प्रकाशित: १८ आश्विन २०७५ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App