coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा आन्दोलन चर्किंदै, सरकारी गाडीमा तोडफोड

महेन्द्रनगर– कञ्चनपुर जिल्लाकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले प्रेस गरेको प्रतिवेदनका साथै हत्यारा सार्वजनिकको माग राख्र्दै नेपाल विद्यार्थी संघले आह्वान गरेको कञ्चनपुर बन्दले यहाँको जनजीवन प्रभावित भएको छ।

बन्दका कारणले महेन्द्रनगर बजार क्षेत्र, यातायात, कलकारखाना, शिक्षण संस्था प्रभावित भएका छन्। मंगलबार बिहानैदेखि बजार पूर्ण रुपमा बन्द छ। लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छैनन्। यद्यपी मोटरसाइकल र अटो भने चलिरहेका छन्। जिल्लाबाट बिभिन्न ठाउँका लागि छुट्ने तथा भित्रिने कुनै  सवारीसाधन चलिरहेका छैनन्।

घटना भएको दुई महिना भन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेको बिरोधमा नेविसंघले गरेको बन्दलाई स्थानीय व्यापारीहरुले पनि समर्थन गर्दै स्वस्फुर्त रुपमा बजार, कलकारखाना, सवारीसाधन, शैक्षिक संस्था बन्द गराएका हुन।

आन्दोलनकारीले महेन्द्र राजमार्गका बिभिन्न ठाउँमा टायर बालेका छन्। महेन्द्रनगर बजारसहित महेन्द्र राजमार्ग अन्तर्गत गड्डाचौकी, भाँसी, सुडा, लालपुर, सिसैया, दैजीमा टायर बालेर प्रदर्शन समेत गरिरहेका छन्। सरकारले अपराधीलाई सार्वजनिक नगरी संरक्षण गरिरहेको भन्दै सरकार बिरुद्ध नारावाजी समेत गरिरहेका छन्।

घटना घटेको दुई महिना भन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेका बिरोधमा आज कञ्चनपुर बन्द गरिएको नेविसंघका केन्द्रिय सदस्य गणेश भट्टले बताए।

आन्दोलनकारीले सरकारी वकिल कार्यालयको गाडी समेत तोडफोड गरेका छन्। बा २ झ २७१५ नम्बरको गाडीमाथि तोडफोड गरी आन्दोलनकारीले आन्दोलन झन चर्काउँदै गएका छन्। सरकारी वकिल कार्यालय परिसरमै उक्त गाडी तोडफोड गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए। आन्दोलनमा नागरिक दबाब समूहले पनि सहयोग गरिरहेको छ।

नागरिक दबाबमुलक समूहकी संयोजक मिना भण्डारीले गत शुक्रबार सार्वजनिक गरिएको डिएनए रिपोर्टमा आफूलाई विश्वास नभएको बताउँदै प्रहरीले प्रारम्भिक चरणबाटै प्रमाण नष्ट गरेका बताइन।  वास्तविक हत्यारा सार्वजनिक नगरुञ्जेल आन्दोलन जारी रहने बताइन्।

प्रकाशित: १६ आश्विन २०७५ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App