७ वैशाख २०८१ शुक्रबार
समाज

न्याय माग्दै किशोरी नगरपालिकामा

जुम्ला - जुम्ला गुठिचौर गाउँपालिका १ की १७ वर्षीया किशोरी रमिता महतारा न्याय माग्दै  बुधवार चन्दननाथ नगरपालिकामा पुगिन्। जन्मेको ११ दिनमै आमा सहित घरनिकाला भएकी उनी बाल नागरिकता र जन्मदर्ता बनाउनका लागि १७ बर्षपछि बाबुको घरमा आईपुगेकी हुन्। घरनिकाला भईसकेपछि उनी जाजरकोट स्थित सिउनामा मामाको घरमा बस्दै आएकी छन्। उनले भनिन्,‘म ११ दिनको मात्रै थिए,बुबा फुर्वा छिरिङ महतारा अर्कै केटिसँग लागेर आमालाई बेवास्ता गर्न थालेपछि मामाले नै माईतिघरमा लिएर बसाल्न थाले।’ जन्मेको पाँच वर्ष नपुग्दै आमा पोईल गईन, त्यसपछि म वेसहारा बनेँ।'

बाबाआमाकै कारण अाफ्नाे भविष्य अन्धकार बनेकाे बताउँदै उनले अाफु न्याय माग्दै नगरपालिका पुगेकाे बताइन्।जाजरकोट हुँदै चार दिनको पैदल एक्लै हिड्दै उनी जुम्ला पुगेकी हुन्। यी दुई प्रमाण नहुँदा स्कुलमा उनको कक्षा स्ताेरन्नती समेत हुन सकेको छैन। चार दिन देखि जुम्लामा रहेकी रमिता आफ्नो बुबाको घरमा जाँदा कुनै वास्ता नगरेको बताउँछिन। काका राजेन्द्र महतराको घरमा एक बास बसेकी रमिताले बुबाले काकालाई समेत अाफुलार्इ घरमा नराख्न भनेकाे बताइन्। उनले भनिन् 'बुबाले काकालार्इ चेतावनी दिनुभएकाे रैछ, त्यसलार्इ घरमा नल्याउनु, ल्याईस भने नराम्रो हुन्छ भन्नुभाकाे रैछ।' बुबाकाे चेतावनीपछि काकाले समेत रेखदेख गर्न छाेडेकाे उनले दुखेसाे पाेखिन्। 'यहाँ बस्दा तेराे बुवा रिसाउँछन,गाली गर्छन, कुट्न आउँछन, बरु पाँच सय रुपैयाँ लिएर जा।' काकाले भने, उनले बताइन्।

अहिले उनी चन्दननाथ नगरपालिकाका सवारी चालक लेखराज न्यौपानेको घरमा बस्छिन्। उनको उद्धार र न्यायका लागि चन्दननाथ नगरपालिका, महिला अधिकारकर्मी र महिला वालवालिका कार्यालय लागिपरेका छन्। घरेलु हिंसा तथा यौनजन्य हिंसा प्रभावित महिलाहरुको अल्पकालिन आश्रय सहितको सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठका अनुसार पीडित रमिलालाई केहि दिन सेवा केन्द्रमै राख्ने व्यवस्था मिलाइएको छ। उनका अनुसार सम्वन्धित गाउँपालिका अध्यक्ष, रमिताको बुबा र आफन्तजन बोलाएर छलफल गरी न्याय दिलाउने कुरामा कुनै कसुर बाँकी राखिने छैन। 

'किशोरीलाई लिएर घरमा जाने प्रयत्न गर्दा बुबाले गुण्डा लगाएर मार्ने धम्की दिएकोले जान सकिएन',अध्यक्ष श्रेष्ठले भनिन्,‘अब सदरमुकाममै बोलाएर छलफल गरेर पीडित रमितालाई न्याय दिलाईने छ।' चार दिन सम्म भोकभोकै हिडेर जुम्ला पुगेकी रमिताले आँसु झार्दै भनिन्,‘बेसाहारालाई न्याय दिलाईदिनु पर्यो, विद्यालय पढ्नवाट वञ्चित गराईदिनु भएन, सानो हुर्काउने उमेरमा त बुबालाई कुनै दुखपिडा दिईन्, हुर्केर पढ्ने लेख्ने उमेरमा सास्ती नदिने बातावरण वनाईदिनु पर्याे। चन्दननाथ नगरपालिकाले पीडित किशोरीको अवस्था बुझेर स्थानीय प्रहरी प्रशासनमा बुझाउने जनाएको छ। त्यो भन्दा अगाडी छलफल गर्नको लागि केहि दिन सेवा केन्द्रमा राखिने छ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App